एड्भेन्चरस् हनिमुन !

Share this
285shares

वर्षा सिवाकोटी

हनिमुन अर्थात मधुमास । मधु भनेको मह अनि मास भनेको समय। अर्थात् महजस्तै मिठो समय। बिहेपछि दम्पती एकअर्कामा अझ नजिक बनून् भन्ने उद्देश्यले हनिमुनको प्रचलन सुरू भएको हुनुपर्छ ।

आशिष गेलाल जीसँग वैवाहिक बन्धनमा बाँधिएपछि केही रमाइला पलहरू संगाल्न हामी पोखरा निस्कियौं। समयको अभावमै घुम्न हिँडेका हामी पोखरामा एक दिन मात्र बस्यौं। केही नयाँ अनुभव बटुल्नकै लागि हामी भोलिपल्ट कुस्मातर्फ लाग्यौं।

यसो त कुस्मा, पर्वत भन्ने बित्तिकै झोलुंगे पुलहरू नै याद आउँछ। त्यसमाथि अहिले जताततै चर्चामा रहेको ‘द क्लिफ रिसोर्ट’ले गर्दा पनि त्यो ठाउँमा जान मन लाग्यो।

द क्लिफ रिसोर्टको गन्तव्य बोकेर हिँडेका हामी धेरै उत्साहित हुनुको एक कारण यहाँ रहेको विभिन्न साहसिक खेलहरू हुन्। विश्वकै अग्लो स्विङ र विश्वकै दोस्रो अग्लो बन्जी खेल रहेको ठाउँमा जाँदा त्यहाँ पुगेर खेल खेल्न आँट आउँछ कि आउँदैन लगायत धेरै कुरा मनमा खेलिरहेका थिए।

लुम्लेको उकालोमा गाडी मोडिँदै थियो। यता मनमा अनेक तर्कना घुम्दै थिए। एक्लै भएको भए सायद मलाई यो यात्रा गर्न आँट आउने थिएन होला। साथमा आफ्नै मान्छे भएपछि हिम्मत पनि बढ्दो रहेछ।

मलाई ‘हाइट फोबिया’ छ। त्यही कारणले होला ‘द क्लिफ रिसोर्ट’मा पुग्नका लागि पार गर्नुपर्ने २२८ मिटर अग्लो पुललाई देखेरै डर लागिसकेको थियो। श्रीमान र म मनमा हल्का डरसँगै एकअर्काको हात समाउँदै विस्तारै पुल पार गर्‍यौं।

पोखराबाट त्यति टाढा अनि कहालीलाग्दो झोलुंगे पुल तरेर पुगेको ठाउँ त्यति मनमोहक होला भन्ने सोचेको थिइनँ। ढुंगा चिरेर बनाइएको रेस्टुरेन्ट, बास बस्न टेन्ट भए पनि अट्याच बाथरूम भर्खरै खुलेको भए पनि आकर्षक गार्डेनिङ र हरियाली। मनै लोभ्यायो।

विश्वकै अग्लो र लामो व्यवसायिक स्काई रोप साइक्लिङ भएको ठाउँमा पुगेपछि साइक्लिङ नगर्ने त कुरै भएन। नयाँ प्रोडक्ट भएकाले हाम्रो ध्यान साइक्लिङमा गयो। दुबै जना समानान्तर डोरीमा साइक्लिङ गर्न पाउने भएपछि झन् खुसी लाग्यो।

हार्नेस लगाएर क्यारविनर लक गरिसकेपछि हामी साइकलमा बस्यौं। आशिष जीको साथले मनमा आँट थपियो। साइकल प्लेटफर्मबाट निस्कियो। डर झन् बढ्यो।

साइक्लिङमा प्याडल नचलाउँदा रोकिने रहेछ। बीचमा एक ठाउँमा डरकै कारण प्याडल नै चलाउन सकिनँ। त्यो बेला अब म यहीँ अड्किन्छु कि भनेर ‘होपलेस’ भएँ। झन् मुटुले ठाउँ नै छोड्यो। प्याडल चलाएँ भने केही हुन्न भनेर आँट बटुलेर जेनतेन ३ सय मिटरको दूरी पार गरेँ।

साइक्लिङ गरेर उता गएपछि फेरि साइक्लिङ गरेरै फर्कन पर्ने रहेछ। अब त सक्छु भन्ने आँट आइसकेको थियो। फेरि सोही ठाउँमा फर्किंदा डर कम होला भन्ने सोच थियो। तर पनि एड्भेन्चर न हो हल्का डर त भइहाल्ने!

दुईतर्फी गरी ६ सय मिटर लामो त्यो स्टिलको डोरीमा कसरी साइकल चलाएँ भनेर अहिले पनि छक्क पर्छु ।

साइक्लिङ सकेर हामी स्काइ क्याफेमा गयौं।  क्याफे अरूभन्दा भिन्न रहेछ। कालीगण्डकी नदी माथिको भिरमा  स्टिलको डोरीमा क्याफेको टेबल र बेन्च झुन्डिएका थिए। क्याफेमा पनि हार्नेस लगाएर बस्नुपर्ने। आखिर सुरक्षित त हुनै पर्‍यो।

क्याफेमा खाजा आइपुग्यो तर खाने आँट जुटाउन मुस्किल। श्रीमान भने वरिपरिको दृष्य हेरे रमाइरहनु भएको थियो। मेरो माइन्ड पूरै ब्लाइन्ड भयो। उहाँ विभिन्न कुरा गर्दै मेरो डर हटाउने कोसिस गरिरहनु भएको थियो। क्याफेमा जानेले करिब १५ मिनेटको समय पाउने रहेछन्। खाजा खाँदै भुल्यौं। त्यहाँबाट फर्किसकेर पनि केही समयसम्म मेरा खुट्टा भने काँपिरहेका थिए।

मनमा डर बोकेरै भए पनि कालीगण्डकी नदीदेखि २ सय ५५ मिटर अग्लो ठाउँमा रहेको साइक्लिङ र क्याफेको अनुभव बटुलियो। यस्तै, एड्भेन्चर नगरे मनको डरको पोको कसरी हटाउनु !

बन्जी र अन्य खेल समयको अभावमा भ्याइएन। स्काई रोप साइक्लिङ र स्काई क्याफेको अनुभव भने निकै यादगार बन्यो। विशेष समय, अझ विशेष मान्छेसँगको यात्रा वास्तवमै एउटा उत्कृष्ट अनुभव बन्यो।

घुम्ने रहर त कहिले सकिन्छ र ! तर हामीले छुट्याएको छोटो समय भने सकियो। मौका जुराएर अरू एड्भेन्चर गर्न फेरि आउने योजनासहित हामी फर्कियौं। साभारः सेतोपाटी डटकम

 

 

 

Share this
285shares
All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.