
इलाम । इलाम सदरमुकाम नजिकै रहेको भालुढुङ्गा पछिल्लो समय पर्यटकको रोजाइमा पर्न थालेको छ । स्थानीय युवाहरूको सक्रियताका कारण भालुढुङ्गालाई इलामको पर्यटनसँग जोड्न सफल भएका छन् । भालुढुङ्गा सामुदायिक वन उपभोक्ता समितिसँगको सहकार्यमा स्थानीय युवाहरूले यस क्षेत्रलाई पर्यटकीयस्थल बनाउन सफल भएका हुन् ।
स्थानीय युवाहरूले भालुढुङ्गा सामुदायिक पर्यटन प्रवद्र्धन विकास समिति गठन गरेर यसको प्रचारप्रसारमा लागेका थिए । ‘हामीले धेरै प्रयासपछि सफलता पाएका छौं,’ समिति अध्यक्ष हरि गुरुङले भन्नुभयो, ‘इलाम आउने जो कोही पर्यटकले पनि भालुढुङ्गाको यात्रा छुटाए त्यो अपुरो हुने छ ।’ 
करिब १४ हेक्टर क्षेत्रफलमा फैलिएको यो क्षेत्रमा प्राकृतिक सौन्दर्यताले भरिभराउ छ । पछिललो समय वनभोज, दृश्यअवलोकन मात्र हैन सुटिङ स्पर्टका रुपमा विकासित हुदैछ । इलाम सदरमुकामबाट करिब पा“च किलोमिटरको दूरी यात्रापछि पुग्न सकिने भालुढुङ्गामा सुविधा सम्पन्न ११ घरमा होमस्टेसमेत सञ्चालनमा आएका छन् । यहा“का होमस्टेमा स्थानीयस्तरमा उत्पादन भएको कोदो–फापरको रोटी, ढिडो, सिस्नु, मकैको भात, गुन्द्रुकको अचार एवं नेवारी र लिम्बू जातका खानाका परिकारहरू पाइने अध्यक्ष गुरुङले बताउनुभयो । समितिले उक्त स्थानमा फ्रि वाइफाईको समेत व्यवस्था मिलाएको छ ।
यहा“ तीनवटा ठूला ढुङ्गा छन् । भालुढुङ्गामा वनझाँक्री बस्ने गरेको र महादेवको पाइला भएकाले यसको बेग्लै धार्मिक महत्वसमेत रहेको मान्यता छ । भालुढुङ्गा क्षेत्रमा चमेरे र ओडारे गुफा रहेको छ । उक्त गुफाभित्र छिरे आफूले चिताएको मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ । वन उपभोक्ता समितिकी अध्यक्ष पवित्रा ढकाल पर्यटकीयस्थलको विकाससँगै वन संरक्षणमा पनि उत्तिकै लागि परेको बताउनुहुन्छ । 
यस क्षेत्रको विकासका लागि डिपिआर तयार गर्ने कामसमेत अघि बढेको छ । करिब एक अर्बमा मिनी जु, रक क्लाम्बिङ, बर्मा बृज, फुटट्रेल, पार्क, गार्डेन, कम्युनिटी हल, कभर्डहल, ग्लास हाउस, जिप फ्लाइ, विभिन्न जात जातिका सांस्कृतिक पहिरनलगायका मूर्ति, विभिन्न प्रकारका ट्री बृजलगायत एडभेन्चर टुरिज्मका योजनाहरू अघि सारिएको छ ।