शहिद रंगशालामा २०२० को भव्य उद्घाटन गरिने

November 29, 2019     Paryatan Yatra

विराटनगर । नेपाल भ्रमण बर्षको पहिलो दिन प्रदेशको राजधानी विराटनगरको सहिद रंगशालामा भव्य समारोहको आयोजना गरिने भएको छ । २०२० को पहिलो दिन जनवरी १ का दिन विभिन्न जातीय पहिचाहन झल्कने झाँकीसहितको भव्य समारोहबीच शहिद रंगशालामा भ्रमण बर्षको उद्घाटन गर्ने निर्णय नेपाल भ्रमण वर्ष २०२० प्रदेशस्तरीय पर्यटन प्रवद्र्धन समितिको दोस्रो बैठकले गरेको हो ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा मुख्यमन्त्री शेरधन राईको उपस्थिती तथा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिश कुसियैतको अध्यक्षतामा हालै बसेको बैठकले उक्त निर्णय गरेको हो ।

केन्द्र सरकारले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन सातवटै प्रदेशमा समिति गठन गरेको थियो । प्रदेश १ को समितिमा मुख्यमन्त्री शेरधन राई संरक्षक हुनु हुन्छ । यसै गरी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिश कुसीयत अध्यक्ष रहनु भएको छ । पर्यटन मन्त्रालयका सचिव सन्जीवकुमार राई सदस्य सचिव रहनु भएको छ । समितिको सह–संयोजकमा विराटनगरका होटल व्यवसायी राजन श्रेष्ठ रहनु भएको छ । समितिको सदस्यमा पर्यटन व्यवसायी उद्योगी लगाएयलाई समेटिएको छ ।

समितिको बैठकले २०२० प्रदेश स्तरीय पर्यटन प्रवद्र्धन समितिको सचिवालय उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा राख्ने निर्णय गरेको छ । समितिले जनवरी १ देखि एक सातासम्म विभिन्न स्थानहरुमा उद्घाटन कार्यक्रम गर्ने निर्णय समेत गरेको छ । कार्यक्रम गर्दा सीमाक्षेत्रलाई प्राथमिकतामा राखिएको छ । यसैगरी बैठकले प्रदेश १ संग जोडिने भारतीय सिमाहरुमा प्रदेश १ का पर्यटकीय स्थलहरुका होर्डीड बोड राख्ने निर्णय गरेको छ ।

यसैगरी पर्यटन वर्ष सफल बनाउन गठन भएका उपसमितिहरुलाई एक वर्षसम्म गरीने कार्यक्रममा कार्ययोजना तयार पार्न लगाउने निर्णय बैठकले गरेको समितिका सहसंयोजक राजन श्रेष्ठले बताउनु भयो । यसअघि नै विभिन्न १३ वटा उपसमितिहरु गठन गरिएको छ । बैठकले उपसमितिहरुको बैठक नियमीत गर्ने समेत निर्णय गरेको छ ।

पर्यटन बर्ष सफल बनाउन प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिश कुसियैत लागि पर्नु भएको छ । प्रदेश सरकारले प्रदेश १ का पर्यटकीय स्थलहरुको भौतिक पूर्वाधार निर्माण र प्रचार प्रसारलाई प्राथमिकतामा राखेको छ । ‘प्रदेश १ को मुख्य आम्दानीको श्रोत पर्यटन क्षेत्र हो भन्ने कुरा प्रदेश सरकारलाई राम्रोसंग थाहा छ’, मन्त्री कुसीयतले भन्नुभयो,‘त्यसैले प्रदेश सरकार पर्यटकीय स्थलहरुको भौतिक पूर्वाधारको विकास गर्दै प्रदेशको आयश्रोतको जग बलियो बनाउन लागि परेको छ ।’

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.