विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाइने

December 2, 2019     Paryatan Yatra

विराटनगर÷ १९५८ सालबाट सञ्चालनमा आएको विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा विकास गरिने भएको छ ।

सन् २०२५ सम्ममा यो विमानस्थल अन्तर्राष्ट्रियस्तरको बनाउने तयारी केन्द्र सरकारले गरेको छ । त्यसका लागि विमानस्थलको धावनमार्ग ३ हजार मिटरको बनाउनुपर्ने र थप ८३ बिघा जग्गा अधिकरण गर्नुपर्ने हुन्छ । त्यसका लागि कुल ११ अर्ब ३३ करोड लगात लाग्ने अनुमान गरिएको छ ।

नागरिक उडड्यन तथा पर्यटनमन्त्री योगेश भट्टराईले विराटनर विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा विकास गरिने बताउनुभएको छ । सबै प्रदेशका राजधानीबाट अन्य देशमा उडान भर्ने तयारी सरकारले गरेको भन्दै विराटनगर विमानस्थलको तत्कालस्तर उन्नति गर्ने बताउनुभयो । विराटनगर विमानस्थलको विकास र विस्तारका लागि तयार पारिएको गुरुयोजनामाथि नागरिक उडड्यन प्राविकरण विराटनगरले सोमबार आयोजना गरको अन्तरक्रियामा मन्त्री भट्टराईले काठमाडौंबाहिर बेस बनाएर अनुमति लिएका जहाजहरूलाई जहाँबाट लिएको हो त्यही पठाउने तयारी भइरहेको बताउनुभयो ।

“विराटनगर विमानस्थललाई बेस बनाएर अनुमति लिने र काठमाडांै बस्ने अब त्यस्तो छुट कुनै जहाजलाई हुँदैन,” उहाँले भन्नुभयो, “साना जहाजहरूलाई काठमाडौंबाहिर बस्ने वातावरणको सिर्जना गरिनेछ ।”  नेपाल वायुसेवा निगमले साना ३ वटा अन्य ५ वटा जहाज किन्ने तयारी गरिरहेको मन्त्री भट्टराईले बताउनुभयो । यसैगरी पूर्वक्षेत्रबाट बंगलादेश सिधा उडानको तयारी भइरहेको उहाँले बताउनुभयो ।

प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले यो विमानस्थललाई अन्तर्राष्ट्रिय बनाउने सपना देखेको भन्दै त्यसलाई काममा सार्थक गर्न केन्द्र सरकारसँग आग्रह गर्नुभयो । “म मन्त्री र प्राधिकरणका कर्मचारीहरूलाई अनुरोध गर्छु मन्त्रिपरिषद्मा विमानस्थलको जग्गा अधिकरण गर्ने र ३ हजार मिटर बनाउने प्रस्ताव तत्काल लगि दिनुहोस्,” उहाँले थप्नुभयो,  “प्रधानमन्त्रीले समेत हुन्छ भनिसक्नु भएकाले प्रस्ताव चाँडो लगिदिन अनुरोध गर्दछु ।” प्रदेश सरकारले जग्गा अधिकरणका लागि व्यहोर्नुपर्ने रकमको हिस्सा बेहोर्न तयार रहेको मुख्यमन्त्रीको भनाइ थियो ।

प्रदेश १ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदिश कुसियैतले विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाउन प्रदेश सरकारले गर्नुपर्ने सबै खाले सहयोग गर्न तयार रहेको बताउनुभयो । आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले यो विमानस्थललाई ५ वर्षभित्र अन्तर्राष्ट्रिय विमानस्थल बनाउने गरी काम गर्न आग्रह गर्नुभयो । नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले विराटनगर विमानस्थल अन्तर्राष्ट्रिय नभई क्षेत्रीय अन्तर्राष्ट्रिय मात्र बन्न सक्ने बताउनुभयो ।

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले सरकारले घोषणा गरेको भ्रमण व्र्षलाई सार्थक बनाउका लागि पनि विमानस्थलको काम अविलम्ब थाल्नुपर्नेमा जोड दिनुभयो । पूर्वमन्त्री तथा संघीय सांसद लालबाबु पण्डित, मोरडका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले विमानस्थल निर्माण लागि सबै पक्ष एक भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बोल्दै नेकपा मोरडका अध्यक्ष ऋषिकेश पोखरेलले धेरै लामो समयदेखि यस क्षेत्रले उठाइरहेको माग भएकाले तत्काल काम थाल्नुको विकल्प नहुने तर्क राख्नुभयो । उहाँले विराटनर विमानस्थलबाट प्रदेश–१ का अन्य पहाडी जिल्लामा रहेका विमानस्थलहरूमा उडान भर्ने व्यवस्था गर्न माग गर्नुभयो । कांग्रेस मोरडका सचिव मोदराज घिमिरेले सम्भावना हुँदाहुँदै पनि सरकारले विराटनगर विमानस्थललाई उपेक्षा गरेको आरोप लगाउनुभयो । यसैगरी संघीय समाजवादी दलका नेता राजकुमार यादवले यो विमानस्थलबाट भारतका विभिन्न स्थानहरूमा समेत उडान गर्न सकिने भन्दै सरकारले यसलाई प्राथमिकतामा राख्नुपर्ने बताउनु भयो ।

उद्योग संगठन मोरडका अध्यक्ष भीम घिमिरेले विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय बनाउन २० वर्ष नलाग्ने भन्दै यो सरकारले पनि फेरि यस क्षेत्रका बासिन्दालाई ललीपप खुवाउने काम मात्र गर्न लागेको हो कि भनी शंका व्यक्त गर्नुभयो । पर्यटन व्यसायी पुन्य भट्टराईलगायतले विमानस्थलको स्तरोन्नतिका लागि गम्भीर भएर लाग्न सरकारसँग माग गर्नुभयो ।

कार्यक्रममा इन्जिनियर गुरुदत्त अधिकारीले विराटनगर विमानस्थलको नक्सासहितको गुरुयोजना प्रस्तुत गर्नुभएको थियो । प्रदेश–१ को जनसंख्याका आधारमा पनि अन्तर्राष्ट्रिय विमानस्थल बन्न सक्ने उहाँको भनाइ थियो । गएको आर्थिक वर्षभित्र यो विमानस्थलबाट १० हजारभन्दा बढी उडान गरिएको थियो । यो विमानस्थलमा ८ प्रतिशतले यात्रु बढेका छन् । आगामी ६ वर्षपछि यो विमानस्थलबाट साढे ५ लाख यात्रु आवतजावत गर्ने अनुमान गरिएको छ । अबको २० वर्षपछि यो विमानस्थलबाट ११ लाख ६२ हजारभन्दा बढी यात्रुहरू १ वर्षभित्र आउजाउ गर्ने अनुमान गरिएको छ ।

विमालस्थलको धावन मार्ग २५ सय मिटर बनाए अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सकिने प्राविधिकहरूको भनाइ छ । तर, प्रदेश–१ को सरकारले १ वर्षअघि नै विमानस्थलको लम्बाई ३ हजार मिटर बनाउने मन्त्रिपरिषद्बाट निर्णय गर्दै केन्द्र सरकारले त्यसका लागि पहल गर्नु अनुरोध पठाइसकेको छ । अहिले विमानस्थलको धावन मार्गको लम्बाई १५ सय मिटर छ । तत्काल १४० मिटर लम्बाई बढाउनका लागि जग्गा अधिकरणको काम पूरा भई निर्माणको चरणमा रहेको छ । विमानस्थलले ओगटेको हाल १२० बिघा जग्गा रहेकोमा अब अन्तर्राष्ट्रिय बनाउनका लागि थप ८३ बिघा जग्गा आवश्यक पर्छ । विमानस्थल पश्चिम बस्ता खोलातर्फको जग्गा अधिकरण गर्न सकिने अवस्था छ ।

विमानस्थलमा १५ सय इस्क्वायर फिटको टर्मिनल भवन भन्ने भएको छ । यो भवन अन्तर्राष्ट्रियस्तरको हुनेछ ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.