पुस २९ मा विर्तामोडमा वृहत ‘भाक्का दिवश’

December 28, 2019     Paryatan Yatra

विर्तामोड । झापाको विर्तामोडमा पुस २९ गते वृहत भाक्का दिवस मनाइने भएको छ । कोच राजवंशी समुदायले विगत वर्षहरूमा पुस २९ लाई भाक्का दिवसका रूपमा मनाउन थालेका हुन् । कोचिला गाभुर फ्रन्ट केन्द्रीय समिति झापाको आयोजनामा यही पुस २९ गते विर्तामोडमा ‘भाक्का दिवस’ को कार्यक्रम तय गरिएको छ । भाक्का दिवसका लागि प्रदेश सरकारले समेत सहयोग गर्ने भएको छ । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदिश कुसियैतले तराईको विशेष समुदायको विशेष परिकारलाई प्रवद्र्धन गर्न प्रदेश सरकारले सहयोग गर्ने बताउनुभयो ।

भाक्का कोच राजवंशी समुदायले चिसो (हिउँदे) मौसममा खाने प्रमुख परिकार हो । पछिल्लो समय कोच राजवंशी समुदायसँगै अन्य जातजातिले पनि रुचाएपछि भाक्का खाने चलन व्यापक बनेको छ । राजवंशी जातिमा मात्र सीमित रहेको भाक्का खाने चलन सबै जातजातिबीच लोकप्रिय बनेपछि यसलाई प्रवद्र्धनात्मक कार्यक्रमसहित पुस २९ गते भाक्का दिवस मनाउन थालिएको हो । कोचिला गाभुर फ्रन्टले यो वर्ष विर्तामोडको वान स्टप मल अगाडि भाक्का दिवस मनाउने कार्यक्रम तय गरेको छ ।

‘विगतभन्दा यस वर्षको भक्का दिवसलाई विशेष तरिकाले मनाउने तयारीमा जुटेका छौं’ कोचिला गाभुर फ्रन्टका केन्द्रीय अध्यक्ष अभय राजवंशीले भन्नु भयो, ‘भाक्का खाने चलन कोच राजवंशी, ताजपुरियासँगै अन्य जातजातिमा पनि लोकप्रिय बनिसकेकाले वास्तवमा भाक्का कसरी खानुपर्छ ? भाक्का कति प्रकारको हुन्छ ? यसको महत्व र विशेषताबारे जानकारी दिंदै विभिन्न स्वादको भाक्का खुवाउने तयारीमा छौं ।’ आम जनमानसले भाक्कालाई जाडोको सिजनमा चोक–चोकमा खान पाइने एक सामान्य खाजाको रूपमा लिने गरे पनि भाक्का अग्र्यानिक र स्वास्थ्यका लागि हितकर खाजा भएको राजवंशीको भनाइ छ । ‘अहिले आम जनमानस अग्र्यानिक परिकार खान चाहान्छ । तर, बजारमा अग्र्यानिक परिकार पाउन गाह्रो छ’ उहाँले भन्नु भयो ‘अग्र्यानिक परिकार नै खाने हो भने भाक्का सबैभन्दा अग्र्यानिक र स्वास्थ्यकर छ ।’

भाक्का चामलको पीठोबाट बनाइन्छ । शुद्ध चामलको पीठोलाई पानीको बाफमा पकाएर भाक्का बनाउने गरिन्छ । पीठोको चामलमा कुनै वस्तु मिसाउट नहुने तथा पानीको बाफमा मात्र पकाउने गरेकाले भक्का पूर्ण अग्र्यानिक र स्वास्थ्यकर खाजाको रूपमा परिचित छ । भाक्का दिवस कार्यक्रममा कोच राजवंशी समुदायको परम्परागत विभिन्न स्वादमा भाक्का खानुका साथै कोच लोक सांस्कृतिक कार्यक्रमको पनि प्रस्तुति रहने अध्यक्ष राजवंशीले जानकारी दिनु भयो । 

यस वर्षको भाक्का दिवस कार्यक्रमलाई प्रदेश १ सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले सहयोग गर्ने भएको छ । भाक्का दिवस कार्यक्रमको मुख्य प्रायोजकमा सन्दर्भ बहुउद्देश्यीय सहकारी संस्था घैलाडुब्बा रहेको छ भने सहयोगीमा कनकाई नगरपालिका, न्यू लाइफ स्टाइल फेसन वेयर विर्तामोडलगायत रहेका छन् । भाक्का दिवसको अनलाइन मिडिया पार्टनरमा ‘पर्यटनयात्रा डटकम’ विराटनगर रहेको छ । 

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.