भालुढुङ्गा पर्यटन प्रवद्र्धन विकास संस्था सम्मानित

January 5, 2020     Paryatan Yatra

विराटनगर । नेपाल भ्रमण वर्ष २०२० को अवसरमा इलामको पर्यटन प्रवद्र्धन र विकासमा योगदान पु¥याएको भन्दै भालुढुङ्गा सामुदायिक पर्यटन प्रवद्र्धन विकास संस्था इलाम सम्मानित भएको छ ।

इलाम शताब्दी बचत तथा ऋण सहकारी संस्थाले २१ औं वार्षिकोत्सवको अवसरमा भालुढुङ्गालाई सम्मान गरेको हो । समितिलाई नगद ७ हजार ५५५ रूपैया सहित प्रमुख अतिथि जिल्ला समन्वय समिति इलामका प्रमुख गणेशप्रसाद बराल र सहकारी संस्थाका उपाध्यक्ष जितबहादुर खड्गाले सम्मानपत्र प्रदान गरेका थिए । संस्थाको पहल एवं सक्रियतामा इलामको ओपिधारादेखि चियाबारी हुदै भालुढुङ्गासम्म पदमार्गलाई विश्रामस्थल, बाटो सुधार र ओढार छिर्ने मुखमा भालुको मुखाकृतिसहितको प्रवेशद्वार निर्माण, बुद्ध र शिवजीको मूर्ति स्थापना, टिहाउस तथा पदमार्ग निर्माणलगायतको धेरै काम भएका छन् । पछिल्लो समय इलाम सदरमुकाम आउने पर्यटन एवं स्थानीयबासीको समेतको भालुढुङ्गा पहिलो रोजाइ हुन थालेको छ ।

यहा होमस्टेसमेत सञ्चालनमा रहेको छ । नयाँ वर्षलगायत विभिन्न चाड र उत्सवमा सयौं पर्यटन आउने गरेका छन् । अन्य समयमा पनि दैनिक दर्जनौं बाह्य एवं आन्तरिक पर्यटक आउने गर्छन् । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउनका लागि यस क्षेत्रमा पर्यटकलाई आकर्षण गर्ने एवं मनोरञ्जन दिने थप कामहरू भइरहेका छन् ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.