मोरङको बेलबारीमा भ्रमण वर्षको शुभारम्भ

January 5, 2020     Paryatan Yatra

बेलबारी । भ्रमण वर्षलाई सफल बनाउन मोरङको बेलबारीस्थित ड्रिमल्याण्ड फनपार्कको संयोजन र प्रदेशस्तरीय पर्यटन प्रवद्र्धन समितिको आयोजनामा भ्रमण वर्षको शुभारम्भ गरिएको छ । नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी फनपार्कको संयोजनमा भ्रमण वर्ष शुभारम्भ गरिएको हो ।

प्रदेश–१ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदिश कुसियैतले ‘भ्रमण वर्ष २०२० को शुभारम्भ’ लेखिएको बेलुनसहितको ब्यानर उडाएर कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।

कार्यक्रममा मन्त्री कुसियैतले सबैको साथ सहयोगबाट मात्रै भ्रमण वर्ष सफल हुने विचार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “भ्रमण वर्ष सरकारको प्रयासले मात्रै सफल हुँदैन । यसलाई सफल बनाउन सम्पूर्ण नागरिकको उत्तिकै दायित्व छ ।”

विश्वको सर्वोच्च शिखर सगरमाथा प्रदेश–१ मै भएकाले त्यसको फाइदा प्रदेशले नै लिने व्यवस्था मिलाइने उहाँले बताउनुभयो । विभिन्न झाँकीसहित नृत्यहरूसमेत प्रस्तुत गरिएको कार्यक्रममा बेलबारीमा पर्यटकीय सम्भावना बोकेका विभिन्न स्थानहरूको बारेमा फनपार्कका सञ्चालक विजय सुवेदीले जानकारी गउराउनु भएको थियो । बेतना सिमसारदेखि अन्य पर्यटकीयस्थल बेलबारी क्षेत्रका पर्यटकीय स्थलहरूमा भौतिक पूर्वाधारको विकासमा प्रदेश सरकारको ध्यान जानुपर्ने सहभागीहरूको भनाइ थियो ।

प्रदेश–१ सरकारले पुस १६ गते प्रदेश राजधानी विराटनगरस्थित सहिद रंगशालामा भव्य कार्यक्रमबीच भ्रमण वर्षको उद्घाटन गरेको थियो । प्रदेश सरकारले प्रदेश–१ मा ५ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.