विर्तामोडमा राष्ट्रिय भाक्का दिवस भव्य

January 14, 2020     Paryatan Yatra

बिर्तामोड । झापाको विर्तामोड चोकमा मंगलबार ‘राष्ट्रिय भाक्का दिवस’ भव्य रुपमा मनाइएको छ । उक्त अवसरमा करिब १ सय किलो चामलको भाक्का बनाएर वितरण गरिएको थियो । परम्परागत परिकार भक्काको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले राजवंशी समुदायका अगुवाहरूले पुस २९ गतेलाई ‘भाक्का दिवस’ का रुपमा मनाउँदै आएका छन् । झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगर, झापाका प्रहरी प्रमुख कृष्णप्रसाद कोइराला, उद्योग वाणिज्य संघ विर्तामोडका अध्यक्ष कुमार भट्टराई, विर्तामोड–२ का वडाध्यक्ष नगेन्द्रप्रसाद संग्रौलालगायतले भाक्का र माछा खाएर संयुक्त रुपमा भाक्का दिवसको उद्घाटन गर्नुभएको थियो ।

कोचिला गाभुर फ्रन्टका केन्द्रीय समितिले आयोजना गरेको उक्त कार्यक्रममा भारतको मेघालय, असाम, पश्चिम बंगाल र बिहारका राजवंशीहरूका विभिन्न क्षेत्रका अगुवाहरूको सहभागिता रहेको थियो । उक्त अवसरमा माछा, तरकारी र अचारसँग भाक्का खुवाएका सहभागीहरूलाई खुवाएको थियो । सयौंको संख्यामा सहभागीहरूले भाक्का खाएका थिए । ‘आममानिसले भक्कालाई सामान्य खाजाको रुपमा मात्र बुझेका छन् । तर, हाम्रो जातिभित्र यसको महत्व धेरै छ,’ कोचिला गाभुर फ्रन्टका केन्द्रीय अध्यक्ष अभय राजवंशीले भन्नु भयो, ‘यो दिवसले भ्रमण वर्ष २०२० लाई समेत सहयोग पु¥याएको छ ।’ भाक्का शुद्ध चामलको पीठोबाट बनाइन्छ । कुनै मिसावट नहुने तथा अग्र्यानिक हुने भएकाले भक्का स्वास्थ्यकर खाजाको रुपमा लोकप्रिय रहेको विर्तामोड–२ का वडाध्यक्ष नगेन्द्रप्रसाद संग्रौलाले बताउनुभयो । उहाँले विर्तामोडमा व्यवसायी भाक्का पसल खोल्नसमेत आग्रह गर्नुभयो ।

कार्यक्रममा भारतको मेघालय, असाम, पश्चिम बंगाल र बिहारका राजवंशीहरूले जातीय पहिरनमा ¥याम्पसमेत गरेका थिए । उनीहरूले भ्रमण वर्षले आफूहरूलाई आउने निम्तो दिएकाले उत्साहित भएको बताए । कार्यक्रममा राजवंशी समुदायका कलाकारले जातीय पोशाकमा नृत्य गरेका थिए । जाडो सिजनमा राजवंशी समुदायमा भक्का खाने चलन छ । राजवंशी जातिमा छोरी–चेलीलाई चिसो मौसममा माइती बोलाएर मीठा–मीठा परिकारसँग भक्का खुवाउने चलन रहेको छ । पछिल्लो समय भक्का चोक बजारमा खाजाको रुपमा समेत खान पाइन्छ । अग्र्यानिक र स्वस्थ्यकर हुने भएकाले भक्का मौसमी व्यापारसमेत बनेको छ ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.