केशरीको ‘हिउँको लाली’ गजलसंग्रहको विमोचन

January 17, 2020     Paryatan Yatra

विराटनगर । गजलकार कविता केशरीद्वारा लिखित हिउँको लाली गजलसंग्रहको शुक्रबार लोकार्पण गरिएको छ । चेतना संरक्षण प्रतिष्ठानले मकालु टेलिभिजनको सभाहलमा आयोजना गरेको कार्यक्रममा संग्रहको विमोचन गरिएको हो । प्रदेश–१ की सांसद सरिता थापा, सावित्रा रेग्मी, प्राज्ञ विवश पोखरेल, अग्रज साहित्यकार रमाप्रसाद रिजाल, बलराम पोखरेललगायतले संयुक्त रुपमा गजलसंग्रहको विमोचन गरेका थिए । प्रतिष्ठानले हरेक महिनाको पहिलो शुक्रबार नियमित साहित्यिक कार्यक्रम गर्दैै आएको छ । माघ महिनाको शृंखलामा केशरीको गजलसंग्रहको विमोचन राखिएको हो ।
प्राज्ञ विवश पोखरेल, मधु पोखरेल र भरत गुरागाईंले विमोचित संग्रहमाथि टिप्पणी प्रस्तुत गरे । लेखकले लोक संस्कृति, जातीय विभेद, किसानका समस्या, देशको समसामयिक राजनीतिलगायतका विषयलाई संग्रहमा सशक्त रुपमा उठाएको टिप्पणीकारहरुले बताए । संग्रहमा १३६ वटा गजल छन् । कार्यक्रममा गजलकार केशरीले संग्रहभित्रबाट ५ वटा गजल प्रस्तुत गरिन् । प्रतिष्ठानकी उपाध्यक्ष सरला चापागाईंको अध्यक्षतामा भएको कार्यक्रममा सांसदद्वय थापा, रेग्मी, प्रतिष्ठानका महासचिव उमेश दाहाल, कार्यक्रम संयोजक मीनकुमार नवोदितलगायतले कृतिका विषयमा आ–आफ्ना दृष्टिकोण राखेका थिए । प्रतिष्ठानको चेतना मासिक कार्यक्रमअन्तर्गत एकल कविता वाचन, कृतिमाथिको परिचर्चा, कृति विमोचनलगायतका कार्यक्रम हुने गरेको कार्यक्रम संयोजक नवोदितले जानकारी दिए । उनका अनुसार हाललसम्म ४४ वटा शृंखला सम्पन्न भइसकेका छन् ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.