प्रदेश–१ मन्त्रिपरिषद्मा चार राज्यमन्त्री थपिए

January 19, 2020     Paryatan Yatra

विराटनगर । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले आइतबार मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ ।
नवनियुक्त ४ जना राज्यमन्त्रीलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीको उपस्थितीमा मुख्यमन्त्री राईले पद तथा गोपनीयताको सपथ खुवाउनु भयो । प्रदेश–१ सरकार गठन भएको झण्डै २ वर्षपछि मुख्यमन्त्री राईले मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो । विस्तारित मन्त्रिपरिषद्मा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा रामबहादुर मगर, भौतिक पूर्वाधार विकास मन्त्रालयमा अम्बिरबाबु गुरुङ, सामाजिक विकास मन्त्रालयमा जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा विजयकुमार विश्वासलाई राज्यमन्त्री नियुक्त गरिएको हो ।
राना र गुरुङलाई दिएका मन्त्रालयमा मन्त्री छैनन् । दुवै मन्त्रालय मुख्यमन्त्रीले नै राख्नु भएको छ । यसअघि रहेको ५ सदस्यीय मन्त्रिमण्डलमा मुख्यमन्त्री राई, आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की, आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो, सामाजिक विकासमन्त्री जीवन घिमिरे र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगशीश कुसियैत रहनुभएको छ । अब ९ सदस्यीय मन्त्रिमण्डलमा विश्वास र आङ्बो दुईजना तत्कालीन माओवादीबाट पर्नुभएको छ ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.