हाइकिङ निस्कनुअघि यस्तो तयारी

February 7, 2020     Paryatan Yatra

स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा विशेषगरी उच्च हिमाली, पहाडी क्षेत्र, वनजंगल तथा तालतलैया पर्ने गरेका छन् । प्राकृतिक दृश्यावलोकन गर्दै हिँड्नुको मज्जा एकातर्फ छ भने अर्कोतर्फ हामीले हाइकिङलाई सुरक्षित बनाउन गर्नुपर्ने तयारी ।

भौगोलिक अवस्था
ट्रेकिङका लागि जान लागेको ठाउँबारे पूर्वजानकारी लिन आवश्यक छ । वनजंगल र भिरपाखामा जाँदा आउन सक्ने कठिनाइबारे सजग हुनुपर्छ । सम्बन्धित स्थानमा यसअघि कुनै प्राकृतिक दुर्घटना भए/नभएको बुझ्नुपर्छ । 

पथप्रदर्शक वा समूह 
स्थानीय पथप्रदर्शकको सहयोग लिएर वा समूहमा हाइकिङ गर्ने हो भने सम्भावित समस्याबाट बच्न सकिन्छ । आफू कहिल्यै नगएको ठाउँमा एक्लै वा पथप्रदर्शकविना जानु हुँदैन । प्राथमिक उपचारका सामग्री पनि बोकेर लैजानुपर्छ । 

मौसमबारे पूर्वजानकारी
नेपालमा छिनछिनमै मौसम परिवर्तन भइरहन्छ । यसर्थ, मौसमसम्बन्धी पूर्वजानकारी लिएर मात्र यात्रामा निस्कनुपर्छ । 

स्वास्थ्यमा ध्यान
हाइकिङ जान शारीरिक रूपले पूर्ण स्वस्थ हुन अनिवार्य छ । उच्च हिमाली क्षेत्रमा जाँदा लेक लाग्ने (अल्टिच्युड सिकनेस)लगायत अन्य विभिन्न स्वास्थ्य समस्या हुन सक्छ । तसर्थ, सजग र सचेत बन्नुपर्छ । 

आवश्यक सामान
मौसमअनुसार आफूलाई चाहिने सामान लैजान जरुरी हुन्छ । फेरि, अनावश्यक सामान राखेर झोला भारी पनि बनाउनुहुँदैन । जुत्ता, टोपी, चस्मा, लठ्ठी, पानीको बोतल, सनब्लक क्रिम, चक्कुलगायत सामान अनिवार्य लैजानुपर्छ । जाडोमा ज्याकेट, गलबन्दीलगायत न्यानो कपडा साथमा  लैजानुपर्छ । 

खानेकुरा
कतिपय ठाउँमा होटेल, रेस्टुराँ उपलब्ध हुँदैनन् । त्यसैले यस्ता ठाउँमा जाँदा आफूलाई चाहिन सक्ने खानेकुरा बोक्न बिर्सिनु हुँदैन । साभार नयाँ पत्रिका

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.