भ्रमण बर्ष : आन्तरिक पर्यटनले जगायो आशा

February 15, 2020     Paryatan Yatra

झापा । प्रदेश १ को  पर्यटन उद्योगका लागि आन्तरिक पर्यटकहरु आशाको किरण बनेर उदाएका छन् । विदेशी पर्यटक अपेक्षा अनुसार नआएको भन्दै  गुनासो मात्रै गर्ने झापाका पर्यटन व्यवसायी यसपटकको हिउँदमा आन्तरिक पर्यटकको आगमनले उत्साही छन् ।
शैक्षिक तथा अवलोकन भ्रमणमा आउने स्कुल कलेज तथा विभिन्न संघ संस्थाका टोली, खेलकुद प्रतियोगिताका सहभागीहरु तथा पारिवारिक घुमघामका लागि आउने आन्तरिक पर्यटकको संख्या उल्लेख्य भएपछि विदेशी अनुहार नखोज्ने पर्यटन क्षेत्रमा नयाँ सोचसमेत विकसित हुन थालेको छ ।
कुनै एउटा मात्रै सहरमा केन्द्रीत हुने पर्यटन गतिविधि  आन्तरिक पर्यटकहरुकै कारण  सबैतिर विस्तारित हुने मौका पाएको छ । ‘विदेशी पर्यटक आउलान् र व्यवसाय चल्छ भन्ने आशामा मात्रै रहुञ्जेल सधैँ निराश मात्रै भइयो’, काँकडभिट्टाका होटल व्यवसायी गोपाल श्रेष्ठ भन्छन् ‘तर, जब आन्तरिक पर्यटकलाई खुला हृदयले स्वागत गर्न थालियो, यहाँको रौनक फेरिएको छ ।’ उनका अनुसार यसपटकको हिउँददेखि स्थानीय व्यवसायी सबैले यो तथ्य अझै राम्ररी बुझे ।
जिल्लाका होटल व्यवसायी तथा पर्यटन क्षेत्रका सम्बद्धहरुको अनुभवका अनुसार विदेशी पर्यटकले भन्दा बढी खर्च आन्तरिकले गर्न थालेका छन् । सेवा प्रदान गर्दादेखि व्यवस्थापनमा पनि आन्तरिक पाहुना विदेशीको तुलनामा  सजिला छन् । खर्च पनि धेरै गर्ने, खुवाउन र बसाउन पनि सजिलो हुने भएपछि  पर्यटन व्यवसायी आन्तरिक पर्यटकमैत्री देखिएका हुन् ।  ‘पहिले–पहिले नेपाली पर्यटकलाई भन्दा गोराहरुलाई नै कोठा दिन पाए हुन्थ्यो जस्तो लाग्थ्यो’, काँकडभिट्टाका होटल व्यवसायी कुबेरसिंह मगरले भने ‘तर, अहिले आन्तरिक पर्यटक नै बढी आइदिए हुन्थ्यो जस्तो लाग्न थालेको छ ।’ उनका अनुसार विदेशी पर्यटकहरु निश्चित खर्च तालिका अनुसार मात्रै खर्चिन्छन् । तर, नेपाली पर्यटक खर्च गर्न लोभ गर्दैनन् । यसले व्यवसायीलाई राम्रो हुने उनी बताउँछन् । बढ्दै गएको रोजगारी दर, घुम्न मनपराउने जमातको संख्यामा आएको  बढोत्तरी, वैदेशिक रोजगारीले बढाएको क्रय क्षमता लगायतका कारण अचेल पूर्वमा आन्तरिक पर्यटकको संख्या उल्लेख्य हुन थालेको छ । शैक्षिक भ्रमण र सहकारी संस्था, महिला समूहका भ्रमण टोलीको संख्या पनि उत्तिकै हुने गरेको छ ।
त्यसो त जिल्लाहरुमा खेल पर्यटन  पछिल्लो समयमा आशालाग्दो माध्यम बन्न सफल भइरहेको छ । आन्तरिक रुपमा मौलाएको खेल पर्यटनले जिल्लाको आर्थिक कारोबारमा सकारात्मक परिणाम ल्याएको सम्बद्धहरु बताउँछन् ।
हिउँद लागेपछि शुरु भएको बनभोज लहर आन्तरिक पर्यटनलाई उचाईमा पुर्याउने अर्को प्रमुख माध्यम भएको छ । पिकनिकको सिजन शुरु भएसँगै अहिले झापाका विभिन्न धार्मिक एवम् पर्यटकीय स्थलमा पिकनिक खानेहरुको भीड छ । यसले आन्तरिक पर्यटनको उच्च सम्भावना देखाएको विज्ञहरु बताउँछन् ।  
 केही महिनायता  झापाका जामुनखाडी सिमसार क्षेत्र, बाँसबारी सामुदायिक वन,  सुखानी शहीद पार्क, दोमुखा, भुरुङ्गा शिवसताक्षी, पातालगंगा, धनुषकोटीधाम, किच्चकवध, केचनाकवल मिनि माउण्टेनलगायतका क्षेत्रमा पिकनिक जानेको भीड थामिनसक्नु छ । हिउँद याममा खुला मौसम हुने र टाढा टाढाका मनमोहक दृश्य समेत राम्ररी देख्न सकिने भएकाले जिल्लाका धेरै धार्मिक एवम् पर्यटकीयस्थल पिकनिकको गन्तव्य बन्ने गरेका छन् । शुरुमा कनकाई माइको दोमुखा पिकनिकका लागि निक्कै चर्चित ‘स्पट’ थियो । पछिल्लो चरणमा आएर जामुनखाडी सिमसार क्षेत्र, बासबाँरी समुदायिक वन,  सुखानी शहीद पार्क, भुरुङ्गा शिवसताक्षी, पातालगंगा, किच्चकवध, केचनाकवल मिनि माउण्टेनलगायतका स्थान पनि पिकनिक खान जानेहरुका लागि रोजाइमा पर्ने गरेका छन् ।
पर्यटन क्षेत्रका सम्बद्धहरु विदेशी पर्यटकको मात्रै मुख ताकेर बस्दा निराशा मात्रै हात पर्छ । जतिसुकै धेरै आए पनि स्थलमार्ग हुँदै पूर्वी नाकाबाट नेपाल प्रवेश गर्ने विदेशीहरु वर्षमा पाँच हजार जति हुन्छन् । ‘यस्तोमा विदेशी पाँच हजारभन्दा आन्तरिक २० हजार पर्यटक आइसकेका हुन्छन्’, पर्यटन व्यवसायी उदय श्रेष्ठ भन्छन् ‘त्यसैले विदेशी आए भने खुला हृदयले स्वागत गर्ने तर आन्तरिक पर्यटनलाई पनि जोड दिने गर्दा पर्यटन क्षेत्र उँभो लाग्नेरहेछ ।’

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.