आशा जगाउँदै ताप्लेजुङको कोलडाँडा होमस्टे

March 2, 2020     Paryatan Yatra

पूर्वी पहाडी जिल्ला ताप्लेजुङको मैवाखोला गाउँपालिकाको साँघुमा खोलिएका होमस्टे अहिले व्यावसायिक र व्यस्त बन्दै गएका छन्। एकाध होमस्टेले व्यावसायिक सेवा सुरु गर्दा तिनकै भविष्य संकटमा देख्नेहरू नै अहिले एकपछि अर्को गर्दै होमस्टे खोलेर व्यावसायिक योजना बनाइरहेका छन्। ‘बलियो सम्भावना देखेपछि होमस्टेलाई थप महत्व दिएका छौं’,साँघुमा रहेको कोलडाँडा सामुदायिक होमस्टेका सदस्य रेणु चोङ्वाङले भन्नुभयो।

उहाँका अनुसार अघिल्लो वर्षसम्म होमस्टेको खासै चर्चा र महत्व थिएन। साँघु आइपुग्नेहरूले आवास तथा खानाका लागि पहिलो रोजाइकै रुपमा होमस्टे खोज्ने गरेको उहाँले जानकारी दिनुभयो । कोलडाँडा सामुदायिक होमस्टेमा जम्मा १३ घरधुरी रहेका छन्। बढीमा ५ जनासम्म अट्नेगरी होमस्टेमा पर्यटकीय सुविधा उपलब्ध गराउने गरिएको छ।
‘स्थानीय परिकारलाई महत्त्व दिएर होमस्टेबाट मनग्गे आर्थिक उर्पाजनको सम्भावना देख्दै गएकी छु’ कोलडाँडा सामुदायिक होमस्टेकी अध्यक्ष शिवकुमारी चोङ्वाङले भन्नुभयो । उहाँका अनुसार अहिले यहाँका होमस्टेमा आन्तरिक पर्यटक मात्र आउने गरेका छन्। निर्माणाधीन मदन भण्डारी राजमार्गको स्तरोन्नति भएर तेह्रथुमको वसन्तपुरबाट संखुवासभाको साँघु हुँदै दोभान–ताप्लेजुङ बजारसम्मको सहज यातायात सेवा सुरु भएमा यहाँका होमस्टे आन्तरिक तथा बाह्य पर्यटकले भरिने स्थानीयको विश्वास छ।

मदन भण्डारी राजमार्गको दोभान–ढुङ्गेसाँघु–साँघु–गुफा हुँदै चौकीसम्मको खण्ड त्यति राम्रो नहुँदा यहाँ नियमित रुपमा सवारी यातायात कठिन छ। त्यही भएर यो सडकखण्ड मर्मतसम्भार तथा स्तरोन्नतिका लागि होमस्टे सञ्चालकहरू आफैंले पनि पहल गरिरहेका छन्।

२ वटा सामुदायिक होमस्टे सञ्चालनमा रहेको साँघुमा अर्को अर्को होमस्टे सेन्टर हो, रमितेडाँडा सामुदायिक होमस्टे। ९ घरधुरी आबद्ध रहेको यो होमस्टे क्षेत्रको विशेषता हो जातीय विविधता। अधिकांश लिम्बू९चोङ्वाङ० समुदाय सञ्चालक रहेको रमितेडाँडा सामुदायिक होमस्टेमा भण्डारी र ढुङ्गेल थरका दुई ब्राह्मण समुदायका सदस्य पनि होमस्टे सञ्चालक छन्। पर्यटक संख्याको आधारमा कुन घरमा कति आगन्तुकलाई राख्नुपर्ने हो, त्यसको निक्र्यौल सामुदायिक संस्थाले गर्छ।

यसबाहेक सम्पर्कको आधारमा समेत आगन्तुकहरू होमस्टेका आउने–जाने गर्छन्। यहाँका होमस्टे सामुदायिक संस्थाको अर्को रोचक पक्ष भनेको दुवै सामुदायिक संस्थाको नेतृत्वकर्ता महिला छन्। रमितेडाँडा सामुदायिक संस्थाका अध्यक्ष सुकमाया चोङवाङ भर्खर बामे सर्दै गरेका होमस्टेले अब भने आसा जगाउन थालेको बताउनुहुन्छ ।

मदन भण्डारी मार्गको चौकी–सडकखण्ड व्यवस्थित भए होमस्टेमा आउने पर्यटकको कमी नहुने उहाँको बुझाइ छ। मैवाखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अधिकारी स्थानीयस्तरमा होमस्टे व्यवस्थित हुन थालेपछि गाउँ–घरमा चहलपहल बढेको बताउनुहुन्छ ।   होमस्टेमा बढ्न थालेको चहलपहलले व्यावसायिक आशा जगाएको उहाँको अनुभव छ ।

होमस्टे व्यवस्थापनका लागि विश्व वन्यजन्तु कोष डब्लुडब्लुएफसँग मिलेर हिमाली संरक्षण मञ्चले सहयोग गर्दै आइरहेको छ। हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईका अनुसार त्यहाँका २२ घरधुरी होमस्टे सञ्चालकलाई प्रारम्भिक चरणमा बिछ्यौना बेड सुधार अभियानअन्तर्गत प्रतिघरधुरी २ वटा बेड र त्यसका लाग्ने सिरक, डसना, तन्नासहितका सामग्रीमा सहयोग गरिएको छ।

त्यसमा गाउँपालिका र वडासमेतको सहकार्य रहेको छ। स्थानीय परिकार र स्थानीय विविधतामा भुल्न पाउनु होमस्टेको अर्को विशेषता हो। 

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.