सिमसारको नगरी मोरङको उर्लाबारी

March 4, 2020     Paryatan Yatra

सरोज बस्नेत

उर्लाबारी । मोरङको उर्लाबारी सिमसारको शहरका रुपमा परिचित हुँदै गएको छ । उर्लाबारीमा बेतिनी, लामपाते, बुढाठाकुर, बाँसेचौरीलगायतका सिमसार क्षेत्रहरु रहेका छन् । सिमसारयुक्त पर्यटकीय नगरीका रुपमा परिभाषित गर्दै उर्लाबारी नगरपालिकाले पनि सिमसार क्षेत्रको प्रवद्र्धनमा सहयोग गर्दै आएको छ । उर्लाबारी–२ मा रहेको बेतिनी सीमसार आन्तरिक पर्यटकीय क्षेत्रको रुपमा परिणत भएको छ भने अन्य सिमसारहरुको उचित संरक्षण र प्रवद्र्धन हुन सकेको छैन ।

पूर्वपश्चिम राजमार्गमा पर्ने उर्लाबारी–३ मंगलबारे चौकबाट करिब २ किलोमिटर उत्तरमा चारकोसे जंगलभित्र रहेको छ, बेतिनी सिमसार । बेतिनी सामुदायिक वन उपभोक्ता समूहले संरक्षण गर्दै आएको सिमसारमा उर्लाबारी नगरपालिका, प्रदेश सरकार र संघीय सरकारबाट सहयोग प्राप्त हुँदै आएको छ ।

बेतिनी सिमसार आन्तरिक पर्यटकका अलवा वनभोजका लागि पनि उपयुक्त स्थल बन्दै गएको छ । वनभोजका लागि टहरा निर्माण, बिजुली तथा खानेपानीलगायतको उचित ब्यवस्थापन गरिएको अध्यक्ष भीम राईले जानकारी दिनुभयो । उर्लाबारी–२ मा रहेको सिमसारमा दैनिक सयौं आन्तरिक पर्यटकहरु पुग्ने गरेका छन् । बालउद्यान, कृतिम पाटे बाघ, बोटिङ, कृतिम पोखरी यहाँका आकर्षण हुन् ।

दैनिक ५०० जनाको हाराहारीमा आन्तरिक पर्यटक सिमसार क्षेत्रमा पुग्ने गरेका छन् । सिमसारमा जलयात्राको मज्जा लिन पुग्नेको संख्या दैनिक बढ्दोछ । बिदाको समयमा सिमसार घुम्न आउनेको संख्या अत्यधिक हुन्छ । सिमसार ५८ हेक्टर क्षेत्रफलमा फैलिएको छ । सिमसार क्षेत्रमा तारजाली, पक्की शौचालय, चौतारा, सडक ग्राभेललगायत कार्य गरिएको सदस्य मिलन दाहालले जानकारी दिनुभयो ।

सिमसार क्षेत्रमा बेत, सर्पगन्धा, हर्रो, अमला, लहरे, टिम्बुर, सुनाखरीजस्ता वनस्पति तथा मैना, लुइँचे, धनेश, मयूर, बट्टाईं, हाँडिफोर, बकुल्लालगायत चराचुरुङ्गी पाइन्छ । यस्तै आसपासमा हरिण, चितुवा, बँदेल, दुम्सी, सालक, वन बिरालो, गोहोरो, अजिङ्गरलगायत जीवजन्तु पाइन्छ ।

उर्लाबारी–२ मै रहेको बाँसेचौरी सिमसार क्षेत्र भने उचित संरक्षणको अभावमा रहेको छ । सुनझोडा सामुदायिक वन समूहको हाताभित्र एकान्त वातावरणमा रहेका यस क्षेत्रमा वनभोजका लागि मानिसहरु पुग्ने गरेका छन् । ठूलो चौर र घाँसे मैदानले त्यहाँ पुग्नेको ध्यान खिच्ने गरेको छ । उर्लाबारी–३ को नयाँ मंगलबारेबाट करिब ५ किलोमिटर उत्तरमा रहेको बासेचौरी तथा सिमसारलाई पनि व्यवस्थित गर्न आवश्यक छ ।

उर्लाबारी–२ कै अर्को महत्वपूर्ण स्थल हो, बुढाठाकुर सिमसार क्षेत्र । पूर्वी नेपालमा बसोबास गर्दै आएका अल्पसंख्यक धिमाल समूदायको ऐतिहासिक क्षेत्रको रुपमा बुढाठाकुरलाई मान्ने गरिएको छ । प्रत्येक वर्षको जेठ २३ गते यस क्षेत्रमा धिमाल समुदायको भव्य पुजासहित श्रीजात जात्री मेलाको आयोजना गरिन्छ ।

उर्लाबारी–३ को नयाँ मंगलबारेबाट करिब ५ किलोमिटर उत्तर गएपछि सुनझोडा मावि हुँदै खोला पश्चिम सुकुम्वासी वस्ती छेउमा यो सिमसार रहेको छ । सुनझोडा सामुदायिक वनको चार हेक्टर क्षेत्रफलमा फैलिएको बुढाठाकुर सिमसारको विकास गर्न सकेको खण्डमा उत्कृष्ट पर्यटकीय स्थल बन्नसक्ने देखिन्छ ।

त्यस्तै, उर्लाबारी–२ मा रहेको लामपाते सिमसार पनि पर्यटकीय क्षेत्र बन्नसक्ने प्रचुर सम्भावना छ । उर्लाबारी–३ नयाँ मंगलबारेबाट ३ किलोमिटर उत्तर शान्ति आधारभूत विद्यालयको पश्चिम हँुदै यस सिमसार क्षेत्रमा पुग्न सकिन्छ । सालबारी सामुदायिक वनको हाताभित्र रहेको सिमसार क्षेत्रमा कृतिम पोखरी र केही टहरा निर्माण गरिएको छ । तर, सरोकारवाला निकायको ध्यान नपुग्दा उचित विकास हुन सकेको छैन ।

करिब ५ हेक्टर क्षेत्रफलमा फैलिएको यो सिमसारमा बोटिङ तथा पर्यटकीय स्थलका रुपमा परिचित गराउन सकिने आधारहरु रहेका छन् । यो सिमसार क्षेत्रमा विभिन्न प्रजातिका जंगली जनावार, विभिन्न प्रकारका वनस्पतिहरु यहाँ पाइन्छन् ।साभार: हाम्रोमत दैनिकवाट

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.