झापामा पर्यटन पूर्वाधारमा १५ करोड बजेट

March 4, 2020     Paryatan Yatra

झापा । झापाका पर्यटकीय क्षेत्र विकास र विस्तार गर्न सरकारले चालू आर्थिक वर्ष २०७६।२०७७ मा १५ करोड ७५ लाख बजेट विनियोजन गरेको छ । प्रदेश नम्बर १ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमार्फत खर्च हुने गरी जिल्लाका ३७ वटा पर्यटकीय क्षेत्रको विकास र विस्तार गर्न सो बजेट विनियोजन भएको पर्यटन बोर्ड काँकरभिट्टाका प्रमुख बासुदेव ढकालले जानकारी दिए ।  १५ वटा स्थानीय तह रहेको झापामा सबैभन्दा बढी बजेट मेचीनगर नगरपालिकालाई २ करोड रुपैयाँ विनियोजन भएको छ ।

उनका अनुसार जिल्लाका १३ वटा पालिकामा पर्यटकीय क्षेत्रको विकासका काम जारी  छ । गौरादहको गौरादह पोखरी पर्यटकीयस्थलमा १ करोड ५० लाख, कमलधाप सीमसार पर्यटन पूर्वाधारमा १ करोड, कनकाई–८ स्थित वनभोजस्थलमा ८० लाख, अर्जुनधाराको सुखानी शहीद स्मृति पार्क निर्माणमा ५० लाख, शिवसताक्षी दोमुखाको बहुसाँस्कृतिक उद्यान निर्माणका लागि ५० लाख विनियोजन गरिएको छ ।

यसैगरी, भद्रपुर–१ को दियालो पर्यावरणीय तथा पर्यटकीय सीमसार क्षेत्रमा ४० लाख, मेचीनगर ११ र १२ मा पर्ने कालिका सीमसार तथा पर्यापर्यटन विकासमा ५० लाख, कचनकवल–७ बनियानीस्थित बाल उद्यान पार्कमा ५० लाख, अर्जुनधारा–१ स्थित हलुवागढ सीमसार तथा पर्यापर्यटन विकासमा ५० लाख, दमकको आलेख पार्क निर्माणमा ५० लाख रकम विनियोजन गरिएको छ ।

कमल गाउँपालिका–५ स्थित आदिवासी जनजाति स्मृति उद्यानमा २० लाख, गौरादह–५ मा अवस्थित मदन भण्डारी उद्यानमा ५० लाख, दमक नगरपालिका–२ मा रहेको शहीद उद्यानमा १० लाख, हल्दिबारी–५ मा रहेको सोडागन्धी सीमसार पर्यटन प्रवद्र्धनमा १५ लाख, बिर्तामोड १० मा रहेको मधुपोखरी पर्यटन क्षेत्रको विकासमा २० लाख विनियोजन गरिएको सो कार्यालयले जनाएको छ ।

उनले सीमसार संरक्षण तथा पर्यापर्यटन, धार्मिक तथा पर्यटकीयस्थल पूर्वाधार निर्माण, कछुवा संरक्षण तथा दृष्यावलोकन केन्द्र निर्माणसहित विभिन्न क्षेत्रमा बजेट विनियोजन गरिएको जानकारी दिए ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.