पूर्वाधार विकासको पर्खाइमा प्रमुख पर्यटकीय क्षेत्र

March 5, 2020     Paryatan Yatra

इलाम  जिल्लाका स्थानीय तह र सरोकारवाला संघ–संस्थाले पर्यटन प्रवद्र्धनका लागि गरेको तयारी पर्याप्त हुन सकेको छैन । पर्यटकीय क्षेत्रहरूमा पूर्वाधार निर्माणका काम पर्याप्त हुन सकेका छैनन् भने पर्यटकले पर्यटन वर्षको विशेष ‘कोसेली’ के लैजान्छन् भन्नेबारे कुनै तयारी छैन ।

इलाम त्यसै पनि पर्यटकीय हिसाबले उपयुक्त भएकाले बर्सेनि यहाँ पर्यटकको भीड लाग्छ । तर, सम्भावना भएअनुसार यहाँका कुनै पनि पर्यटकीयस्थलमा पर्यटक आउन चाहिँ सकेका छैनन् । अन्तुडाँडा घुम्न आउने पर्यटकको संख्या जिल्लामै आसलाग्दो देखिए पनि अन्यत्र व्यवसायीले अपेक्षा गरे अनुसार हुन सकेको छैन । विशेषगरी आन्तरिक पर्यटक बढी आउने इलाममा बाह्य पर्यटकको संख्या चाहिँ सधैं नगन्य हुन्छ । जिल्लाका उत्तरी क्षेत्रमा भारतको पश्चिमबंगालका पर्यटक आउने भए पनि उनीहरूलाई घुमाउने स्पष्ट ‘प्याकेज’ बन्न नसक्दा पर्यटकको बसाइँ छोटो भइरहेको छ ।

जिल्लाका सुर्योदय र इलाम नगरपालिका तथा सन्दकपुर गाउँपालिका पर्यटनमा अत्यन्त सम्भावना भएका स्थान हुन् । सुर्योदय नगरको कन्याम–फिक्कल–अन्तु सर्किट र सन्दकपुर गाउँपालिकाको सन्दकपुर नेपाल सरकारको ‘सय पर्यटकीय गन्तव्य’ सूचीमा समेत छन् । सन्दकपुरकै माइपोखरी, माङ्सेबुङ गाउँपालिकाको लारुम्बा, रोङ गाउँपालिकाको पाथीभरा, सुर्योदय पशुपतिनगरलगायत दर्जनौं गन्तव्यले पर्यटन वर्ष २०२० मा राम्रो आधार तयार गर्न सक्ने भए पनि प्रचार–प्रसार अभाव छ ।
इलाम घुम्न आउने पर्यटक ठोक्किने अर्को महत्वपूर्ण क्षेत्र हो इलाम सदरमुकाम । यहाँ आएका पर्यटकलाई धेरै समय यतै भुल्याउने र अन्य पर्यटकलाई समेत यहाँ आउन उत्साहित गरून् भन्ने हिसाबले तयारी गरिएको इलाम नगरपालिकाले जनाएको छ । इलाम नगरले चालू आर्थिक वर्ष सुरु भएका पर्यटकीय क्षेत्रका योजनालाई यही जनवरी सुरु हुँदा नहुँदै सम्पन्न गर्ने लक्ष्यले काम गरेको थियो । तर, सबै योजना सम्पन्न हुन नसकेपनि त्यस्ता पूर्वाधारको काम धमाधम भइरहेको प्रमुख महेश बस्नेत बताउनुहुन्छ । । ‘पर्यटन वर्षलाई लक्षित गरी हामीले धेरै पूर्वाधारका काम गरेका छौं तर सबै सम्पन्न हुन चाहिँ पाएनन्,’ मेयर बस्नेतले भन्नुभयो, ‘पर्यटन वर्षका लागि स्थानीय सरोकारवालाबीच समन्वय गर्ने, नगरले गर्नसक्ने कामलाई चाहिँ तीव्रताका साथ गर्ने गरेका छौं ।’

पूर्वकै मुख्य पर्यटकीयस्थलका रूपमा रहेको सन्दकपुर, रामसार क्षेत्र माइपोखरीलगायत दर्जनौं पर्यटकीयस्थल रहेको सन्दकपुर गाउँपालिकाले पनि पर्यटन वर्षलाई लक्षित गरी विभिन्न योजना सञ्चालन गरेको छ । ‘हामीले गाउँपालिकाका पर्यटकीय क्षेत्रको प्रचारप्रसारलाई बढी प्राथमिकता दिएका छौं,’ अध्यक्ष उदय राईले भन्नुभयो ‘सडक, भ्यु–पोइन्ट, गेस्ट हाउसलगायत पूर्वाधार निर्माणका कामसमेत अघि बढाएका छौं ।’
सन्दकपुर गाउँपालिका भौगोलिक रूपमा विकट भएकाले सडक विस्तार नै यहाँको पहिलो आवश्यकता हो । इलाम सदरमुकामबाट माइपोखरी हुँदै सन्दकपुर जाने सडक व्यवस्थित गर्ने कार्य पनि यसै वर्ष सुरु भएकाले पर्यटकलाई अब सन्दकपुर गाउँपालिका पुग्न सहज हुने उहाँले बताउनुभयो । ‘सन्दकपुर डाँडामा यो वर्षदेखि बिजुली पुगेको छ,’ अध्यक्ष राईले भन्नुभयो ‘विद्युत् र सडक पु¥याउन सके यहाँका दर्जनौं पर्यटकीयस्थलले बजार पाउने छन् ।’

गतवर्ष यही द्वार भएर आउने पर्यटकको संख्या अघिल्लो वर्षको तुलनामा ४२.६ प्रतिशतले बढेको थियो । । गतवर्ष यहाँबाट १ लाख ३४ हजार ७७ पर्यटक इलाम आएका थिए । अघिल्लो वर्षभन्दा ४० हजार हाराहारीले पर्यटकको संख्या बढेको केन्द्रको तथ्यांक छ । इलाममा यो मार्गबाट मात्र नभई पशुपतिनगर, सन्दकपुर र पाँचथरतिरबाट पनि पर्यटक आउँछन् । तर, अन्य सडकबाट आउने पर्यटकको तथ्यांक भने कतै राख्ने गरिएको छैन । 

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.