झापा । चर्चित धार्मिकस्थलहरु, मानवीय प्रयासमा विकसित बन्दै गरेका सीमसारहरु, सुन्दर प्राकृतिक छटा र पर्याप्त भौतिक पूर्वाधारको संगमले झापा पछिल्लो समयमा ‘पर्यटन हब’ बन्दै गएको छ । आन्तरिक तथा बाह्य पर्यटकका लागि प्रशस्त गन्तव्यहरु रहेकै कारण पनि झापा यतिबेला घुमन्तेहरुका लागि पहिलो रोजाइमा पर्न थालेको हो ।
धार्मिक र पुरातात्विक महत्वका ठाउँ अवलोकन गर्न रुचाउने पर्यटकका लागि झापा पनि उपयुक्त गन्तव्य बन्ने आशा स्थानीयबासीमा छ । नेपालको सबैभन्दा होचो स्थान केचनादेखि धार्मिक, पौराणिक एवँ ऐतिहासिक पर्यटकीयस्थलको अनुपम संगम हो झापा । जिल्लामा केही मुख्य पर्यटन केन्द्र छन् जसले धेरैको मन लोभ्याइरहेको छ ।
तराई र पहाडको मिलन विन्दूका रुपमा रहेको दोमुखा दृश्यावलोकनका लागि पूर्वको उत्कृष्ट गन्तव्य हो । झापाको शिवसताक्षी र कनकाई नगरपालिकामा पर्ने दोमुखा इलामको उत्तरी सीमासँग जोडिएको छ । दोमुखामा बाह्य पर्यटकको पनि उत्तीकै आगमन हुनेगर्छ । दोमुखा पूर्वपश्चिम राजमार्गको माईधारबाट उत्तरतर्फ ३ किलोमिटर कच्ची सडकबाट पुुग्न सकिन्छ । निरन्तर बग्ने माई खोलाको सौन्दर्यले यहाँ आउने पर्यटक घण्टौँ बिताउने गर्छन् । दोमुखा पूर्व रहेको भुरुङ्गामा वनभोजका लागि आउने पर्यटकलाई पनि दोमुखाको मनोरम दृष्यले मोहित बनाउँछ । वनभोजको सिजनमा यस क्षेत्रमा दैनिक ७ हजार भन्दा बढी पर्यटक आउने स्थानीय जय उप्रेती बताउँनुहुन्छ ।
शिवसताक्षी नगरपालिकाले पर्यटन विकासका लाति यस क्षेत्रमा अहिलेसम्ममा १ करोड रुपैयाँ लगानी गरेको शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले बताउनुभयो । उक्त रकमले पार्क निर्माण गरिएको प्रमुख शेर्माको भनाइ छ ।
झापाको जामुनखाडी सिमसार नमूना सिमसारको रुपमा चिनिने गर्छ । पछिल्लो समय आन्तरिक पर्यटकले निक्कै रुचाएको स्थल हो यो । कनकाई नगरपालिका–१ र २ मा अवस्थित जामुनखाडी पूर्व पश्चिम महेन्द्र राजमार्गबाट १ किलोमिटर उत्तरमा पर्छ । स्थानीयले जामुनखाडी सामुदायिक वनभित्रको केही भागलाई सिमसार क्षेत्र घोषणा गरी पर्यटकीय स्थलका रुपमा विकास गरेका हुन् । सिमसार क्षेत्रमा रहेका तालमा डुंगा चढ्न र संरक्षित वन्यजन्तुको अवलोकन गर्न आउनेबाट संकलन हुने शुल्क बापतको आम्दानीले उक्त सिमसार क्षेत्र समृद्ध बन्दै गएको छ ।
सिमसारमा दैनिक एक हजारको हाराहारीमा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । ३४ हेक्टर क्षेत्रफलको जामुनखाडी सामुदायिक वन अन्तर्गत ४ सय हेक्टर क्षेत्र ओगटेको यो सिमसार पर्यटकीय गन्तव्य बन्दै गएको हो । जामुनखाडी सिमसार क्षेत्रमा ऐतिहासिक महत्वका गङ्गा–जमुना पोखरी छन् । ४ बिगाह क्षेत्रफलको मध्यभागमा रहेको जमुना पोखरी पर्यटकहरुको आकर्षणको केन्द्रका रुपमा विस्तार हँुदैछ । पोखरीमा नौका र डुङ्गा सञ्चालन गरिएको छ । विभिन्न ठाउँबाट हरिण, चितुवा, भालु, अजिङ्गर, अस्ट्रिच, खरायोलगायतका जीवजन्तु ल्याएर ‘मिनी जू’ समेत निर्माण गरिएको छरु। एकै दिनमा २ सय बढी अटाउन सक्ने पिकनिक स्पट पनि रहेको छ।
पुरातात्विक महत्व बोकेको झापाको धार्मिक तथा ऐतिहासिक स्थल किच्चकबध क्षेत्र पर्यटकीय आकर्षणको केन्द्र हो । यहाँ ऐतिहासिक महत्व बोकेका २२ सय वर्ष पुराना संरचना रहेका छन् । छेउमै मेची नदी र वरिपरि देवीदेवताका मन्दिर रहेकाले पनि यसलाई आन्तरिक र बाह्य पर्यटकले रुचाएका हुन् ।
महाभारतकालीन घटनासँग जोडिएको किच्चकबधमा वि।सं।२०५६ सालबाट पुरातत्व विभागले उत्खनन् सुरु गरेको थियो । किच्चकबधमा २०७३ सम्ममा १४ औँ शताब्दीका विभिन्न हतियारसहित घरायसी सामाग्री फेला परेपछि संरक्षण गर्न प्रशासनलाई जिम्मा लगाइएको थियो । साविक जिविसबाट २०६५ सालमा प्राप्त भएको ५ लाख रुपैयाँले पोखरी निर्माण गरिएको किच्चकबध ऐतिहासिक तथा धार्मिक संरक्षण समितिका अध्यक्ष दिलबहादुर थेवेले बताउनुभयो ।
२०६६ सालमा पर्यटन कार्यालय काँकडभिट्टाले किच्चकबध क्षेत्रको घेराबाराका लागि ६ लाख रुपैयाँ दिएको थियो । देउनिया खोलाको तटबन्धन निर्माणका लागि स्थानीय विकासबाट २०६३ सालमा १५ लाख, बाटो निर्माणका लागि २५ लाख र भवन निर्माणका लागि १२ लाख रुपैयाँ प्राप्त भएको अध्यक्ष थेवे बताउनुहुन्छ । प्रदेश सरकारले पनि उत्खननका लागि २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । विराट राजाको दरबार उत्खनन्, मन्दिर उत्खनन् गर्न सके पुरातात्विक महत्व बोकेको संरचना प्राप्त हुने अध्यक्ष थेवेको भनाइ छ ।
अर्को धार्मिक गन्तव्य हो अर्जुनधारा धाम । पूर्वको पशुपतिनाथका नामले चिनिने झापाको अर्जुनधारा–जलेश्वरधामको महत्व बृहत् छ । बिर्तामोडको मुक्ति चोकबाट पाँच किलोमिटर उत्तरमा रहेको अर्जुनधारा–जलेश्वरधाम झापाको मात्र नभएर देशकै प्रमुख धार्मिक पर्यटकीय क्षेत्रमध्येको एक हो । अर्जुनधाराधामको पर्यटकीयस्थलको ऐतिहासिक पृष्ठभूमि महाभारतको कथासँग जोडिएको छ । महाभारतको कथासँग इतिहास जोडिएको अर्जुनधारा–जलेश्वरधाममा अर्जुनले वाण हानेपछि पानी निस्किएर पोखरी बनेको विश्वास गरिन्छ । त्यहाँ रहेको पोखरीमा गाईले पानी पिउन लागेको प्रतिमाले पनि पर्यटकहरुलाई मोहित पार्छ । यहाँ प्रत्येक वर्ष बालाचतुर्दशी, शिवरात्री र साउन महिनाको प्रत्येक सोमबार ठूलो धार्मिक मेला लाग्दै आएको छ ।
झापाको कचनकवल गाउँपालिकामा अवस्थित केचनालाई नेपालको सबैभन्दा होचो ठाउँ मानिन्छ । पर्यटकीय महत्व बोकेको केचना समुन्द्री सतहबाट उचाई ५८ मिटर भन्ने उल्लेख छ । कतैकतै केचनाको उचाई अरु नै लेखिएको पाइन्छ । केचना दक्षिणपूर्व कुनामा र बंगालको खाडीबाट सबैभन्दा नजिक छ । चार बिगाह क्षेत्रफलमा फैलिएको केचनामा कछुवाको आकृतिमाथि २० फिट अग्लो स्तम्भ बनाइएको छ । यो स्तम्भ नेपाल–भारत सीमानाको ५ सयमिटर वर रहेको छ । तर, केचना अझैसम्म पनि ओझेलमै छ । यो क्षेत्रमा चार बिगाहा जमिन अत्यन्त होचो भएका कारण वर्षायाममा पानी जमेर दलदलमा परिणत हुने गरेको छ । केचनामा २०४४ साल पुस १६ गते तत्कालीन राजा वीरेन्द्र शाहको भ्रमणको अवसरमा २० फिट अग्लो स्तम्भ कछुवाको आकृतिमाथि स्थापना गरिएको थियो । यो ठाउँ नेपाल–भारत सीमानाबाट करिब ५०० मिटरको दूरीमा पर्छ । नेपालकै अल्पसंख्यक आदिवासी गनगाई जातिको समेत बसोबास रहेको केचना क्षेत्रमा दुईवटा ऐतिहासिक पोखरीहरू छन् । महाभारत कालमा विराट राजाले राज्य विस्तार गर्दा उनका सेनापतिले निर्माण गरेको विश्वास गरिने यी पोखरीहरूका कारणले पनि यस क्षेत्रको महत्व अझ बढेको छ ।
मेचीनगर–११ स्थित बाँसबारी सिमसार पनि पर्यटकीय स्थलका रूपमा विकास भएको छ । उक्त सिमसार क्षेत्रलाई संघीय सरकारले उत्कृष्ट एक सय पर्यटकीय क्षेत्रको सूचीमा सूचिकृत गरेको छ । वन समितिका उपभोक्ता, नगरपालिका, पर्यटन मन्त्रालय, साविक धाइजन गाविसलगायतको आर्थिक सहयोगमा सिमसारलाई व्यवस्थित पर्यटकीय स्थल बनाइएको होरु। सिमसारमा मासिक १० हजार पर्यटक आउने गरेको वन समितिका अध्यक्ष शम्भु राजवंशी बताउनुहुन्छ । सिमसारको पोखरीलाई व्यवस्थित गरी बोटिङ गर्ने बनाइएको छ । पोखरीमा ट्रस्ट ब्रिज राखिएको छ। फाउन्टेन, शिव मूर्ति, चिडियाखाना र गार्डेन बनाइएका छन् । वरिपरि फलैँचा, सेल्फी हाउस र चिल्ड्रेन पार्क पनि बनाइएको छ ।
सिमसारमा एकैपटक एक सय पिकनिक टोली अटाउन सकिने क्षेत्र पनि रहेको छ । सिमसार क्षेत्रमा व्यवस्थित पार्क, हात्ती, डाइनोसरलगायत विभिन्न जीवजन्तुको मूर्ति राखिएको छ । सिमसार क्षेत्रलाई पर्यटकीय स्थलमा विकास गराउँदा वन संरक्षण, उपभोक्तालाई रोजगारी, बाटो, खानेपानी, विद्युतको सुविधा तथा समग्रमा स्थानीय क्षेत्रको विकासमा ठूलो टेवा पुग्ने देखिन्छ ।