कृष्ण पहाडी
संखुवासभा र तेह्रथुममा भारी हिमपातका कारण जनजीवन अस्तव्यस्त भएको समाचार छयाप्छ्याप्ती भएका बेला डा. देवेन्द्रराज पाण्डे दम्पतीसहित हामी ६ जना २०७६ फागुन १३ गते संखुवासभाको तुम्लिङटार उत्रियौं। मौसममा बदलीका कारण केही दिनयता काठमाडौं-तुम्लिङटार उडान अस्तव्यस्त भएको रहेछ। हामी चढेको जहाज भोजपुरको छेउछाउ पुग्दासम्म आकाशमा बाक्लो बादल मडारिएको थियो। तर केहीबेरमै विशाल अरूण उपत्यकाको रमाइलो फाँट देखियो। सभाखोला शान्त तवरले बगिरहेको थियो। गहिरो अरूण सदा झैं वेगले दौडिरहेको थियो। अरूण उपत्यका, तुम्लिङटारलाई विश्वकै गहिरो उपत्यका भन्ने गरिन्छ (समुन्द्रीसतहबाट ४५७ मिटर उचाइ) साथै जैविक विविधताका लागि पनि अरूण उपत्यका प्रसिद्ध छ।
यसपटक हामी जलवायु परिवर्तन, विश्वव्यापी उष्णताबारे सचेतना र हिमालय बचाऊ नदी जोगाऊ आन्दोलनका क्रममा मानव अधिकार तथा शान्ति समाजद्वारा प्रदेश १ का पाँच जिल्लामा आयोजित कार्यक्रममा सरिक हुन निस्किएका थियौं। उडान अनिश्चितताका कारण दुई समूहमा बाँडिएका थियौं। पहिलो समूहमा डा. देवेन्द्रराज पाण्डे दम्पती, म, कवि अर्जुन पराजुली, सुवास ढकाल, उत्तम पुडासैनी थियौं। तुम्लिङटारनजिकै बगिरहेको अरूण नदीलाई मनकामना तटबाट नियालेपछि हामी जिल्ला सदरमुकाम खाँदबारीतिर लाग्यौं। मनकामना भन्नासाथ स्वर्गीय खेम गुरुङले गाएको ‘वारि जमुना पारि जमुना, जमुनाको फेदैमा मनकामना’ भन्ने लोकप्रिय गीत स्मरण भइहाल्यो। त्यतिबेला राम्रैसँग पानी पर्यो। केही बेरमा अरूण उपत्यका बादलको घुम्टो उघारेर मुस्कुरायो। सफा, स्निग्ध त्यहाँको माटोमा मोहक सुगन्ध थियो। वृक्ष बनस्पति वार्ता गरिरहेको प्रतीत हुन्थ्यो। खाँदबारीमा स्तरीय एउटा ठूलो होटल सञ्चालनमा रहेछ। शेर्पा चेलीहरूले रुद्राक्षका माला लगाइदिएर हाम्रो स्वागत गरे।
संखुवासभा अर्थात् मेरो जन्मस्थान जिल्ला। महालंगुर हिमालय शृंखलामा ८४८५ मिटर उचाइको विश्वको पाँचौं अग्लो शिखर मकालु मुस्कुराइरहेको मेरो मानसपटलमा प्रायश: सल्बलाइरहन्थ्यो। त्यसैले होला, ‘मेरो जन्मथलो मकालु काखमा …’ भन्ने कविता/गीत रचियो, गुनगुनाइयो। त्यही मकालुलाई अझ नजिकबाट चियाउन र त्यसका आँचलमा स्पर्श गर्न फागुन १५ गते बिहान शान्ति समाज संखुवासभाका सदस्यहरूसहित दुईवटा जिपमा १७ जनाको हाम्रो टोली मकालु गाउँपालिकातिर लाग्यो। रातभरको वर्षाले बाटो कहीं हिलाम्मे र कहीं चिप्लो थियो। सिमसिमे पानी छिचोल्दै तीन घन्टाको जिप यात्रापछि हामी मकालु गाउँपालिका पुग्यौं। जलवायु परिवर्तन, विश्वव्यापी उष्णताबारे सचेतना र हिमालय बचाऊ नदी जोगाऊ आन्दोलनअन्तर्गत मकालु गाउँपालिका नुमबाट अर्को चरणको अभियान प्रक्षेपण हुँदै थियो। नागरिक आन्दोलनका अगुवा अग्रज डा. देवेन्द्रराज पाण्डेले यस सम्बन्धमा शान्ति समाजले तयार गरेको पर्चा वितरण गरेर अभियान प्रारम्भ भयो। त्यो सानो बस्तीमा हामीले लागूऔषध/मदिरा दुर्व्यसनविरुद्ध अभियान र शान्ति हाम्रो अधिकार भन्नेसहित तीनवटा अवधारणापत्र वितरण गर्यौं।
कुनै बेला चीनसँग सीमा जोडिएका नेपालका सबै जिल्ला दुर्गमको श्रेणीमा पर्दथे। त्यसमध्ये एउटा जिल्ला थियो- संखुवासभा। त्यसभित्र पनि नुम उत्तरलाई अति दुर्गम र नुम दक्षिणलाई कम दुर्गममा वर्गीकरण गरिएको थियो। तिब्बत सिमाना जोडिएको संखुवासभाको किमाथांका नेपालकै केही दुर्गम गाउँमध्ये एक भनिन्थ्यो। नुम केन्द्र भएको मकालु गाउँपालिका अहिले पनि ‘क’ श्रेणीको दुर्गममा पर्दो रहेछ। वरुण उपत्यका छिचोल्दै किमाथांकासम्म मोटर बाटो निर्माण कार्य प्रारम्भ भएको छ। कुनै दिन मोटर चढेर किमाथांका पुग्ने रहर मैले सजाएको छु।
नुमबाट फर्कंदा केहीका हातमा चाँप र केहीका हातमा गुराँसका फूल देखिए। यसै पनि गुराँस फुल्ने बेला सुरु भएको छ। तेह्रथुम, संखुवासभा, ताप्लेजुङस्थित तिनजुरे, मिल्के, जलजले क्षेत्रलाई गुराँसको राजधानी भनिन्छ। संखुवासभास्थित मिल्के, जलजले क्षेत्रमा विश्वको सबैभन्दा अग्लो र सबैभन्दा होचो गुराँसका रूख अस्तित्वमा रहेको भन्ने चर्चा यदाकदा सुनिन्छ भने त्यस क्षेत्रमा सबैभन्दा बढी प्रजातिका गुराँस पाइने दाबा कतिपयले गर्दै आएका छन्।
संखुवासभाको उत्तरी क्षेत्रमा अवस्थित मकालु वरुण राष्ट्रिय निकुञ्ज क्षेत्रमा लोपोन्मुख अवस्थामा पुगेको दुर्लभ रेडपाण्डा अर्थात् रातो हाब्रे ४० को हाराहारीमा रहेको तथ्य प्रकाशमा आएको थियो। २५ सयदेखि पाँच हजार मिटरको उचाइमा बस्न रुचाउने लजालु स्वभावको त्यो सुन्दर प्राणी मलाई असाध्यै प्यारो लाग्छ। मेरो जन्मथलो संखुवासभा कतिपय कारणले चर्चित छ। गुराँसको राजधानी हुनुका साथसाथै अनौठो प्रकृतिका पोखरीका कारण पनि संखुवासभामा चर्चित छ। त्यस्तै एउटा अनौठो प्रकृतिको पोखरी हो- सभा पोखरी। कञ्चन निर्मल जल र मनमोहक वातावरणका लागि प्रसिद्ध पवित्र सभापोखरीसम्मको यात्रा तय गर्न खाँदबारीबाट झन्डै तीन दिन पैदल हिँड्नुपर्ने रहेछ। झन्डै ६० वर्षअगाडि मादीबाट चार-पाँच दिन पैदलयात्रा गर्दै र ओढारमा वास बस्दै सातुका भरमा सभापोखरीसम्म मेरा आमा-हजुरआमाले गरेको यात्राको रोमाञ्चक विवरण मैले सानैमा सुनेको थिएँ।
ताराबहादुर बुढाथोकीद्वारा लिखित÷सम्पादित २०६६ सालमा प्रकाशित संखुवासभा एक चिनारी शीर्षकको पुस्तकमा संखुवासभाबारे विविध जानकारी समेटिएको छ। सबैभन्दा सेतो पोखरीका रूपमा दूधपोखरी विख्यात छ। वरुण नदी मकालुको फेदमा वरुण ग्लेसियरबाट नि:सृत हुन्छ यद्यपि कतिपयले वरुण नदीको शिर भन्छन् दूधपोखरीलाई। यस्तै ४३१० मिटरको उचाइमा वरुण उपत्यकामा अवस्थित शिवधारालाई अनौठो छाँगाका रूपमा चित्रण गरिन्छ भने अनौठो गुफाकम रूपमा खेम्पालुङ प्रसिद्ध रहेछ। यसैगरी हटियास्थित पोप्टी भञ्ज्याङलाई सबैभन्दा अग्लो ठाउँमा रहेको भञ्ज्याङका रूपमा चित्रण गर्नेहरू पनि छन्।
हामी खाँदबारी फर्किएलगत्तै मेरा बुबा बद्रीप्रसाद, भतिज वरुण, शान्ति समाजका गोविन्द खनाल, सुशील बस्नेत, डिकप्रसाद घिमिरे र कवि सुदेश सत्यालसम्मिलित दोस्रो टोलीसँग होटलमा साक्षात्कार भयो। मादी विद्यालयले आयोजना गर्ने एक विशेष कार्यक्रममा भाग लिने सिलसिलामा ८४ वर्षीय बुबाका लागि विराटनगरबाट तुम्लिङटारको हवाई टिकट काटिएको थियो तर सम्बन्धित एयरलाइन्सले केही दिन पहिले उक्त उडान रद्द भएको जानकारी दिएपछि विराटनगरबाट काठमाडौ हुँदै तुम्लिङटार पुग्ने योजना बनाइएको थियो। ५७ वर्षअगाडि पहिलो जिल्ला पञ्चायत सभापतिका रूपमा बुबा बसेको खाँदबारी अहिले धेरै गुणा विस्तार भइसकेको छ। हामी बसेको होटलमा अहिले धेरै चहलपहल छैन। त्यसको एउटा कारण कोरोना भाइरसको सन्त्रास भएको ठम्याइ छ।
संखुवासभा जिल्ला रुद्राक्षका लागि प्रख्यात छ। सबैभन्दा बढी मुख भएको रुद्राक्षको दाना अर्थात् ३२ मुखे दाना पनि संखुवासभामा फेला परेको भनिन्छ। रुद्राक्ष व्यापारका लागि चिनियाँहरू संखुवासभा आउँथे। सायद कोरोनाले होला चिनियाहरूको अत्तोपत्तो छैन। त्यसो त, केही साताअगाडि तिब्बत सीमान्त सिन्धुपाल्चोक जिल्लाको हेलम्बु क्षेत्रको भ्रमण गरेका थियौं। त्यतिबेला सीमान्त गाउँमा दुई सयजना बिरामी भएको र कोरोना फैलिएको हल्ला सुनियो तर त्यो हल्ला मात्र थियो। हामी मकालु गाउँपालिका टेकेर फर्किसकेका छौं। हेलम्बु होस् वा मकालु क्षेत्रको जनजीवन सामान्य छ तर अफवाह भने शेष नेपालमा व्याप्त छ। कोरोना भाइरस संक्रमण हुन नदिन पूर्व सतर्कता र सावधानी नितान्त आवश्यक छ। साथै स्वस्थ भोजन र सफाइ पनि। हाम्रो समाजमा कागले कान लग्यो भन्दा कागका पछाडि दगुर्ने जमात पनि छ। अफवाहको खेती गर्ने र अरेमा मनोरञ्जन गर्नेहरूको संख्या पनि ठूलो छ। संकटका बेला कसैले पनि संयम गुमाउनु हुँदैन। जतिसुकै महासंकट आइलागे पनि सेवा भाव विस्थापित हुनु हुँदैन। मानवता पराजित हुनु हुँदैन।
फागुन १६ को बिहान शान्ति समाजका दुई दर्जन बढी सदस्य सदरमुकाम खाँदबारीस्थित कार्यक्रमस्थलवरपर सफाइमा निस्किए। बागमती सफाइको अनुभवसमेत समेटेका शान्ति समाजका सदस्यहरूलाई खाँदबारीमा सफाइ अभियानमा उत्रिँदा स्थानीयहरूको उदासीनता अनौठो लागेछ। कोरोना संक्रमण रोक्ने हो भने सफाइ अभियानलाई अझ तीव्रता दिन आवश्यक छ।
१६ गते मध्याह्न हिमालय बचाऊ अभियानमा केन्द्रित रही डा. देवेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यमा खाँदबारीमा नागरिक सभा सुरु भयो। वातावरण संरक्षणका विषयमा केन्द्रित रही कवि अर्जुन पराजुलीबाट बगेको काव्यधाराले खाँदबारी गुञ्जायमान भयो। यस्तै अर्का छन्दकवि सुदेश सत्यालले मेरो जन्मथलो मकालु काखमा… लयात्मक हिसाबमा गाउँदा म भावविभोर भएको थिएँ। एक दशकअगाडि मैले लेखेको ब्रह्माण्ड यो सुन्दर शीर्षकको उक्त कविता कसैले गाइदिए÷वाचन गरिदिए हुन्थ्यो भन्ने उत्कट अभिलाषा मेरो थियो। मलाई छन्द आउँदैनथ्यो तसर्थ उक्त कविता पनि छन्द न बन्दको हुन पुगेको थियो। मेरो चाहना बुझेपछि सुदेश सत्यालले मेरो त्यो कविताको भाव समेटेर झटपट छन्दमा ढालिदिए। आफूले रचना गरेको र सत्यालले परिमार्जन गरिदिएको गीति कविता आफ्नो जन्म जिल्लामा घन्किँदा म रमाएँ। नागरिक सभा सकिएपछि मैले आफूले लेखेका दुई दर्जन बढी पुस्तकहरू स्थानीय शैक्षिक प्रतिष्ठानलाई प्रदान गरें। आफूसँग भएका पुस्तकहरू दान गर्दै जाने मेरो योजना छ।
फागुन १५ गतेको वास सांस्कृतिक नगरी चैनपुरमा बस्ने योजनाअनुरूप हामी १२ जना चैनपुरतिर लाग्यौं। खाँदबारीदेखि तुम्लिङटारसम्मको फाँट र हरियाली औधि रमाइलो लाग्यो। अरूण र सभाखोलालाई दाहिने छाडेर हामी चैनपुरतिर हानियौं। पाश्र्वमा सेताम्मे हिमाल, सँघारमा हरियाली, आँगनमा ढकमक्क बारी र कान्ला, कलकल कुलो, मूल फुटेर बगेका धारा÷पँधेरा अनि सिउँदोमा रेखी हालेका जस्ता मलिला खेत देख्दा मन प्रसन्न भयो, हृदय पुलकित भयो। कुनै बेला करुवाका लागि प्रसिद्ध चैनपुर सांस्कृतिक तवरमा पनि समृद्ध मानिन्थ्यो। त्यही चैनपुरमा हामीले हिमालय बचाऊ सम्बन्धी पर्चा वितरण गर्यौं। चैनपुरस्थित सिद्धकालीबाट हेर्दा पारिपट्टि डाँडामा अवस्थित मादी झनै मोहक देखिन्थ्यो। चैनपुरको डाँडाबाट मादी माध्यमिक विद्यालयको सुन्दर भवन प्रस्ट देखियो।
साभार: अन्नपूर्ण पोष्टबाट