भेडेटारमा सुरु भयो साहासिक खेल जिपलाइन

March 7, 2020     Paryatan Yatra

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले पूर्वको पर्यटकीय भेडेटार बजारमा  शनिवार साहासिक पर्यटकीय खेल जिपलाइनको उद्घाटन गर्नु भएको छ । भेडेटार  बजारदेखि देवीथान डाँडासम्म ६ सय ५० मिटर लामो जीपलाइन सुरु भएको हो । कार्यक्रममा सहभागि धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारीले जीपलाइनको अनुभव लिनुभएको थियो । यो खेलले प्रदेश १ को पर्यटन विकासमा टेवा पु¥याउने उहाँको भनाइ थियो ।

जीपलाइनको उद्घाटन गर्दै मुख्यमन्त्री राईले प्रदेशमै नयाँ साहसिक पर्यटकीय खेल भित्रीएको भन्दै प्रचारप्रसारमा जोड दिन आग्रह गर्नु भयो । उहाँले निजी क्षेत्रले पर्यटन क्षेत्रमा लगानी गर्ने वातावरण बनाउ प्रदेश सरकारलागी परेको बताउनु भयो । उहाँले प्रदेश १ का अन्य डाँडाकाँडा तथा विकट स्थान समेत यस्ता साहसिक खेल राख्न आग्रह गर्नु भयो । निजी क्षेत्रको सहकार्यमा धरान भेडेटारका आसपासका क्षेत्रमा केवलकार तथा स्काई वाक समेत निमार्णको तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।वल्ड वाइड गु्रप नेपाल प्रालि धरान–४ ले करिब ७ महिनामा जिप लाइनको सुरुवात गरेको हो । प्रालिका सञ्चालक केदार थापा, यम राई, डोलिका लिम्बू, विवस भण्डारीले भेडेटारमा २ वर्ष अध्ययन गरेर जिप फ्लाइङको सुरुवात गर्नुभएको हो । करिब ३ करोडको लगानीमा भौतिक निर्माण सम्पन्न गरेको प्रालिका सञ्चालक केदार थापाले बताउनुभयो ।

जीपलाइनमा टेकअफ पोइन्टदेखि ल्याण्डिङ पोइन्टसम्म आइपुग्न करिब ३०–४० सेकेण्ड  लाग्ने सञ्चालक थापाले बताउनु भयो । उहाँका अनुसार जिपलाइनमा ३ प्रकारको सुविधा हुने छन् । जसमा क्लासिक, सुपरम्यान र कपल जिपलाइन हुन्छ । क्लासिकमा एकजना बसेर फ्लाइङ गर्छन भने सुपरम्यानमा उडेझै गरी फ्लाइङ गराइन्छ ।  त्यस्तै कपलमा जोडीले बसेर फ्लाइङ गरीन्छ । क्लासिकको १२ सय, सुपरम्यानको १५ सय र कपलको १८ सय रुपैया तोकिएको छ । थापाले सुरुवाती चरणमा २० प्रतिशतसम्म छुटको व्यवस्था गरीएको बताउनु भयो । यो खेलमा १० वर्षदेखि ७५ वर्ष उमेरसम्मकाले मज्जा लिनसक्ने छन् ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.