प्रदेश १ होटलहरू खाली, दैनिक ५ करोड घाटा

March 18, 2020     Paryatan Yatra

विराटनगर । विश्वभर महामारीका रूपमा फैलिएको कोरोनाको प्रत्यक्ष असर प्रदेश–१ का होटलहरूमा देखिएको छ । मुलुक संघीयतामा गएसँगै प्रदेश–१ मा होटल क्षेत्रमा व्यापक लगानी भएको थियो । कोरोनाका कारण यतिबेला प्रदेशका होटलहरूमा १० प्रतिशसमेत ग्राहक आएका छैनन् । कोरोना त्रासले होटल व्यवसायलगायत पर्यटन गतिविधिमा ९० प्रतिशतले गिरावट आएको व्यवसायीहरूले दाबी गरेका छन् ।

प्रदेश–१ मा होटल व्यवसायमा मात्र १० अर्बभन्दा माथिको लगानी छ । यो प्रदेशमा साना ठूला गरी ५ सयभन्दा बढी होटल रहेका छन् । पर्यटकहरूलाई बस्न योग्य होटलको संख्या मात्र ३ सयको हाराहारीमा छ ।

केन्द्र सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० सँगै होटल व्यवसायीहरू उत्साहित भएका थिए । यस क्षेत्रमा नयाँ होटलमा करोडौंको लगानी भित्रिएको थियो भने पुराना होटलहरूले समेत लगानी थप गरी सेवा सुविधा वढाएका थिए । तर, एकाएक फैलिएको कोरोनाका कारण अहिले व्यवसाय नै संकटमा पर्ने अवस्था सिर्जना भएको छ । यो प्रदेशमा सञ्चालनमा रहेका होटलहरूले मात्र प्रत्यक्ष रूपमा १० हजारभन्दा बढीलाई रोजगारी दिएको छ । अहिले यो प्रदेशका होटलहरूले दैनिक ४ देखि ५ करोड घाटा व्यहोनु परेको क्षेत्रीय होटल संघका अध्यक्ष राजन श्रेष्ठले बताउनुभयो ।

विराटनगर होटल व्यवसायी संघ र क्षेत्रीय होटल व्यवसायी संघले सोमबार मात्र बैठक गरी ९० प्रतिशत होटलहरू खाली रहेको भन्दै प्रदेश र केन्द्र सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । यस क्षेत्रका होटलका ग्राहक भनेका सबैभन्दा बढी भारतीय हुन् भने यस क्षेत्रका हुने सभा, सेमिनार, तालिम, गोष्ठीले होटलहरू चल्दै आएका थिए । केन्द्र सरकार, प्रदेश सरकारमात्र हैन स्थानीय सरकारहरूले समेत सभा सम्मेलन नगर्न उर्दी जारी गरेका छन् ।

व्यवसायीहरूले सरकारसँग संकटकाल घोषणा गरी सहायता व्याकेजहरू ल्याउन माग गरेका छन् । उनीहरूले बैंकको ब्याजमा सहुलियत दिलाउन आग्रह गर्ने भएका छन् । यसैगरी किस्ताको समय सार्ने व्यवस्था गर्न माग गरेका छन् । कोरोनाका कारण होटलहरू खाली रहेकाले सरकारलाई बिरामी राख्ने आइसोलेसन केन्द्र बनाउनसमेत आफूहरू होटल दिन तयार रहेको होटल व्यवसायी भविसकुमार श्रेष्ठले बताउनुभयो । 

व्यवसायीलाई सचेतता अपनाउन आग्रह गर्दै काउन्टरमा बस्नेले बारम्बार स्यानटाइजर प्रयोग गर्न, सिरक, डसना बारम्बार परिवर्तन गर्न तथा कोरोनाको लक्षण भएको ग्राहक आएमा उपचार गर्नसमेत भनिएको छ ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.