धनकुटाको जितपुर बजारमा रुद्राक्षको स्तम्भ

March 22, 2020     Paryatan Yatra

धनकुटा । धनकुटा जिल्लाको उत्तरपूर्वमा रहेको जितपुर बजारमा रुद्राक्षको दानाको स्तम्भ बनाइएको छ । महालक्ष्मी नगरपालिका७ मा रहेको जितपुर बजारमा करिब ८ लाखको लागतमा ६ मुखे चिल्लो थेप्चे आकारको रुद्राक्षको दानाको स्तम्भ बनाइएको हो । यसक्षेत्रका तत्कालीन  ६ वटा गाविसहरू मिलेर पछिल्ल्लोपटक महालक्ष्मी नगरपालिका बनेको हो ।

जितपुर बजारमा बनाएको रुद्राक्षको दाना पनि ६ मुखे नै रहेको छ । अर्खौलेजित्पुर, मूर्तिडुंगा, लेगुवा, चानुवा, डाँडागाउँ र मारेकट्हरे गाविसहरूलाई मिलाएर महालक्ष्मी नगरपालिका बनाएको हो ।

धार्मिक महत्व वोकेको रुद्राक्ष पछिल्लो समय आयआर्जनको माध्यमसमेत बन्न पुगेको छ, महालक्ष्मीका मेयर पर्शुराम नेपालले भन्नुभयो, ‘यसलाई हामीले यहाँ पर्यटनसंँग पनि जोड्ने प्रयास गरेका हौं । नगरपालिकाले यो स्तम्भ बनाएसँगै यहाँ पुग्ने जोकोही रुद्राक्षको दानामा सेल्फी खिच्न छुटाउँदैनन् । नगरपालिका क्षेत्रमा रुद्राक्षको व्यावसायिक खेतीलाई प्रोत्साहन गर्नसमेत स्तम्भ बनाएको मेयर नेपालले बताउनुभयो ।

महालक्ष्मी नगरपालिकाले यो स्तम्भसँगै नगर क्षेत्रमा रहेका अन्य पर्यटकीयस्थलहरूको समेत भौतिक विकासलाई प्राथमिकतामा राखेको छ । जितपुर बजारको शिरमा करिब डेढ करोडको लागतमा महालक्ष्मीको मन्दिर बनाइँदैछ भने वडानम्बर ७ र ६ को बीचमा रहेको गडीमा वनझाँक्री पार्कको निर्माण गरिने भएको छ । करिब साडे तीन करोडको लागतमा उक्त पार्क बन्न लागेको मेयर नेपालले बताउनुभयो । यसैगरी लाटीभञ्याङमा पोखरीसहित नागेश्वरको मूर्ति बन्ने भएको छ । महालक्ष्मीकै रामबजारमा रामको स्मारण बनाइने भएको छ । नगर क्षेत्रका पर्यटकीय स्थलहरूको नयाँ निर्माण, जीर्णोद्वार, मर्मतसम्हार जस्ता काम सकिएपछि महालक्ष्मी पर्यटकहरूको आकर्षक गन्तव्य बन्ने मेयर नेपालको बताउनुभयो ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.