भम्रण वर्ष खारेज, वैशाखदेखि सचिवालय विघटन

March 31, 2020     Paryatan Yatra

काठमाडौँ — कोरोनाको प्रभावका कारण सरकारले भम्रण वर्ष २०२० खारेज गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन सचिव केदारबहादुर अधिकारीले भम्रण वर्ष खारेज गरिएको बताउँदै यो वर्ष केही कार्यक्रम नहुने बताए ।

यसअघि फागुन १८ गते उपप्रधानमन्त्री इश्वर पोखरेलको नेतृत्वको नोभल कोरोना रोगथाम तथा नियन्त्रण उच्च स्तरिय समन्वय समितिले भम्रण वर्षलाई तत्काल स्थगन गर्ने निर्णय गरेको थियो। ‘यो निर्णयपछि नेपाल सरकारले चैत ९ गते भम्रण वर्ष कार्यक्रम स्थगित गर्ने निर्णय गरेको थियो,’ पर्यटन सचिव अधिकारीले  भने, ‘बैसाख १ गते देखि सुरज वैद्य नेतृत्वको सचिवालय पनि बिघटन हुनेछ।’

उनका अनुसार योबीचको अवधि कर्मचारीहरुको तलब, भुक्तानी, हिसाबकिताब मिलान तथा बरबुझारथका लागि हो। भम्रण वर्ष सचिवालयले सबै कागजात भृकुटीमण्डपमा रहेको नेपाल पर्यटन बोर्डलाई बुझाउने उनले बताए। सरकारले यस वर्ष भम्रण वर्षका लागि ६५ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो। वैद्यले हालसम्म करीब २० करोड रुपैयाँ खर्च गरिसकेको सचिवालयका एक कर्मचारीले बताए।

भम्रण वर्ष सचिवालयमा राजनीतिक नियुक्ति र वैद्यले राखेका २२ जना कर्मचारी छन्। यो अभियान संचालन गर्न पर्यटन मन्त्री योगेश भट्टराईको नेतृत्वमा करीब एक सय संस्था तथा व्यक्तिको मूल आयोजक कमिटि थियो भने सचिवालय संचालनका लागि १९ जना कार्यक्रम कार्यान्वयन उपसमितिमा थिए ।

सचिवालय सदस्य सचिव बच्चुनारायण श्रेष्ठले हालसम्म गरेका कामसहितको प्रतिवेदन मन्त्रालयलाई बुझाउने र भौतिक सामाग्री पर्यटन बोर्डमा दिइने बताए। सचिवालयको आफ्नै कार्यालय भवन थिएन। केशरमहलमा राखिएको सचिवालय पछिल्लोपटक नागपोखरीस्थित निजी घरमा राखिएको थियो।

कोरोना भाइरसको संक्रमण विश्वभर बढ्न थालेपछि फागुन १८ को मन्त्रीपरिषदमै प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रमण वर्ष स्थगित गर्ने प्रस्ताव गरेका थिए। यसमा सहमति भएपनि औपचारिकरुपमा सरकारले कुनै निर्णय गरेको थिएन ।  साभार: इकान्तिपुर

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.