मुक्त जंगलमा चराको संसार

April 26, 2020     Paryatan Yatra

दृष्टान्त बिडारी

काठमाडौँ — कारोना भाइरसले फैलाएको विश्वव्यापी त्रासका कारण नेपाल सरकारद्वारा लगाईएको लकडाउनको पालना नियमबद्ध तरीकाले गरिरहेकै थिएँ । घरभित्रै बसेको कयौं दिनपछि भने मन थाम्न गाह्रो भयो । अनि म क्यामेरा लिएर घरबाट सबैभन्दा नजिकको जँगलमा गएँ ।

मानिसको उपस्थिति बिना शान्त भएर बसेका चराहरुको केहीथान तस्बिर लिएँ। चराप्रेमीका लागि लकडाउनको बेला यो पनि ठूलो उपलब्धि हो भन्न्ो लागेको छ।

लकडाउनले मानिसहरुलाई घर भित्र राखेको छ भने जीवजन्तुलाई खुल्ला। गाडी, कलकारखाना, मान्छेको जमात आदिले गर्दा हुने होहल्ला नभएरै होला आजभोलि सहरी इलाकामा पनि निकै चराहरु देखिन थालेका छन्। छोटो समयको लागि भए पनि खुला जंगलमा हुँदा त्यहाँ रहेको जीवजन्तु रमाई रहेको अनुभुति जो कोहिले गर्न सक्छ।

जंगलमा एकैछिन बस्दा लाग्यो, पृथ्वीले अहिले आफ्ना घाउहरु सुम्सुम्याउने मौका पाएको छ। यस्तो लाग्यो, मानौं हामीले बन्जर बनाइदिएको जमिनमा फेरि घाँस उम्रिदैछ। हामीले भाँचेर, काटेर क्षतविक्षत बनाएका रुखमा फेरि पालुवा पलाउँदैछ। शिकारीको प्रहारले घाइते भएका जनावरहरु सुस्ताउन पाएका छन्। र, चराहरु आनन्दले उड्न पाएका छन्। रुखका फल र फूलमा पूर्णत चराहरुको हक कायम भएको छ, मानिसको कब्जाबाट जंगल बल्ल मुक्त भएको छ।

साभारः इ कान्तिपुर

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.