अबको विकल्प आन्तरिक पर्यटन: व्यवसायी

April 28, 2020     Paryatan Yatra

काठमाडौँ – कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण स्थगित भएको नेपाल भ्रमण वर्ष २०२० का लागि बिनियोजित बजेट सरकारले लकडाउन सकिएपछि आन्तरिक पर्यटन उकास्नका लागि खर्चिनु पर्ने पर्यटन व्यवसायीले बताएका छन् । कोरोना भाइरसको मारमा परेको नेपाली पर्यटन व्यवसायलाई जीवित राख्नका लागि आन्तरिक पर्यटन एकमात्र विकल्प भएको उनीहरुले बताएका छन् ।

एक्सेलट्रिप नेपालले आन्तरिक पर्यटन र जीवित रहने रणनीति ‘राम्रो भविष्यको निम्ति प्रभावकारिता र जीवित रहने मार्गचित्र’ विषयमा सोमबार गरेको अनलाइन सेमिनार (वेबिनार) मा सहभागी भएका पर्यटन व्यवसायीले सरकारको ध्यान अब आन्तरिक पर्यटन उकास्नका लागि हुनु पर्ने बताएका हुन् ।

तीव्र गतिमा बिस्तार भइरहेको अनलाइन ट्राभल प्लाटफर्म एक्सेलट्रिपले गरेको वेबिनारमा पर्यटन व्यवसायी कर्ण शाक्य, नेपाल ट्रेकिङ्ग एजेन्ट संघका अध्यक्ष खुम सुबेदी, नेपाल पर्यटन बोडका पुर्व कार्यकारी प्रमुख दिपक राज जोशी, होटेल संघ नेपालका प्रथम उपाध्यक्ष विनायक शाहसहितको सहभागिता थियो ।

व्यवसायी शाक्यले आन्तरिक पर्यटन विकासका हेतु सरकारले ‘नेपाल भ्रमण वर्ष’ का लागि छुट्याएको बजेट आन्तरिक पर्यटनमा लगानी गर्ने र नेपाल पर्यटन बोडले धार्मिक, साँस्कृतिक, प्राकृतिक र ऐतिहासिक गन्तव्य स्थलहरूको नेपाली भाषामा भिडियो बनाउनु पर्ने बताए ।

उनले भने, ‘पर्यटन मन्त्रालयले भिन्दै अनुसन्धान ईकाइ खोलेर नेपालको कुनाकाप्चामा रहेका अनगिन्ती सांस्कृतिक, प्राकृतिक सम्पदा र खानाका परिकारहरूको कार्यसूचि बनाउनु पर्छ । प्रदेश सरकारले पर्यटनको गन्तव्य बनाउँदा कोलाहल शहरी परिदृश्यमा हैन, स्वस्थ शान्त गाँउ बस्तीको वातावरणलाई प्राथमिकता दिनु पर्छ ।’

यस्तै होटेल संघ नेपालका प्रथम अध्यक्ष विनायक शाहले अब नेपालीलाई सुहाउँदो प्याकेज ल्याउने होटेल संघको योजना रहेको बताए । सरकारको सहयोग रहे नेपालीले आगामी दिनमा देश भरि सर्वसुलभरुपमा बस्ने अवसर पाउने उनले बताए ।

एक्सेलट्रिप का राष्ट्र निर्देशक आदित्य बरालले सबै क्षेत्रहरु एकजुट भई यो संकटको घडीमा पर्यटन व्यवसायलाई आन्तरिक पर्यटन मार्फत जीवित राख्नु पर्ने बताए । वेबिनारको सहजिकरण एक्सेलट्रिप नेपालका उप–राष्ट्र निर्देशक शरद प्रधानले गरेका थिए । साभारः देश सञ्चारवाट

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.