काठमाडौं । नेपाल-भारत बीचको पर्यटनलाई कोरोना संकटपछि नयाँ गति दिने सम्बन्धमा पर्यटन टास्क फोर्स बनाइने भएको छ । नेपाल पर्यटन बोर्ड र भारतीय निजी क्षेत्रका पर्यटनसँग सम्बन्धित व्यवसायीहरूको छाता संगठनबीच भएको अनलाइन छलफलका क्रममा टास्कफोर्स बनाउने सहमति भएको हो ।
नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले भारतका पर्यटन संघ-संस्थाका प्रमुखसँग नेपाल-भारत पर्यटनलाई कोरोना संकटपछि नयाँ गति दिनेबारे छलफल गरेका हुन् ।
छलफलमा भारतीय पर्यटनका अगुवा ज्योति मयल, भारतीय ट्राभल एजेण्टस एसोसियनका अध्यक्ष पिपिखन्ना, भारतीय आन्तरिक पर्यटन टुर अपरेटर एसोसिएसनका अध्यक्ष क्याप्टेन स्वदेश कुमार सहभागी थिए । यसैगरी, भारतीय एड्भेन्चर टुर अपरेटर एसोसिएसनका अध्यक्ष प्रदीपलुल्ला, भारतीय ट्राभल एजेन्टस फेडेरेसनका अध्यक्ष महेन्द्र भखारिया, भारतीय आउटबाउण्ड टुर अपरेटर्स एसोसिएसनका निर्वतमान अध्यक्षले समेत छलफलमा भाग लिएको बोर्डले जनाएको छ ।
उक्त अवसरमा बोर्डका कार्यकारी प्रमुख डा. रेग्मीले वर्तमान संकटका समयमा नेपालमा भएका पर्यटकलाई आफ्नो देश फर्किन गरिएको कामका बारेमा जानकारी गराएका थिए । कोरोनाले नेपाली पर्यटन उद्योगको क्षतिका सम्बन्धमा बोर्डले गरिरहेको सर्भेक्षणबारे समेत उनले जानकारी दिए ।
नेपाल सरकारसँग पर्यटन उद्योगलाई राहत प्याकेजका लागि गरिरहेको पहलकदमी, नेपाली पर्यटन उद्योगलाई आगामी दिनमा आवश्यक हाइजिन स्यानिटेसनको व्यवस्थाका सम्बन्धमा समेत उनले जानकारी दिए । उनले नेपालमा बनिरहेका हिलस्टेसनको सम्बन्धमा समेत जानकारी दिए ।
यस्ता हिलस्टेसन भारतीय बजार लक्षित गरी बनाउन लागिएको उनको भनाइ छ । मझौला पहाडी भागमा नयाँ पर्यटकीय गन्तव्यको विकासका साथै ती स्थानमा मनोरञ्जनका आयामका लागि बोर्डले पहल गरिरहेको समेत उनले जानकारी दिए ।
कोरोनाको संकट सकिएपछि भारतीय पर्यटकको नेपाल भ्रमणका लागि चाहिने आत्मविश्वास बढाउन नेपालले गर्नुपर्ने सबै तयारीमा बोर्ड जुटेको उनको भनाइ थियो । भारतीय पर्यटनका व्यक्तिले संकटपश्चात भारतीय पर्यटक भ्रमणमा सामाजिक दुरी र सुरक्षाका विषयमा बढी सचेत हुने बताउँदै नेपालले गन्तव्यहरूमा यसको प्रवन्ध गरिराख्न आग्रह गरेका छन् । नेपालको यो संकटमा हालसम्म शून्य मृत्युको अवस्थाले आगामी दिनमा भारतीय बजारहरूमा राम्रो प्रभाव पर्ने भन्दै सुरक्षामा सचेत हुन आग्रह गरेका थिए ।
छलफलमा नेपाली र भारतीय ट्राभल उद्योगले समन्वयमा काम गरी भारतीय पर्यटकलाई नयाँ आत्मविश्वास प्रदान गर्नुपर्ने आवश्यकताका विषयमा सहमति भएको छ । नेपाली आतिथ्यता र सत्कारलाई नेपाली पर्यटनको आधार भएको मनन गरी नेपालको नयाँ परिचय स्थापित गराउने कार्यलाई तीव्रता दिनपनि सहभागीले अनुरोध गरेका थिए ।
बजारीकरण र प्रवर्द्धनका कार्यमा नेपाली र भारतीय समकक्षीहरूको संयुक्त प्रयास गराउन भारतीय पर्यटन संघ-संस्थाहरुले आफ्ना सदस्यलाई सकृय गराउने विषयमा समेत छलफल भएको छ । नेपाल-भारत पर्यटन टास्क फोर्स बनाउन बोर्डका कार्यकारी प्रमुखले प्रस्ताव गरेका थिए । यसलाई आगामी दिनको छलफलबाट टुङ्ग्याउने सहमति भएको छ । साभारः अनलाइन खबरवाट
घुमघाम मिडिया प्रा.लि. विराटनगर, मोरड.
पर्यटन यात्रा डट कम {paryatanyatra.com}
सूचना तथा प्रसारण विभाग दर्ता : १६१५-०७६-२०७७
अध्यक्ष: भविशकुमार श्रेष्ठ
प्रबन्ध सम्पादक: लीलावल्लभ घिमिरे
सम्पादक: निरज दाहाल
कार्यकारी सम्पादक : मीनकुमार नवोदित
व्यवस्थापक : ज्ञानमणि नेपाल ,फडिन्द्र अधिकारी
सम्पर्क ९८५२०२३४२२, ९८५२०२०२८७, ९८५२०५६७११, ९८५२०२३११५, ९८४२०२८०४९
पृष्ठहरु
लिंकहरू
हाम्रा बारेमा
पर्यटन यात्रा डट कम एउटा विशुद्ध पर्यटन न्युज पोर्टल हो । ‘विकासका लागि पर्यटन’ भन्ने मुल नारालाई सफल बनाउन पर्यटकीयस्थलहरूको समाचार, डकुमेन्टी, तस्बिरलगायतका सामग्रीहरूलाई बाहिर ल्याउनका लागि पर्यटन व्यवसायी र पत्रकारहरूको समूह मिलेर सुरु गरेको हो । यसमा पर्यटनका सबै खाले सामग्रीहरूलाई समेट्ने प्रयास गरिनेछ । साथै तपाईंहरूले समेत भिडियो र तस्बिरमा पर्यटनका प्रकाशन र प्रशारण योग्य सामग्री पठाउन सक्नु हुनेछ । त्यसका लागि हामीले मेरो तस्बिर र मेरो भिडियोका दुई कोलम राखेका छौं । त्यसमा तपाईंले paryatanyatrabrt@gmail.com मा सामग्री पठाउन सक्नु हुनेछ । ती सामग्री प्राथमिकताका साथ प्रकाशन तथा प्रशारण गर्नेछौं ।