भेडेटारको मौसममा रमाउने कोही छैनन् यसपालि

June 6, 2020     Paryatan Yatra

भेडेटार । विराटनगरलगायत अधिकांश क्षेत्रमा शुक्रबार दिनभरजसो पानी परिरहेको थियो । अघिल्ला वर्षमा जस्तो हो भने उधुम गर्मी हुनुपर्ने यो बेला तराइको मौसम अनौठो बनेको छ । केही दिन बिराएर पानी परिरहेको छ । शितल छ । जेठको गर्मी भोगेका अन्यत्रका बासिन्दाहरु यतिबेला तराइमा गर्मी छैन भन्दा छक्क पर्छन् ।
उता पर्यटकीय बजार भेडेटारको मौसम बेग्लै । छिनमा कुहिरोले भेडेटार बजार छपक्कै ढाकिन्थ्यो त छिनमा टन्टलापुर घामले तताउँथ्यो । केही बेरमै झरी सुरु हुन्थ्यो अनि अलि पछि जोडले हावा चलिरहेको थियो ।
यस्तो मिस्रित मौसम र हरियालीका बीच विगतमा यहाँको हरियालीमा रमाउनेहरुको घुइँचो हुन्थ्यो । समूह–समूहमा आउने आन्तरिक पर्यटकको चहलपहलले यो क्षेत्रमा बेग्लै रोमाञ्चक अवस्था बन्थ्यो ।
तर यसपालि सुनसान छ भेडेटार । कोरोना संक्रमण फैलने जोखिमका कारण सरकारले लकडाउन लागू गरेको छ । मानिसहरु कतै घुम्न जान पाएका छैनन् । यसैको असर अरु पर्यटकीयस्थल जस्तै भेडेटारमा पनि परेको छ ।
यहाँका अधिकांश होटलहरु बन्द छन् । ‘लकडाउनको पूर्ण रुपमा पालना गरेर डेढ महिनादेखि बपिसरहेका छौं,’ होटल एशोसिएशन भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दालीले भन्नुभयो, ‘अब त धेरै भइसक्यो, कति ढोका बन्द गरेर मृत्यु पर्खने ?’ भेडेटारमा करिब १५० साना–ठूला होटल । ६० भन्दा बढी होटलहरु पर्यटक बस्न योग्य छन् । डेढ महिनादेखि करिब ६ सय होटल मजदुरहरुको रोजीरोटी गुमेको छ । भेडेटारमा होटलहरुमा मात्र करिब १ अर्बको लगानी पुगेको छ ।
‘पर्यटक आउने सिजन सुरु भएसँगै कोरोना आयो,’ होटल एशोसिएशन भेडेटारका पूर्वअध्यक्ष लीला लाउतीले भन्नुभयो, ‘अब के गर्ने सबै अन्योलमा छौं, कहिलेसम्म बन्द गर्ने, ग्राहक नआए पनि होटलका ढोका बन्द भए पनि बैंकको ब्याज र साहुहरु आउन छोड्दा रहेछन् ।’
होटल ब्यवसायी महासंघ प्रदेश समितिका अध्यक्ष भविश श्रेष्ठ लगायतको टोलीले शुक्रबार भेडेटारमा व्यवसायीहरुसँग छलफल गरेको छ । ‘धेरै लामो समय भयो लकडाउन भएको पनि, सबै क्षेत्र खुल्न लागे तर होटल व्यवसाय क्षेत्रबारे सरकार मौन छ,’ अध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘अब हामी पनि निश्चित मापदण्ड बनाएर प्रदेशका सबै होटलहरु सञ्चालनमा ल्याउनुपर्छ भनेर छलफलमा जुटेका छौं ।’ अध्यक्ष सहितको टोलीले शुक्रबार सुनसरी र धनकुटाका होटल व्यवसायीहरुसँग छलफल गरेको थियो ।
संक्रमणका कारण लागू भएको लकडाउनको सबैभन्दा बढी मार होटल व्यवसायमा परेको छ । प्रदेशका प्रमुख पर्यटकीय स्थलहरु सुनसान छन् ।
तराईसँग सबैभन्दा नजिक रहेको प्रदेश १ को सुनसरी र धनकुटा जिल्लाको संगमस्थलमा पर्ने भेडेटार चहलपहलशून्य बनेको छ । धरानको जिरो पोइन्टबाट करिब १७ किलोमिटर उत्तरतर्फको उकालो पार गरेपछि भेडेटार पुगिन्छ । भेडेटार समुन्द्री सतहबाट १ हजार ४ सय २० मिटर उचाईमा छ । तराईको गर्मीबाट बच्न चिसो वातावरणमा रम्न र पहाडी एवं हिमाली भेगको सुन्दरता हेर्न आउनेहरु यसपालि देखिएका छैनन् ।
भेडेटारको भ्यू टावर अर्थात चाल्र्सप्वाइन्टबाट सप्तकोशीको मनोरम दृश्य, पूर्वी तराईका फाँटहरूका साथै सगरमाथा, मकालु, कञ्चनजङ्घा, कुम्भकर्ण जस्ता हिमशृंखलाहरू हेर्न आगन्तुकहरु झुम्मिने गरेका थिए ।
पहाडको टुप्पोमा अवस्थित सुन्दर भेडेटार बजार पूर्वपहाडी जिल्लाहरुको प्रवेशद्वार पनि हो । यहाँबाट धनकुटा सदरमुकाम पुग्न ३६ किलोमिटरको यात्रा गर्नुपर्छ । भेडेटारबाट पाँचथर जिल्लाको राँकेसम्मको निर्माणीधन सडक पूर्वतर्फ गएको छ भने धरानको विष्णुपादुका, आहाले हुँदै बराहक्षेत्र जाने निर्माणधीन सडक पश्चिमतर्फ गएको छ । उच्च पहाडमा रहेको बाह्रैमास चिसो हावा बहने हुनाले यहाँ गर्मी मौसममा शितल हावा खान र जाडो मौसममा पिकनिकको लागि आउने मानिसहरूको भीड लाग्ने गर्दथ्यो ।
यहाँको चिसो हावापानी र मनोरम प्राकृतिक दृश्य अवलोकनका लागि तराई क्षेत्र र भारतका गर्मी ठाउँहरूबाट दैनिक ३ हजारदेखि ५ हजारसम्म मानिसहरु आउने गर्थे ।
भेडेटार बजारबीच इतिहासकार इमानसिंह चेम्जोङको सालिक छ । भेडेटारको शिरमा शैलुङ्गडाँडा नामक एउटा अग्लो चुचुरो छ । २०३८ सालमा बेलायतका युवराज चाल्र्स शैलुङ्गडाँडाको टुप्पोमा चढ्नुभएको थियो । त्यसपछि यो डाँडाको नामै चाल्र्स प्वाइन्ट भयो । डाँडाको टुप्पोसम्म पुग्ने सिंढी बनाइएको छ । दृश्यावलोकन टावर बनाएको छ ।
भेडेटारबाट १० किलोमिटर नजिकै उत्तरपट्टि कोशी राजमार्गको नमस्ते मोडछेउमा रमणीय प्राकृतिक नमस्ते झर्ना छ । भेडेटारबाट केही पश्चिममा किराँतकालिन ऐतिहासिक सानगढी (साँगुरीगढी) र साँगुरी भञ्ज्याङ रहेको छ । गढीमा किराँतकालिन पुरातात्विक निशान, तोप तथा अन्य सामग्री पनि छन् । तर सुरक्षाको दृष्टिले त्यहाँ राखिएको छैन ।  साँगुरी भञ्ज्याङ्ग परापूर्वकालदेखिको तराई र पहाडको पैदल यातायातको मुख्य व्यापारिक तथा सामरिक मार्ग हो । स्थानीय तह र प्रदेशको संयुक्त प्रयासमा यसलाई नयाँ ट्रेकिङ्ग रुट बनाउन प्रयास भइरहेको छ ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.