धरान । दैनिक कामको धपेडी । जीविकोपार्जनको चिन्ता । अनेक खालका बेथिति अनि समस्याले गाँजेर दिक्क भएका बेला मान्छेले आनन्द अनुभूति गर्न चाहन्छ । शान्ति खोज्छ । तर कहाँ पाइन्छ त शान्ति अनि आनन्दको अनुभूति ? अवश्य पनि प्रकृतिसँग नजिक रहेर आफूलाई एकाकार गर्दा धेरै हदसम्म आनन्द हुन्छ । तनावबाट अलि टाढा भइन्छ । हो, यस्तै ठाउँ छ धराननजिकै । धरानको जिरो प्वाइन्टवाट पश्चिमतर्फको बाटो हुँदै करिब ५ किलोमीटर पार गरेपछि एउटा रमणीय स्थान पुगिन्छ । यहाँबाट सिंगो धरान बजार तमतन्न परेको देखिन्छ । वरपर सप्तकोसी नदी, धनकुटाको आहाले, भेडेटार र नाम्जेलाई समेत नियाल्न सकिन्छ । पछिल्लो समय भेडेटारको विकल्पका रुपमा लिन थालिएको यो रमणीय ठाउँको नाम हो– चिण्डेडाँडा । भेडेटारकै जस्तो मौसम भएका कारण अन्तरिक पर्यटकहरु चिण्डेडाँडा पुगेर रमाउन थालेका छन् । जिरोप्वाइन्टबाट जानकी चोक हुँदै सर्दुखोला तरेर उकालो लागेपछि चिण्डेडाँडा पुगिन्छ । जिरोप्वाइन्टबाट डेढ किलोमिटर कालोपत्रे सडकको यात्रा गरेपछि यहाँ जान कच्ची सडकमा यात्रा गर्नु पर्छ । सर्दुखोलामा पुल निर्माण भइरहेको छ । चिण्डेडाँडाको शिरमा भ्यूटावर निर्माण भइरहेको छ । यसको पश्चिमतर्फ विष्णुपादुका मन्दिर छ । यो डाँडाबाट केही समय अघिबाट प्याराग्लाइडिङ समेत सुरु भएको छ । प्याराग्लाइडिङको उडान भर्न थालेपछि यस क्षेत्रमा होटलहरु खुल्न थालेका छन् । यहाँ खुलेका होटलहरुमा खाजा र खानाको राम्रो व्यवस्था छ । चिण्डेडाँडा छिनमा कुहिरोले ढाकिन्छ । केही बेरमै सरर शितल हावा चल्न थाल्छ । दिनभर घाम–पानीको लुकामारी पनि चलिरहने यो क्षेत्रमा धरानमा गर्मी बढ्नासाथ शितल अनुभव गर्न जानेहरुको संख्या वढ्दो क्रममा छ । गर्मी छल्न मात्र होइन प्राकृतिक सौन्दर्यबीच रमाउन पनि यो क्षेत्र रोजाइमा पर्ने गरेको छ । धरानबाट नजिकै पर्ने भएकाले उतै गएर खाजा खाँदै प्रकृतिको सुन्दरताबीच रमाएर छोटो समयमै फर्कन सकिने कारण यो ठाउँ लोकप्रिय बनिरहेको छ । चिण्डेडाँडामा करिब २० लाखको लगानीमा अग्र्यानिक ‘चिण्डेडाँडा फार्म स्टे’ सुरु भएको छ । २ बर्षअघि सुरु भएको फार्म स्टेमा निकै मिठो खाने कुरा पाइन्छ । यहाँको प्रमुख परिकार हो बँधिया भालेको मासु । भाले यहीँ पालिएको छ । लोकल चामलको चाम्म्रे, तामा र गुद्रुकको अचार, अकवरे खुर्सानी निकै मिठो हुन्छ । यसका सञ्चालक कर्ण राई कोरोना भाइरसको संक्रमण जोखिमका कारण अहिले पर्यटक नआए पनि यसले धेरै सम्भावना बोकेका कारण लगानी गरेको बताउनुहुन्छ । कोरोनाका कारण थला परेको पर्यटन व्यवसायलाई कसरी तंग्रयाउने भन्ने छलफल गर्दै केही दिनअघि चिण्डेडाँडा पुग्नुभएका पर्यटन व्यवसायी एवं होटल व्यवसायी महासंघ प्रदेश १ का कार्यबाहक अध्यक्ष भविशकुमार श्रेष्ठ मुलुकमा तीन तहका सरकार बन्दासमेत पर्यटनको प्रचुर सम्भावना वोकेका स्थानहरुको पहिचान गर्न नसक्नु दुर्भाग्य भइको बताउनु हुन्छ । ‘देशमा तीन तहका सरकार वने तर हामी जहाँको त्यहीँ रह्यौं,’ उहाँले भन्नुभयो, ‘जबसम्म सरकारहरुले पर्यटकीय स्थलहरुको भौतिक संरचना निर्माणमा वजेट विनियोजन गर्न सक्दैनन् तबसम्म पर्यटन क्षेत्रको विकास नेता र मन्त्रीको मुखमा मात्र सीमित हुनेछ ।’ विष्णुपादुकासँग जोडेर चिण्डेडाँडाको विकासलाई अघि बढाउनु पर्ने उहाँको भनाइ छ । ‘यसलाई विष्णुपादुकासँग जोड्दै वीपी पार्क समेतलाई गरेर एक दिनको पैदल टुर प्याकेज बनाउन सक्दा धेरै राम्रो हुन्छ,’ श्रेष्ठले भन्नुभयो, ‘त्यसो गर्न सक्यो भने धेरै पर्यटक तान्न सकिन्छ । आन्तरिक हुन या वाह्य पर्यटक भनेको जहाँ केही नौलो छ त्यहीँ जान रुचाउँछन् ।’ चिण्डेडाँडामा पहिलो पटक पुग्नु भएका विराटनगरका व्यवसायी सागर जोशी दुनियाँका कुनै मुलकमा नभएको मौसम र वातावरण हाम्रो देशमा भए पनि सरकारले उपयोग गर्न नसकेको बताउनुहुन्छ । ‘पाँच किलोमिटरको अन्तरमा यस्तो फरक मौसम दुनियाँमा पाउन मुस्किल छ,’ उहाँले भन्नुभयो, ‘तर हाम्रा सरकारहरुलाई यस्ता ठाउँ कागलाई बेल पाक्यो हर्ष न विस्मात भनेजस्तै छ ।’ धरानवाट पैदल यात्राका लागि पनि यो स्थान निकै लोकप्रिय छ । यहाँ वनभोज खानका लागि आउनको संख्या पनि धेरै छ । विराटनगर एशोसिएशन अफ ट्राभल्स एजेन्ट (बाटा) का अध्यक्ष फडिन्द्र अधिकारी चिण्डेडाँडाले धेरैको मन तान्ने बताउनुहुन्छ । ‘सरकारले भौतिक पूर्वाधारमा ध्यान दिनासाथ यसको विकास तीव्र गतिमा हुन्छ,’ उहाँले भन्नुभयो, ‘यसका लागि स्थानीय पर्यटन व्यवसायीहरुको पहल आवश्यक छ ।’ धरानका पर्यटन व्यवसायी वासु वराल चिण्डेडाँडाको भौतिक विकासका लागि स्थानीय सरकारसँग पहल भइरहको बताउनुहुन्छ । ‘शिरमा भ्युटावर निर्माण भइरहेको छ,’ उहाँले भन्नुभयो ‘अब सडक कालोपत्रे हुन्छ, सर्दु खोलाको पुल निर्माण भइरहेको छ यो पूरा भएपछि धेरै सहज हुनेछ ।’ चिण्डेडाँडा पुग्नु भएका (नाटा) का वरिष्ठ उपाध्यक्ष ज्ञानमणि नेपाल प्रदेश १ मा अरु धेरै ठाउँहरु यसरी नै लुकेर रहेकाले पर्यटन व्यवासायीहरुले त्यस्ता ठाउँको पहिचान गरी सरकारको ध्यान पु¥याउन सक्नुपर्ने बताउनुहुन्छ ।
हाम्रो टिम
अध्यक्ष: भविशकुमार श्रेष्ठ
प्रधान सम्पादक: लीलावल्लभ घिमिरे (९८५२०२३४२२)
सम्पादक: निरज दाहाल
बिशेष संवाददाता: डेविड घिमिरे (९८२९३२१४८३ )
घुमघाम मिडिया प्रा.लि. विराटनगर, मोरड.
पर्यटन यात्रा डट कम {paryatanyatra.com}
सूचना तथा प्रसारण विभाग दर्ता : १६१५-०७६-२०७७
पृष्ठहरु
लिंकहरू
हाम्रा बारेमा
पर्यटन यात्रा डट कम एउटा विशुद्ध पर्यटन न्युज पोर्टल हो । ‘विकासका लागि पर्यटन’ भन्ने मुल नारालाई सफल बनाउन पर्यटकीयस्थलहरूको समाचार, डकुमेन्टी, तस्बिरलगायतका सामग्रीहरूलाई बाहिर ल्याउनका लागि पर्यटन व्यवसायी र पत्रकारहरूको समूह मिलेर सुरु गरेको हो । यसमा पर्यटनका सबै खाले सामग्रीहरूलाई समेट्ने प्रयास गरिनेछ । साथै तपाईंहरूले समेत भिडियो र तस्बिरमा पर्यटनका प्रकाशन र प्रशारण योग्य सामग्री पठाउन सक्नु हुनेछ । त्यसका लागि हामीले मेरो तस्बिर र मेरो भिडियोका दुई कोलम राखेका छौं । त्यसमा तपाईंले paryatanyatrabrt@gmail.com मा सामग्री पठाउन सक्नु हुनेछ । ती सामग्री प्राथमिकताका साथ प्रकाशन तथा प्रशारण गर्नेछौं ।