बेग्लै पहिचान वनाउँदै वढेमानको जाँतो

June 28, 2020     Paryatan Yatra

लेटाङ । आफ्नो ठाउँको पहिचान अलग बनाउन स्थानीय बासिन्दाले अनेक जुक्ति लगाउँछन् । पछिल्लो समय ठाउँको पहिचान आकर्षक बनाउन प्रयत्नहरु भएको पाइन्छ । कतै गुराँसको फूलको प्रतिमा, कतै लसुनको, कतै बिरालाको अनि कतै तोङबाको प्रतिमा समेत बनाएको पाइन्छ । यस्ता आकर्षक प्रतिमाले आगन्तुकहरुको ध्यान पनि तान्ने गर्छ । फोटो खिच्ने, सामाजिक सञ्जालहरुमा राख्ने गर्दा ठाउँको धेरैभन्दा धेरै प्रचार पनि हुने गरेको छ ।

यस्तै एउटा परम्परागत सामानको प्रतिमा मोरङको जाँतेमा छ । ठाउँको नामले नै त्यहाँ रहेको प्रतिमा यो होला भनेर अनुमान गर्न सकिन्छ । पूर्वपश्चिम राजमार्गको यात्रामा आउने मोरङको पथरी बजार पुगेपछि इलाका प्रहरी कार्यालय अघिबाट उत्तरतर्फ लाग्ने सडक छ । यो सडकमा सार्वजनिक बसहरु सञ्चालन हुन्छन् ।

पथरी बजारबाट करिब ८ किलोमिटर जाँतेको जंगल बीचबाट यात्रा ग¥यो भने धार्मिक चोक पुगिन्छ । त्यो चोक पुग्नुअघि सडकको बीचमा एउटा अजङगको जाँतो देख्न सकिन्छ । जाँतो विभिन्न किसिमका अन्न पिस्ने नेपाली परम्परागत वस्तु हो ।

लेटाङ बजारबाट पश्चिमतर्फको सडक हुँदै जाने हो भने ४ किलोमिटर यात्रा गरेपछि जाँतो भए ठाउँमा पुग्न सकिन्छ । यो रुटमा झण्डै एक किलोमिटर सडक भने कच्ची छ । बर्खाको समयमा यात्रा गर्दा मोरङगी खोला तर्नु गर्नुपर्छ । यो खोलामा पुल छैन । त्यसैले बाढी आएका बेला आउजाउ गर्न मुस्किल हुन्छ ।

मोरङको लेटाङ नगरपालिका ९ धार्मिक चोकमा बनाइएको यो जाँतो संसारकै सबैभन्दा ठूलो भनेर दावी गरिएको छ । जाँतेको पहिचान र नाम जीवित गराउने उद्देश्यले बनाइएको हो । त्यही संरचना बनेपछि गाउँको नामै जाँते रहेको हो । नगरपालिका बन्नुअघि यो जाँते गाविस थियो । पछिल्लोपटक लेटाङ नगरपालिका घोषणा हुँदा जाँते गाभिएको हो । आफ्नो ठाउँको नाम र पहिचान बचाउन भन्दै स्थानीयको सक्रियतामा जाँतेको स्तम्भ बनाइएको हो ।

चिटिक्क परेको पार्कभित्र ५ फिट गोलाईको जाँतो बनाइएको छ । जाँतोको उचाई डेढ फिट छ भने माथिल्लो घुम्ने ढुङ्गा १५ इन्चको छ । जाँतोको मानी २ किलो फलामको बनाइएको छ । गाउँघरमा प्रयोग हुने सामान्यभन्दा निकै ठूलो आकारको जाँतो देखेर आगन्तुकहरु आकर्षित हुने गरेका छन् । जङगलको शिरमा रहेको यो जाँतोको स्तम्भसँगै धार्मिक चोक विविधताले भरिपूर्ण छ । यहाँ सबै जात र धर्मलाई समेट्ने गरी पर्यटकीय दृष्टिकोणले विकास गर्न योजना अघि सारिएको छ । चोकको पश्चिमतर्फ मगर बौद्ध गुम्बा छ ।

त्यसको नजिकै वसन्त हरियाली सामुदायिक वनको कार्यालय छ । त्यहाँ २ वटा मृग पालिएको छ । पश्चिमतर्फ नै अलि अघि बढेपछि साकेला थान पुग्न सकिन्छ । त्योभन्दा अलि पर गणेश मन्दिर छ । धार्मिक चोकको उत्तर पूर्वतर्फ संस्कृत विद्यापीठ छ । यहाँ संस्कृत भाषा पठनपाठन हुन्छ । चोकको पूर्वतर्फ किराँत यूमा माङ हिम थान छ । यहाँको दक्षिण तर्फको ठूलो भूभाग जङगल क्षेत्र छ ।

‘एकै स्थानमा धेरै जातिका मठ–मन्दिर, थान गुम्बा समेत भएको यस्तो ठाउँ विरलै पाइन्छ,’ लेटाङ नगरपालिकाका मेयर शंकर राईले भन्नुभयो, ‘यसलाई एकीकृत रुपमा विकास गर्दै नगरको प्रमुख पर्यटकीय स्थलका रुपमा विकास गर्ने लक्ष्य लिएका छौं ।’ प्राकृतिक सौन्दर्यले भरिएको क्षेत्र भएकाले पर्यटकलाई लोभ्याउन सकिने उहाँको धारणा छ ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.