सगरमाथाको आधार शिविरलाई स्पर्श गर्दा

July 10, 2020     Paryatan Yatra

चुङ्दाक लामा

नेपालका विभिन्न हिमश्रृंखला मेरो रोजाइमा पर्छन्। कञ्चनजंघा, अन्नपूर्ण,मर्दी, गोसाइँकुण्ड लगायतका पर्यटकीयस्थान चहारेको मैले हाम्रो गौरव विश्वको सर्वोच्च शिखर सगरमाथाको भने नाम मात्रै सुनेको थिएँ। काठमाडौंबाटै त्यहाँका धेरै जसो स्थानको नाम जानिसकेको थिएँ।

गत फागुन ७ गते मनभित्रको एक गन्तव्य सगरमाथा आधार शिविरलाई प्रत्यक्ष स्पर्श गर्न सपनाको शिखर जाने तय गरियो। कोभिड-१९ ले छिमेकी चीन आक्रान्त बनिरहेको थियो। विश्वका केही मुलुकमा यसको असर देखिन थालिसकेको थियो।

तर नेपालमा भने यसको असर परेको थिएन। अकस्मातको यात्रा भए पनि मेरा लागि भने महत्वको विषय थियो।काठमाडौंको कपनबाट बिहान ५ बजे टाटा सुमो चढेर युवराज दाइसहित साथी दीपराज र म सोलुखुम्बुको फाप्लूतर्फ लाग्यौं। वीपी राजमार्ग हुँदै खुर्कोट, सिन्धुली र ओखलढुंगा, उदयपुर र दिनभरको यात्रापछि सल्लेरीबाट फाप्लू पुग्दा साँझ ६ बजेको थियो। फाप्लूबाट हामी त्यसदिन बुप्सासम्म जानु थियो। ढिला नगरी अर्को गाडी समातेर अब हामी भर्खर खोलिएको सडक मार्ग छिचोल्दै बुप्सातर्फ लाग्यौं।

फाप्लुबाट बुप्सासम्म विकासका काम हुँदै रहेछन्। बाटो बनाइएको रहेछ। भर्खरै खोलिएको ट्र्याक भएकाले यात्रा सकसपूर्ण थियो। अँधेरी, खरिखोल, नूनथला हुँदै ५०/६० किलोमिटरको बाटो ७ घन्टा लगाएर बुप्सा पुग्यौं।

बुप्सा पुग्दा हामीलाई लैजाने गाडी चालकले खानाको बन्दोबस्त गर्न भनिसकेका रहेछन्। खाना खाएर आराम गर्न कोठामा लाग्यौं। लगातारको यात्राले हामी गलिसकेका थियौं। शौचालय जाने तयारीमा उठेको त बिहान भइसकेछ। थकान भन्दा ठूलो रहर, यात्रा र सपना हुने रहेछ सायद। त्यसैले हामी त्यहाँबाट सगरमाथा आधार शिविर र कालापत्थर जानु थियो। यात्रा सुरू गरिहालियो।

पैदल यात्रा बुप्साबाट सुरू भएको थियो। त्यो दिन हामी फाग्दिङ पुग्नु थियो। बिहान बुप्साबाट हिँडेका हामी पैयूँ, सुर्के, मूसे, चौरीखर्क, छोप्लुङ हुँदै राति १० बजे फाग्दिङ पुग्यौं। नेपालकी पहिलो महिला आरोही  पासाङ ल्हामू शेर्पाको गाँउ चौरीखर्क पुग्दा भने मन, शरीरमा छुट्टै ऊर्जा सिर्जित भएको थियो।

पासाङ ल्हामू शर्पाको घरलाई मोबाइलको क्यामेरामा कैद गरेपछि यसलाई मैले यात्राको एउटा क्षण मात्रै नभएर नेपालको इतिहासलाई आफूसँगै हिँडाएको अनुभूति गरेको थिएँ। त्यहाँबाट मुसे पुग्दा हाम्रो यात्रा कठिन बन्दै थियो।

साँझ छिप्पिन थालिसकेको थियो। बाटो चिप्लो। बाटैभर खच्चडको लस्कर थियो। काठमाडौं सवारी जाम देखेको हाम्रो टोली त्यहाँ भने खच्चडको जाम देख्दै थियो। सवारी साधनको रूपमा प्रयोग हुने खच्चडले बाटोमा थप ऊर्जा दिएको भान हुन्थ्यो।

हामी सहज हवाई यात्रा गरेर लुक्ला जान त सक्थ्यौं। तर, मौसममा गडबडी र निजी विमान कम्पनीका कारण नेपाली यात्रुले टिकट पाउन मुश्किल प्रायः रहेछ।

रातको १० बजे फाग्दिङ पुग्यौं। लगातार १२ घण्टाको पैदल यात्रापछि फाग्दिङ पुगेका हामी खुसीले गदगद् थियौं। फोनमार्फत् हामीले स्टार लजमा बुकिङ गराएका थियौं। होटेलवालाले कुरेर बसेका रहेछन्। न्यानो स्वागत गरे। कफी पिएर खाना खायौं।

पैदल यात्राका कारण खुब थाकिएछ। बिहानको १० बजेको थियो हामी उठ्दा। खाजा नास्ता खाएर हामी नाम्चेको यात्रामा निस्किनु थियो। करिब ११ बजे हामी बाटो ततायौं।

मैले सुनेको थिएँ, नाम्चेमा महँगीको र डलरको भाउ उस्तै छ। त्यही कुरा जान्न मलाई हतारो थियो।

सिधा बाटो हिँडेपछि हामी जोरसल्ले पुग्यौं। त्यहाँ सगरमाथा आधार शिविर जाने बाटोमा पोस्ट बनाएर फी तिराइने रहेछ। नेपालीलाई एक सय र विदेशीलाई तीन हजार नेपाली रुपैयाँका दरले लिइँदो रहेछ।

यात्रा अघि बढिरह्यो। उकालो बाटो भेटिँदै थियो। त्यहाँ चिसोको कुरा त के गर्नु र! चिसो र उकालोको कारण हुनुपर्छ युवराज दाइको खुट्टामा समस्या देखियो।

साँझ ६ बजेको थियो नाम्चे नजिक पुग्दा। जस्ताले छाएका रंगीविरंगी घरहरूले हामीलाई न्यानो स्वागत गरिरहेका थिए।

नेपालकै महँगो ठाउँ भनेर चिनिने नाम्चेले मलाई मात्रै नभएर हामी तीनै जनालाई लोभ्याएको थियो। लोभिएका हाम्रा नजरहरूले नजिकबाट नाम्चेलाई स्पर्श गर्दै थियो। नाम्चेमा कफी सप र अन्य सामान देख्दा हिमालको काखमा नभएर कुनै विदेशी भूमिमा पाइला टेकेजस्तै अनुभूति भइरहेको थियो। हिमालको काखमा अवस्थित नाम्चे वास्तवमै सुन्दर मनमोहक रहेछ। सुविधा सम्पन्न होटलयुक्त रहेछ नाम्चे।

नाम्चे भने सुनसान प्रायः थियो। अहिले पर्यटकको सिजन भए पनि पर्यटक थिएनन्। विश्वभर आतंक सिर्जना गर्दै फैलिएको कोरोनाभाइरसका कारण पर्यटकहरू नआएको गुनासो गर्दै थिए , त्यहाँका व्यापारीहरू।

फुरूरू हिउँ परिरहेको थियो अनिसाथमा थियो कफी। कफीलाई चुस्की लगाउँदै दृश्य एकटकले हेरिरहेका थियौं।हामीलाई त्यो कुरा विल्कुलै नयाँ र रोमाञ्चक थियो।

नाम्चेमा लेक लाग्ने र त्यहाँ पर्यटकले हाइट पचाउन केही दिन बस्ने गर्दा रहेछन्। हामी पनि त्यसरी नै त्यहीँ बस्ने निर्णय गर्‍यौं। बिहान उठेपछि नाम्चे चहार्न र व्यापारीसँग कुरा बुझ्न निस्कियौं।

सगरमाथा हेर्ने अनि त्यसपछि हामी संसारकै अग्लो स्थानमा रहेको होटल ‘एभरेष्ट भ्यू’ तर्फ लाग्यौं। तर, दुर्भाग्य भन्नुपर्छ बाक्लो हिमपात र वर्षाका कारण हामी बाटोबाटै फर्किनु पर्‍यो।

नाम्चेमा एकदिनको आरामपछि अब यात्राको पाँचौं दिन झन् उचाइमा पुग्नु थियो।  खाजा नास्तागरेर पाङबोचेतर्फ हानियौं। युवराज दाइको घुँडा दुखाइ अलि कम भएर होला दाइ पनि जोसिँदै थिए।

नाम्चेबाट उकालो लागेको यात्रा नाम्चे कटेपछि सिधा बाटो भेट्यौं। त्यसपछि हाम्रा आखाँ अगाडि सजिएका आमादब्लाम, थामसेर्कु, एभरेष्ट, लोत्से हिमालले हामीलाई नियालिरहेका थिए। शायद यति नजिकबाट यति धेरै हिमालहरू पहिलो पल्ट नियाल्दै थिएँ।

ती दृश्यलाई ओझेल पार्दै हामी केही समयको ओरालो यात्रापछि दुधकोशी पुग्यौं। खोला किनारमा रहेका होटेलहरू पनि सुनसान थिए। हामीले त्यहाँ खाजा नास्ता गरेपछि दूधकोसी माथि सजिएको सुन्दर झोलुंगे पुल हुँदै उकालो यात्रा तय गर्‍यौं।

झण्डै २ घण्टाको उकालो यात्रापछि हामी ३ हजार ८ सय मिटर उचाइमा रहेको ऐतिहासिक गुम्बा त्याङबोचे पुग्यौं। गुम्बा अवलोकन र दर्शनपछि त्याङबोचेमा ९०० रुपैयाँप्रति प्लेट फ्राइ राइस खाएर अघि बढ्यौं। केहीछिन पहिले परेको बाक्लो हिमपातले हाम्रो पैदलयात्रामा केही असहजता पैदा गरे पनि हामी गन्तव्य पुग्नु नै थियो। हाम्रो यात्राको पाङबोचेमा पुगेर रोकियो।

छैठौं दिन पुगेको थियो। हामी सगरमाथा आधार शिविर नजिकै थियौं। तर, यात्रा भने झन् कठिन थियो। त्यहाँबाट फेरिचे हुँदै लोबुचे जाने भइयो। बाटोभर लोबुचे कतिबेला पुगिएला भन्ने तर्कहरु मनमा आइरहेका थिए।यात्रामा भेटिएका विदेशी पर्यटकहरू हामीलाई सोधिरहेका थिए कि नेपालमा कोरोना संक्रमित व्यक्तिहरू छन् कि छैनन् भनेर। कुराकानीको क्रममा एकजना इटालियन मित्रले भन्दै थिए- एभरेस्ट मूभी हेरेपछि उनले नेपाल र सगरमाथाको बारेमा गुगल गरेर सगरमाथा आधार शिविर आउने योजना बनाएका थिए रे।

लोबुचे पुग्नुभन्दा केही तल हिमाल आरोहणको क्रममा मृत्युवरण गरेका व्यक्तिहरूको सम्झनामा ढुंगामा कुँदिएको थियो। त्यहाँ केही समय टहलियौं र पछाडि फर्केर सुन्दर आमदब्लम हिमाललाई नजिकबाट नियालेर यात्रालाई निरन्तरता दियौ। 

हामी लोबुचेमा पुग्यौं। लगभग ५ हजार मिटर उचाइमा रहेको लोबुचेमा ५/६ वटा मात्र घरहरू थिए।पर्यटकको कमीका कारण सहजै बास पायौं। यात्रामा छुटेका प्रत्येक पाइलाहरू यथार्थमा जिन्दगीका अविस्मरणीय क्षण बन्दा रहेछन्। उचाइमा पुगेर देखिने खुला सुन्दर दृश्यहरू वास्तवमै स्मरण गर्न लायक हुने रहेछन्।

सगरमाथा आधार शिविरको अन्तिम गन्तव्य लोबुचेबाट गोरक्षेपतर्फ लाग्यौं। यात्राको क्रममा देखिएका केही दृश्यले अमिट छाप छोड्ने रहेछन्। गोरक्षेप पुगेपछि हामीले खाना खायौं। खाना खाएपछि हामी लाग्यौं सपनाको केन्द्र भेट्न।

विश्वको अग्लोचुचुरो देख्न यात्रा गरिरहेका हामीले बाटोमा देखेको खुम्बु आइस फलले केही समय रोकिदियो। सगरमाथा आरोहीहरूको लागि निकै नै जटिलमार्गको रूपमा परिचित छ खुम्बु आइसफल। हामी त्यसलाई हेर्न र मनबाट स्पर्श गर्न चाहन्थ्यौ। गर्‍यौं पनि।

अन्ततः हामी आधार शिविरमा थियौं। देशी विदेशी पर्यटकहरू खुसीले चिच्याइरहेका थिए। कोही आफ्नो प्रियसीसँग मोबाइलमा कुरा गर्दै थिए। सपनाजस्तै लाग्न थालेको थियो। चिसो मौसम, हिउँ अनि आँखा अगाडिको सगरमाथाले हामीलाई भनिरहेको थियो, मेरो समिपमा स्वागत छ। बाटोको दायाँ किनारमा देखिएको खुम्बु आइसफल वास्तवमै सुन्दर रहेछ। हिउँ नै हिउँले बनेको पहाड माथिको पहाड रहेछ खुम्बु आइसफल। जसलाई हामी अब भने प्रत्यक्ष स्पर्श गर्दै तस्बिर लिन आतुर थियौं।

आधार शिविरमा एक घण्टा रह्यौं। त्यो समय मेरो जीवनको एक ऐतिहासिक र अविस्मरणीय क्षण रहन गयो।  विश्वमा हाम्रो देश नेपाल सगरमाथाले परिचित छ। म त्यसैको काखमा रमाउँदै थिएँ। मसँग रहेका युवराज दाइ र साथी दिपराज पनि भित्री हृदयबाट खुसी व्यक्त गर्दै थिए। सम्भवत उनीहरूको मनमा देशप्रेम झल्किएको हुनुपर्छ।

मेरा पनि आँखा रसाएका थिए। मेरा पूर्खा र शेर्पाहरूले देखाएको साहसको अनुभूत गरें। त्यसपछि चिसो सिरेटोसँगै मेरा आँसुले सगरमाथालाई भनिरहेका थिए, ‘तिमी मेरो देशमा भएर पनि देख्न कति गाह्रो छ है? म त तिम्रो काखमा आउन पाएँ। कतिपय रहर भएर पनि आउन पाएका छैनन नि ? के गर्नु मेरो देशको स्थिति र समस्या यस्तै छ।

त्यहाँबाट आउन मन लागेको थिएन तर, यात्रा अघि बढाउनु नै थियो। हामी ओरालो लाग्यौं। यसरी हामी पैदल यात्रा गरेर विश्वको जोखिमपूर्ण विमानस्थलको सूचीमा सूचीकृत स्थान लुक्ला पुग्यौं। लुक्ला पुग्दा हावाको बेग तीव्र थियो। त्यस दिनको लुक्ला बसाइँपछि यात्राको अन्तिम दिन लुक्ला विमानस्थलमा त्यही तीव्र बेगको हावालाई पछि पार्दै ट्विनअटरमा विमान चढेर काठमाडौं फर्कियौं।

लुक्ला धावनमार्गबाट जहाजले भुइँ छाड्दा जसरी मनमा विश्वास गुम्छ कि भन्ने डर थियो त्यसरी नै सगरमाथा प्रतिको विश्वास गुम्न नदिन सरकारले यथाशक्य व्यवस्थित पर्यटनमैत्री वातावरण सिर्जना गर्नुपर्छ।

मेरो देश र हिम श्रृङ्खलाहरूले सरकारको आशा गरेका छन्। यतिबाल कोभिड-१९ समग्र देशको अर्थतन्त्र अस्तव्यस्त बनेकोबेला यो समय मानिसको जाम हुने विश्वको अग्लो सर्वोच्च शिखर सगरमाथा पनि सुनसान छ।

यतिबेला पर्यटकको पर्खाइमा वास्तवमा सगरमाथा सुसेली रहेछ। सरकार, विश्व परिस्थितिलाई मध्यनजर गरेर पर्यटनलाई व्यवस्थित पारौं। देश समृद्ध बन्नेछ। यो अनुजयात्रीको यही अनुरोध छ। साभारः सेतोपाटीबाट

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.