विराटनगर विमानस्थल निजी क्षेत्रलाई दिने तयारी

September 2, 2020     Paryatan Yatra

विराटनगर । पर्यटन तथा नागरिक उड्डययन मन्त्री योगेश भट्टराईले विराटनगर विमानस्थल निजी क्षेत्रलाई सञ्चालन गर्न दिने सोच सरकारले बनाएको बताउनुभएको छ । ‘अब संघीय सरकारले मात्र विमानस्थल चलाउन सक्दैन,’ उहाँले भन्नुभयो, ‘प्रदेश र स्थानीय सरकारहरुले पनि लगानी गर्नुपर्छ ।’ मन्त्री भट्टराईले विराटनगर र नेपालगञ्ज विमानस्थल सञ्चालनका लागि निजी क्षेत्रलाई दिने सोच सरकारले बनाएको बताउनुभयो ।

‘परीक्षणका रुपमा यी दुई विमानस्थल निजी क्षेत्रलाई दिने तयारी गरेका छौं,’ उहाँले भन्नुभयो, ‘पर्यटनको विकासका लागि सबैको सहभागिता आवश्यक छ ।’

एलिट क्लब विराटनगरको बुधबारे ‘एलिट विमर्श’ मा ‘पर्यटन क्षेत्रको पुनर्जागरण र राष्ट्रिय राजनीति’ विषयक भर्चुअल छलफल कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले समृद्धिको मूल आधार पर्यटन नै भएको बताउनुभयो।

‘कृषि, जलस्रोत र पर्यटन बिना मुलुक समृद्ध सम्भव छैन,’ उहाँले भन्नुभयो, ‘सरकारको प्राथमिकता आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने नै हो ।’ नेपालको पर्यटन क्षेत्रमा अहिलेसम्म १५ खर्ब लगानी भएको बताउनुभयो । ‘यद्यपि यसको आधिकारिक तथ्यांक त छैन,’ उहाँले भन्नुभयो, ‘पर्यटन क्षेत्रले १० लाखलाई रोजगारी दिएको छ ।’

उहाँले पछिल्लो समय पर्यटन क्षेत्रको लगानी र रोजगारी बढिरहेका बेला कोरोनाको मारमा परेको बताउनुभयो । विदेशबाट बार्षिक रुपमा ८० अर्ब विदेशी मुद्रा आउने र त्यसमध्ये पर्यटन क्षेत्रले मात्र ७० प्रतिशत आर्जन गर्ने गरेको उहाँले बताउनुभयो । देशको कूल ग्राहस्थ उत्पादन (जिडीपी) मा पर्यटन क्षेत्रको योगदान ७ प्रतिशत रहेको उहाँको भनाइथियो ।

देशभरका होटलमा ४४ हजार बेड विदेशी पर्यटक बस्न योग्य रहेको र देशमा १२ सय घरमा ५ हजार बेड होम स्टे (घरबास) को रहेको उहाँले बताउनु भयो ।

देशमा १३८ स्टार होटल छन् । १ हजार १ सय ५१ वटा पर्यटक बस्न लायकका होटल छन् । सरकारले पर्यटन क्षेत्रका लागि ५० अर्बको कोष बनाएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार ५ प्रतिशतका दरले ब्याज त्यसको कार्यविधि आउँदैछ । त्यसलाई व्यवसायीले प्रयोग गर्न पाउँछन् । अन्य केही सुविधा पनि सरकारले घोषणा गरेको छ ।

‘हाम्रो जोड आन्तरिक पर्यटन हो । २५ लाख मान्छे आन्तरिक पर्यटनमा निस्कने अनुमान गरिएको छ’ उहाँले भन्नुभयो ।

हप्तामा २ दिन केही बर्ष विदा गर्ने योजना रहेको बताउनुभयो । ‘शनिबार आइतबार विदा गर्न सके शुक्रबार निस्केको कर्मचारी आइतबार बेलुकासम्म वाहिर रहन्छ भन्ने बुझाइ हाम्रो छ’ उहाँले भन्नुभयो ।

सरकार कोभिड–१९ को चेन भत्काएर नेपाललाई कोभिडमुक्त बनाउने अभियानमा लागेको मन्त्रीको भनाइ थियो ।

मन्त्री भट्टराईले अबको सरकारको ध्यान पूर्व क्षेत्रको पर्यटन विकास गएको बताउनुभयो । ‘मैले काठमाडौंका पर्यटन व्यवसायीहरुलाई पूर्वतिर आँखा लगाउन आग्रह गरेको छु,’ उहाँले भन्नुभयो ।

‘एक बर्षमा १० लाख भक्तजन पाथिभरा मन्दिर लग्ने योजना सरकारको छ,’ उहाँले भन्नुभयो, ‘त्यहाँ केबल कार पनि बन्दै छ ।’

सरकारले इलामका कन्याम फिक्कल र श्रीअन्तुलाई जोडेर ‘पर्यटन गाउँ’ बनाउने बताउँदै भेडेटार र त्यो भन्दा माथिका क्षेत्रका गाउँलाई समेट्ने योजना रहेको बताउनुभयो । प्रदेशहरुमा पर्यटन वोर्डको कार्यालय चाँडै खोलिने पनि बताउनु भयो ।

होटल संघका केन्द्रीय सदस्य राजन श्रेष्ठले सरकारले घोषणा गरेको ५ प्रतिशत ब्याजको सुविधा अहिलेसम्म बैंकहरुले नदिएको बताउनुभयो । सरकारले व्यवसायीका मागलाई कार्यावन्यन नगरेको, विद्युत डिमाण्ड शुल्क तिर्नु परेको भन्दै त्यसलाई छुट दिनुपर्ने बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ पर्यटन समिति संयोजक भविशकुमार श्रेष्ठले हिजोका दिनमा बन्द हड्तालमा पनि सबैभन्दा बढी मार पर्यटन व्यवसायलाई नै परेको भन्दै कोरोनाको मार पनि यही क्षेत्रमा बढी परेको उल्लेख गर्नुभयो।

पर्यटन व्यवसाय चलायमान बनाउने वातावरण सरकारले तयार गरिदिनुपर्ने उहाँको भनाइ थियो । नवीकरणको शुल्क, विद्युत शुल्क लगायतमा सरकारले छुट दिनुपर्ने श्रेष्ठले माग गर्नुभयो।

विराटनगर विमानस्थलबाट प्रदेश १ मा रहेका १३ वटा विमानस्थलमा उडान हुनुपर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा डा. अर्जुन बरालले कोरोनाका कारण नेपालको अर्थतन्त्र खराव हुन थालेको बताउनुभयो । त्यसमा होटल पर्यटन क्षेत्रमा २२.५ प्रतिशले घाटा भएको बताउनुभयो । यसलाई पहिलाको अवस्थामा आउन २१ महिनाभन्दा बढी समय लाग्ने उहाँले बताउनुभयो । अब सरकारले आन्तरिक पर्यटनलाई जोड दिनु पर्ने उहाँको भनाइ थियो । रोगले भन्दा भोकले मर्नेको संख्या बढी हुन सक्ने उहाँले बताउनुभयो ।

‘सामाजिक सम्वन्ध समाप्त भएको छ । घरघरमा थुनेर राखिएको छ । यसरी अर्थतन्त्र चल्न सक्दैन’ बरालले भन्नुभयो ।

 भेडेटारका पर्यटन व्यवसायी विष्णु श्रेष्ठले आन्तरिक पर्यटलाई चलायमान बनाउनुको विकल्प नरहेको बताउनुभयो । ‘होटलमा मात्र साढे २ अर्ब लगानी भेडेटारमा भएको छ । त्यो डुब्ने भयो’ उहाँले भन्नुभयो। राज्यको ध्यान अहिलेसम्म जान सकेको उहाँको भनाइ थियो ।

विराटनगरका होटल व्यवसायी पुण्य भट्टराईले होटल व्यवसायीलाई बैंकको कर्जा र कर्मचारीको तलब भत्ताले सताएको भन्दै बैंक कर्जा १ देखि २ बर्षसम्म स्थगन आग्रह गर्नुभयो । होटलहरुलाई आइसोलेसन र क्वारेन्टाइन बनाउन उहाँको आग्रह थियो । ‘मेरो ६५ वेडको होटल आइसोलेसन बनाएको छु’ उहाँले भन्नुभयो, ‘त्यसमा राज्यको एक रुपैयाँ पनि लगानी छैन ।’

एलिट क्लबका अध्यक्ष विश्वनाथ रिजालले कोरोनाका कारण पर्यटन क्षेत्रले सबैभन्दा बढी क्षति व्यहोर्नु परेको भन्दै सरकारको ध्यान जाओस् भन्ने उद्देश्यसाथ कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.