भेडेटारमा स्काईवक निर्माण हुने

October 19, 2020     Paryatan Yatra

धरान । धनकुटा र सुनसरीको सिमानामा रहेको पूर्वको पर्यटकीय केन्द्र भेडेटारको चाल्र्स भ्युटावरको भुभागमा निर्माण हुने स्काईवक निर्माण हुने भएको छ । प्रदेश १ मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा छलफल भई स्काईवक निर्माण तथा सञ्चालन सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।

धनकुटाको साँगुरीगढी गाँउपालिका, धरान उपमहानगरपालिका र प्रदेश लगानी प्राधिकरणबीच त्रिपक्षीय सम्झौता भएको छ । साँगुरीगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यबहादुर भण्डारी, र धरान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विदुरप्रसाद खनाल र लगानी प्राधिकरणका कार्यकारी निर्देशक डा.सरोज कोइरालाले समझदारीपत्रमा हस्ताक्षर गर्नुभयो ।

समझदारी अनुसार बोन्डर्स एम्युजमेन्ट पाक्र्स एण्ड अट्राक्सन प्रा.लि. बुढीगंगा मोरङले स्काईवक निर्माण गर्ने भएको छ । भ्युटावरले चर्चेको भुभाग पहिलो र दोश्रो पक्षले लिजमा दिन साथमा लिजको समयावधि, निर्माण तथा सञ्चालनको ढाँचा र परियोजना संचालन पश्चात लिज, रोयल्टी तथा अन्य शुल्क बापत प्राप्त गर्ने रकम बाँडफाँडको विषय २२ दिनभित्र टुङ्गयाउने सहमति भएको छ ।

त्यसैगरी जग्गा लिजको प्रक्रिया अघि बढाउन आ–आफ्नो पालिकाबाट निर्णय गराएर प्रदेश लगानी प्राधिकरणमा २२ दिनभित्र बुझाउने सहमति पनि भएको छ । साथै अन्य कुरामा आपसी समजदारी र कानून बमोजिम गर्ने तय गरिउको छ । धरानका मेयर तिलर राई र गाँउपालिकाका अध्यक्ष कुमारजंग याक्खाले पत्रको रोहवरमा हस्ताक्षर गर्नुभएको छ ।

दक्षिण एसियामै पहिलो भनिएको उक्त परियोजनाको कुल लागत २० करोड रहेको बताइएको छ । कुल लागतको ५० प्रतिशत बित्तीय संस्थाको लगानी रहनेछ भने बाँकी ५० प्रतिशतमा २० प्रतिशत स्थानीय र ८० प्रतिसत अन्य व्यवसायीहरूको लगानी रहनेछ ।

परियोजना एक वर्षभित्र निर्माण सम्पन्न हुने प्रजेक्ट डाइरेक्टर सञ्जिब रोकायाले जानकारी दिनुभयो । स्काईवकको उचाइ १०० मिटरदेखि ५०० मिटर, ४ मिटर चौडाइ हुनेछ भने घुम्तिमा १० मिटर रहनेछ । भेडेटारको शैलुड डाँडाबाट धरानतर्फ ३९ मिटर लामो हुने बोन्डर्स एम्युजमेन्ट पाक्र्स एण्ड अट्राक्सनका अध्यक्ष ई.आकर्षण पोखरेलले बताउनुभयो ।

परियोजनामा वार्षिक १० लाख पर्यटक भित्र्याउने उद्देश्य रहेको छ । भारतको उत्तर प्रदेश, बिहार, सिक्किम, भुटान, बंगलादेश साथै अन्य देशबाट समेत पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ ।

परियोजना सम्पन्न भएपछि प्रदेश नं १ का मुख्य शहर विराटनगर, इटहरी, धरान, बिर्तामोड लगायतको क्षेत्रमा समेत विदेशी तथा आन्तरिक पर्यटकको चहलपहल बढ्ने दावी गरिएको छ । त्यहाँबाट भेडेटार, धरान, इटहरी, सप्तकोशीलगायत बिभिन्न ठाउँहरूको दृश्यावलोकन गर्न सकिनेछ । साभारः हाम्रोमतबाट

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.