प्रदेश–१ को आन्तरकि पर्यटन पुनरोत्थान समितिको संयोजकमा श्रेष्ठ

October 22, 2020     Paryatan Yatra

विराटनगर ÷ नेपाल पर्यटन बोर्डले सातै प्रदेशमा ‘आन्तरकि पर्यटन पुनरोत्थान समिति’ गठन गरेको छ । बोडले समितिको प्रदेश–१ को संयोजकमा पर्यटन व्यवसायी एवं घुमघाम मिडिया प्रालिका अध्यक्ष भविसकुमार श्रेष्ठलाई तोकिएको छ । यसै गरी सह–संयोजकमा नाटा प्रदेश–१ का अध्यक्ष उदय श्रेष्ठ र धरानका पर्यटन व्यवसायी वासु बराललाई तोकिएको छ ।

कोभिड–१९ महामारीको कारण नेपालको समग्र पर्यटन क्षेत्रमा नकारात्मक प्रभाव पर्न गएको र हाल आएर महामारीको जोखिम नेपालमा घट्दै गएको अवस्था आएसँगै आन्तरिक पर्यटन प्रवद्र्धनका विभिन्न कार्यक्रमहरू सञ्चालन गरी पर्यटन क्षेत्रलाई पुनः चलायमान बनाउन ‘आन्तरकि पर्यटन पुनरोत्थान समिति’ गठन गरिएको बोर्डले जनाएको छ ।

नेपालको पर्यटन क्षेत्रको पुनरोत्थानको मुख्य उद्देश्यका साथ पर्यटन व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था, पर्यटन व्यवसायीहरू र अन्य सरोकारवालाहरू समावेश गरी सातै प्रदेशमा समिति गठन गरिएको बोर्डले जनाएको छ । बोर्डले प्रदेशस्तरमा आफ्ना कार्यालयहरू स्थापना गर्ने निर्णय यसअघि नै गरिसकेको छ ।

नवगठिन ‘आन्तरकि पर्यटन पुनरोत्थान समिति’ले प्रदेश–१ का १४ जिल्लाबाट एक–एकजना पर्यटन व्यवसायीको नाम सिफारिस बोर्डमा यथाशीघ्र पठाउन भनिएको छ । यसैगरी बोर्ड, प्रदेश सरकार, स्थानीय सरकार, पर्यटन व्यवसायीहरू र सरोकारवालाहरूसँग समन्वय गरी प्रदेशस्तरीय आन्तरिक पर्यटन प्रबद्र्धन कार्यक्रमहरू तर्जुमा गर्नुपर्ने छ । प्रदेशका पर्यटकीय गतन्वय तथा गतिविधिहरूको पहिचान गरी अभिलेख तयार पार्न र समन्वयकारी भूमिका खेल्नुपर्ने छ । यसैगरी नेपालीहरूलाई देशभित्रका विभिन्न पर्यटकीय गन्तव्यहरूको भ्रमणका लागि अभिप्रेरित गरी टुर अपरेटर र होटल व्यवसायीहरूलाई विशेष छुटसहितका प्याकेजहरू ल्याउन प्रोत्साहित गर्ने र भ्रमण प्याकेजहरू निर्माण गर्न समितिलाई टिओआर दिएको छ ।

सञ्चारकर्मी तथा पर्यटन सरोकारवालाहरू सहभागी गराई प्रदेशभित्रका पर्यटकीय गन्तव्यहरूको परिचायात्मक भ्रमण आयोजना गर्न समन्वय गर्ने । पर्यटनसम्बन्धी जनचेतना अभिवृद्धिका लागि स्थानीय समुदाय र सञ्चारकर्मीहरूसँगको सहकार्यमा पर्यटन सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सिफारिस गर्नेजस्ता कामहरू समितिले गर्नुपर्ने छ । नवगठित समितिका संयोजक श्रेष्ठले प्रदेशका पर्यटन व्यवसायीसँग छलफल गरेर योजनाबद्ध रुपमा अगाडि बढ्ने प्रतिक्रिया दिनु भयो ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.