झुल्के घाम हेर्न अन्तु डाँडामा घुइँचो

November 23, 2020     Paryatan Yatra

विप्लव भट्टराई

इलाम — कोरोनाका कारण बन्द इलामको अन्तु क्षेत्र खुला गरिएपछि पर्यटकको आवागमन बढेको छ । मेची राजमार्गको छिपिटारबाट पक्की सडक अन्तु डाँडासम्म नै पुगेकाले साना र निजी सवारीसाधन लिएर जाने अधिक छन् । बंगालको खाडीबाट निस्कने घामको पहिलो झुल्को हेर्नु नै अन्तुको मुख्य आकर्षण हो ।

हराभरा चियाबारी, अन्तु पोखरी, लोपोन्मुख लेप्चा जातिको संस्कृति, कञ्चनजंघालगायत हिमशृंखला तथा नेपाल र भारतका विभिन्न स्थानको दृश्यावलोकनले पनि अन्तु आउनेलाई आनन्दित तुल्याउने गर्छ । बाक्लै गरी बनेका होटल, होमस्टेलगायतले सहरको रूप लिएको छ । दैनिक सयौंको संख्यामा आउने पर्यटक थेग्न एक सयको हाराहारीमा रहेका होटल र होमस्टेलाई हम्मे छ । ‘कोरोनाको लामो घर बसाइपछि आएकाहरू अन्तुमा धीत मारेर रमाउन चाहन्छन्,’ पर्यटन व्यवसायी रुद्र घिमिरेले भने, ‘शुक्रबार र शनिबार त थेग्नै नसक्ने गरी भीड बढ्ने गरेको छ ।’

अन्तुमा मुख्यगरी झापालगायत तराई क्षेत्र र राजधानीबाट आउने क्रम बढी छ । पछिल्ला केही वर्षमा अन्तु आउने पर्यटकको संख्या ह्वात्तै बढेको हो । पर्यटक धेरै भएकै कारण होमस्टेहरू पनि होटलकै रूपमा सञ्चालन हुने क्रम बढ्दो छ । पर्यटन गन्तव्यको रूपमा स्थापित भएपछि अन्तुमा जग्गाको भाउसमेत अकासिएको छ । जग्गा किनबेच गर्ने र लिजमा लिएर व्यवसाय सञ्चालन गर्ने क्रम बढेपछि हरिया डाँडाकाँडा घट्दै गएका छन् ।

कोरोनाको जोखिमले व्यवसायी नडराएका भने होइनन् । तर लामो समयसम्म बन्द हुँदा बैंकको किस्ता तिर्नसमेत मुस्किल परेपछि जोखिम मोलेरै व्यवसाय सञ्चालन गर्नुको विकल्प नरहेको अन्तु भञ्न्याङका टेकबहादुर आले बताउँछन् । अन्तु पुग्नेमा जिल्ला बाहिरका मात्र नभएर जिल्लाभित्रका पनि उल्लेख्य छन् । लामो समयको दिग्दारी मेटाउनकै लागि अन्तु घुम्न आएको फिक्कलका राजकुमार प्रधानले बताए । अन्तुसँगै कन्याम, फिक्कललगायत क्षेत्रमा पनि भीडभाड बढ्दै गएको छ ।

नयाँ गन्तव्य खोज्दै रोङ

यसअघि कहलिएका पर्यटन क्षेत्रमा मात्र हैन, नयाँ गन्तव्य र विशेषता बोकेका स्थानले पनि आन्तरिक पर्यटकलाई लोभ्याउन थालेका छन् । मेची अञ्चलकै प्रवेशद्वार हो रोङ गाउँपालिका । यही गाउँपालिका भएर पहाड उक्लने नागबेली मेची राजमार्ग लमतन्न तन्किएको छ । कन्यामदेखि कञ्चनजंघासम्म यही सडकको प्रयोग गरेर बर्सेनि हजारौं पर्यटकको ओहोरदोहोर चल्दा यहाँका बासिन्दा रमिते मात्र बन्दै आएका थिए । यो पटकदेखि भने गाउँपालिकाको अगुवाइमा नयाँ र रमणीय पर्यटकीय स्थल पहिचान गरिएपछि पर्यटकको आँखा पर्न थालेको छ ।

पाथीभरा मन्दिर र हर्कटे बजारबीचमा एउटा डाँडा छ । यसलाई स्थानीयले गुगल प्वाइन्ट पनि भनेर बुझ्छन् । राजमार्गबाट करिब डेढ किलोमिटर ठाडो उक्लिएपछि भेटिने जंगलामूलबीचको यो डाँडा दृश्यावलोकनका लागि उत्कृष्ट मानिएको छ । कञ्चनजंघा हिमालको काखमा कन्याम चियाबारीसहित इलामको हरियालीलाई आँखामा कैद गर्न सकिने यो डाँडाबाट अन्य हिमशृंखलासहित समतल तराईको फाँट र नेपाल र भारतका अनेकन भू–भाग देख्न सकिन्छ । १८ सय २५ मिटर उचाइमा रहेको यो डाँडा सूर्योदय र सूर्यास्त हेर्नका लागि पनि अब्बल मानिएको छ ।

‘यो डाँडाबाट यति राम्ररी दृश्यावलोकन गर्न सकिन्छ भन्ने भर्खरै मात्र पहिचान भएको हो,’ गाउँपालिका अध्यक्ष शमशेर राईले भने, ‘सूर्योदय, सूर्यास्तसँगै दृश्यावलोकनका लागि अब्बल योसहित अन्य क्षेत्रको पनि वातावरणीय पक्षलाई जोगाएर प्रवर्द्धन गर्ने योजनामा छौं ।’ यो क्षेत्रमा साइक्लिङ रुटका लागि पनि पहल भइरहेको उनले जानकारी दिए । रोङ गाउँपालिकामा पाथीभरा मन्दिरसहित दृश्यावलोकनका लागि झन्डी डाँडा, जुरे डाँडा र गर्जुङ डाँडालगायत पर्यटकीय क्षेत्र छन् । गाउँपालिकाले धार्मिकसहित नयाँ पर्यटकीय स्थलमा ट्रेकिङ रुट, विश्राम गृहजस्ता अत्यावश्यक पूर्वाधार विकास गर्दै महत्त्वका साथ प्रवर्द्धन गर्ने योजनामा रहेको प्रमुख प्रशासकीय अधिकृत प्रयास भट्टराईले जानकारी दिए । साभार इकान्तिपुरवाट

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.