यती र बुद्ध एयरले माउन्टेन फ्लाइट सुरु गर्दै

November 29, 2020     Paryatan Yatra

काठमाडौं । निजी वायुसेवा कम्पनी यती बुद्ध एयरलाइन्सले आउँदो शनिबारदेखि माउन्टेन फ्लाइट सुरु गर्ने भएका छन् । दुवै जहाजले शनिबारदेखि माउन्टेन फ्लाइट सुरु गर्ने भएका हुन् । यतीले  ‘गाँउदै नेपाली गाथा, हेरौं आफ्नै सगरमाथा’ भन्ने नाराका साथ सुरु गर्न लागेको योजना नेपाली यात्रुहरु र नेपालमा बसोबास गर्ने विदेशी तथा भारतीय नागरिकका लागि बनाइएको कम्पनीले जनाएको छ।

किसिमका यात्रुलाई छुट्टाछुट्टै उडान प्याकेज घोषणा गरेको एयरलाइन्सका प्रमुख सुरक्षा अधिकृत एवं प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए। उनका अनुसार कम्पनीले नेपाली यात्रुका लागि नौ हजार रुपैयाँ र नेपालमै बसोवास वा काम गर्दै आएका विदेशीका लागि १३ हजार पाँच सय रुपैयाँमा दुईवटा टिकट दिने जनाएको छ।

‘हामीले पर्यटन गतिविधि बढाउन करिब २ महिना अघिनै यो कसरत गर्दै यो आकर्षक प्याकेज ल्याएका छौं । यो अवसरलाई सदुपयोग गरी यात्रुले सस्तो दरमा सगरमाथा, गौरीशंकर, मेलुम्चे, चोयु, नुप्त्से, आमादब्लम लगायत हिमश्रृंखलाको नजिकैबाट अनुभव लिन सक्नुहुनेछ,’ प्रवक्ता वर्तौलाले भने।

बुद्ध एयरले माउन्टेन फ्लाइटमा एउटा टिकट किने अर्को फ्री

निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले माउन्टेन फ्लाइट सुरु गर्ने भएको छ। आठ महिनापछि सुरु  गर्न लागेको पर्वतीय उडान पर्यटन क्षेत्रलाई टेवा दिने उद्देश्यले सञ्चान गर्न लागेको कम्पनीले जनाएको छ।

यो उडानको एउटा टिकट खरिद गर्दा अर्को टिकट निःशुल्क पाइने अफर ल्याइएको छ। आगामी शनिबार (डिसेम्बर ५) देखि माउन्टेन फ्लाइट सेवा पुनः सुरु गर्न लागेको हो। ‘हामीले करिब करिब पहिलाकै भाडादरमा (प्रति व्यक्ति) यो अफर ल्याएका हौं। प्रत्येक शनिबार सेवा दिन्छौं,’ कम्पनीका प्रवक्ता रुपेश जोशीले भने, ‘शनिबार साप्ताहिक बिदा हुने भएकाले घुम्न चाहनेहरू फुर्सदिला हुन्छन्। त्यसैले पर्वतीय उडान गर्न रुचाउनेहरूलाई अवसर पनि हुन्छ। सुरक्षित रुपमा रिफ्रेस हुन चाहनेलाई ध्यानमा राख्दै गर्दै यो योजना ल्याइएको हो।’ 

बन्दाबन्दी हुनु अघि कम्पनीले माउन्टेन फ्लाइटका लागि प्रति यात्रु १० हजार तीन सय रुपैयाँ लिँदै आएको थियो। यसपटक अफरले यात्रुलाई आकर्षित गर्ने अपेक्षा कम्पनीको छ। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बेस रहेर करिब एक घण्टाको यो उडानमार्फत यात्रुले सगरमाथा, मकालु, गौरीशंकर लगायतका विभिन्न हिमश्रृंखलाको दृश्यालोकन गर्न सक्ने कम्पनीले जनाएको छ। पर्वतारोहण र हिमाल आरोहण गर्न नसक्ने वा समय व्यवस्थापन गर्न नसक्नेहरू यस्ता उडानमा सहभागी हुन्छन्। 

कम्पनीका अनुसार माउन्टेन फ्लाइटका लागि आठ हजार नौ सय रुपैयाँ भाडादर कायम गरिएको छ। ‘यो भाडादरमा ग्राहकले दुई वटा सिट (झ्याल सहित र झ्याल विनाको सिट) प्राप्त गर्न सक्नुहुनेछ। यो योजनाले हिमश्रृङ्खला दृश्यावलोकनका साथै पर्यटन प्रवर्द्धन हुने आशा लिएका छौं,’ जोशीले भने।  कम्पनीका अनुसार यो अफरको योजना नेपाली नागरिकका लागि मात्रै लागू हुनेछ।   साभारː बिजमाण्डू

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.