विराटनगर । आन्तरिक पर्यटन प्रवद्र्धनका लागि सौराहा घुम्न आउने निम्तो लिएर चितवनका पर्यटन व्यवसायीहरुको एक टोली प्रदेश १ आइ पुगेको छ । क्षेत्रीय होटल संघ नेपाल चितवनको अगुवाइमा उक्त टोली निम्तो दिन यहाँ आइ पुगेको हो ।
टोलीले विराटनगरमा प्रदेश १ का पर्यटन व्यवसायीहरु संग आन्तरिक पर्यटनलाई कसरी साटासाट गर्ने भन्नेवारेमा छलफल समेत गरेको थियो । चितवनको सौराहा नेपालको प्रमुख पर्यटकीय स्थलमा पर्छ । कोरोनाका कारण विदेशी पर्यटक आउने सम्भावना न्यून रहेको भन्दै चितवन आन्तरिक पर्यटककको खोजीमा रत्न नगरपालिकाका मेयर, चितवन जिल्ला समन्य समितिका अध्यक्षदेखि २ दर्जन पर्यटन व्यवसायीहरु निस्केका हुन् ।
सौराहाका होटलमा आन्तरिक पर्यटकका लागि २० देखि ४० प्रतिशत सम्म छुट दिइनेछ । ‘आन्तरिक पर्यटन हाम्रो मेरुदण्ड हो त्यसैले सौराहाका होटलहरुले अहिले २० देखि ४० प्रतिशत सम्म छुट दिने गरेका छन्,’ क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष दीपक भट्टराईले भन्नु भयो, ‘एक पटक घुम्न सौराहा जाउँ ।’
चितवनको सौराहामा थारु संकृति झल्किने होटल सहित अन्य धेरै सुविधान छन् । राप्तीको किनारामा चितवन राष्ट्रिय निकुञ्ज छ । निकुञ्जमा आन्तरिक पर्यटकहरुलाई हात्ती सफारीदेखि वन्यजन्तुको दृष्या अवलोकन समेतले मोहित बनाउने गर्छ । यो मौसममा सौराहा घुम्न उपयुक्त मानिन्छ ।
निम्तो लिएर आएको टोलीलाई विराटनगरमा क्षेत्रीय होटल संघका अध्यक्ष राजन श्रेष्ठ, आन्तरिक पर्यटन पुनउत्थान समितिका संयोजक भविशकुमार श्रेष्ठ, लायन रेवतवहादुर कार्की सहितका पर्यटन व्यवसायीले भव्य स्वागत गर्नु भएको थियो । कार्यक्रममा मोरङ जिल्ला समन्य समितिका अध्यक्ष नरेश पोखरेलले कोरोना महामारिमा आन्तरिक पर्यटनलाई वढवा दिन सके पर्यटन क्षेत्र जिवीत रहने भन्दै त्यसका लागि तिनै तहका सरकारले सहयोग गर्नु पर्ने वताउनु भयो ।