पहाडको पर्यटनलाई सघाउन अवलोकन भ्रमण

January 7, 2021     Paryatan Yatra

विराटनगर । आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्नका लागि विराटनगरवाट निस्केको एक टोलीले पूर्वी पहाडी जिल्लाका पर्यटकीय स्थलहरुको अध्ययन अवलोकन भ्रमण गरेको छ ।

पर्यटन बोर्डका पदाधिकारी, प्रदेश १ का पर्यटन व्यवसायीलगायत सहभागी १६ जनाको टोलीले ६ दिनको यात्रा गरेको थियो । टोलीले धनकुटा, तेह्रथुम, भोजपुर र संखुवासभा जिल्लाका विभिन्न पर्यटकीय स्थलहरुको अवलोकन गरेको थियो ।

नेपाल पर्यटन बोर्ड र आन्तरिक पर्यटन पुनरोत्थान समिति प्रदेश १ को संयुक्त आयोजनामा भएको भ्रमणले कोभिड–१९ महामारीका कारण नेपालको समग्र पर्यटन क्षेत्रमा नकारात्मक प्रभावलाई कम गर्दै आन्तरिक पर्यटन प्रवद्र्धनलाई वढवा दिने उदेश्य लिएको थियो ।

टोलीले पर्यटनको अहिलेको अवस्था, पूर्वाधार विकासका साथै टुर प्याकेज बनाउनेबारे अध्ययन अवलोकन गरेको थियो । पर्यटन टोलीले स्थानीय सरकार, विभिन्न जिल्लाका पर्यटन व्यवसायीहरू र सरोकारवालाहरूसँग छलफल गर्नुका साथै प्रदेशका पर्यटकीय गन्तव्य तथा गतिविधिहरूको पहिचान गरी अभिलेख तयार पार्न र समन्वयकारी भूमिका खेल्ने पहलस्वरुप यो भ्रमण गरेको हो ।

विराटनगरबाट निस्केको उक्त टोलीले भोजपुर सदरमुकाममा पर्यटन व्यवसायी र उद्योगी वाणिज्य संघका पदाधिकारीहरुसँग छलफल गरेको थियो । त्यसपछि टोली दिङला पुगेको थियो । त्यहाँ स्थानीय जनप्रतिनिधिहरुसँग छलफल भयो ।

त्यहाँवाट खाँदवारी पुगेको उक्त टोली चैनपुर पुगेर स्थानीयसँग अन्तक्र्रिया गरेको थियो । त्यसपछि टोलीले नुनढाकी, गुफा पोखरीर तेह्रथुमको समेत अबलोकन भ्रमण गरेको थियो ।

भ्रमणले पूर्वी पहाडी जिल्लाका पर्यटकीय गन्तव्यहरुको अवस्थाबारे बुझ्ने काम गरेको आन्तरिक पर्यटन पुनरोत्थान समिति प्रदेश १ का संयोजक भविश श्रेष्ठले बताउनुभयो ।

कोरोना महामारीका कारण थला परेको पर्यटन क्षेत्रलाई यस्ता खालका भ्रमणले भरथेग गर्ने उहाँको भनाइ थियो । पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले पर्यटन व्यवसायीहरुलाई उत्साह थप्नका लागि भ्रमण सफल भएको बताउनुभयो । बोर्ड जस्तोसुकै विपतमा पनि पर्यटन व्यवसायीका साथमा छ भन्ने प्रमाण भ्रमणले पुष्टि गरेको उनले बताए ।

 

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.