भेडेटारमा सेल्फी र टिकटक बनाउनेको घुइँचो

February 10, 2021     Paryatan Yatra

विराटनगर । कोरोना भाइरस महामारीको अवस्था केही मत्थर भएसँगै यतिबेला प्रदेश १ को मुख्यमध्येको पर्यटकीयस्थल भेडेटारमा आन्तरिक पर्यटकको घुइचो लाग्न थालेको छ ।तस्विरः कुमार लुइटेल

कोरोनाको त्रास र लकडाउनले गर्दा झण्डै एक वर्ष मजाले घुमफिर गर्न नपाएकाहरुको गन्तव्य भेडेटार हुन थालेको छ। यसअघि पनि पर्यटकको रोजाइमा यो स्थान प्रमुख थियो।

भेडेटार मात्र होइन प्रदेश १ का पर्यटकीय क्षेत्रहरुमा पुनः आन्तरिक पर्यटकको चहलपहल शुरु भएको छ। चिसो मौसम र प्राकृतिक रमाइलोमा रमाउन भेडेटार पुग्ने आउने युवायुवतीहरु सेल्फी खिच्न र टिकटक बनाउन झुम्मिने गरेका छन् ।

तस्विरः कुमार लुइटेल

होटल व्यवसायी संघ भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दाली भेडेटारमा आन्तरिक पर्यटको संख्या बाक्लिन थालेको बताउँछन् । यहाँ अहिले पचास प्रतिशत जति होटलका कोठा बुक हुन थालेका छन् ।

भेडेटार कोसी पहाडको चिसो ठाउँ हो । तराईमा उखरमाउलो गर्मी शुरु भएपछि अझ धेरै मानिसहरु घुम्न पुग्छन् । भेडेटारमा फुड फेस्टिभलमार्फत भारतीय पर्यटक प्याकेज कार्यक्रम भने यसपटक अंग्रेजी नयाँ वर्षमा हुन सकेन ।

“योपल्ट बैशाखलाई लक्ष्य गरेर फेस्टिभल गर्दैछौं,” रुम्दालीले भन्नुभयो, “फेस्टिभलसँगै वरिपरिको पर्यटकीय क्षेत्रको सर्ट टुर प्याकेज पनि समेट्ने तयारी छ । हेलिकप्टरबाट पाथीभरा र हलेसीसम्म दर्शनार्थी लग्छौं ।’ उहाँका अनुसार भेडेटारमा विगत आठ वर्षदेखि लगातार फेस्टिभल हुँदै आएको थियो ।

भेडेटारमा पाथीभरा, आत्माघर, नमस्ते झर्ना, नाम्जे होमस्टे जस्ता पर्यटकीय क्षेत्र छन् । त्यसबाहेक भेडेटारमा विभिन्न संघसंस्थाले तराईमा गर्मी चढेपछि कार्यक्रम गर्न उतै आयोजना गर्ने गर्छन् ।

 

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.