विराटनगर । सुनसरीको बर्जु गाउँपालिका आन्तरिक पर्यटकहरुका लागि आकर्षक गन्तव्यका रुपमा विकास भएको छ । यहाँ रहेका विभिन्न मठ मन्दिरलगायत धार्मिक स्थल, ताल, पोखरी अनि प्राकृतिक सुन्दरताले भरिएका स्थानहरु आगन्तुकलाई पर्खिरहेका हुन्छन् ।तस्विरः नविन रेग्मी
नजिकमा पर्ने विराटनगर अनि सुनसरीका विभिन्न सहरी क्षेत्रबाट अलि पर रहेको शान्त एवं ग्रामीण जनजीवनको झल्को पाइने बर्जु क्षेत्र घुमघामका लागि उत्कृष्ट गन्तव्यका रुपमा अवस्थित छ । यो क्षेत्रमा तराइका थारुलगायत मौलिक रैथाने समुदायको बसोबास छ। थारु बहुल क्षेत्र भए पनि अरु विभिन्न जात जाति मिलेर बसोबास गरेका छन् । मिस्रित रुपमा विभिन्न समुदायको संस्कृति, पर्व अनि सांस्कृतिक पक्षहरुको रमाइलो संगमका रुपमा पनि बर्जु क्षेत्रलाई लिन सकिन्छ ।तस्विरः नविन रेग्मी
प्रदेश १ मा पर्ने उत्कृष्ट पर्यटकीय गन्तव्यमा बर्जु ताल पर्छ । प्राकृतिक ताल, जैविक विविधता अनि चराचुरुंगीको बासस्थान भएकाले पनि यसको महत्व बेग्लै छ। सुनसरीको बर्जु गाउँपालिका वडा नम्बर ५ मा रहेको यो ताल पर्यटकीय दृष्टिले जति महत्वपूर्ण छ त्यसभन्दा बढी दुर्लभ चराहरु अनि सिमसारको अध्ययन लागि चर्चित छ ।
प्रदेश १ को राजधानी ऐतिहासिक नगर विराटनगरबाट १२ किलोमिटरको दूरीमा पश्चिमतर्फ रहेको यो तालले सबै उमेर समूहका आगन्तुकलाई आकर्षित गर्ने गरेको छ । बर्जु ताल क्षेत्र पुग्न विराटनगरको बरगाछीबाट कालोपत्रे सडक हुँदै पश्चिमतर्फ लाग्नु पर्छ । केसलिया खोला तरेपछि सुनसरीको बर्जु गाउँ पुगिन्छ । पश्चिमतर्फको सडक नछोडी यात्रा अघि बढाएपछि चिमडी बजार आउँछ । त्यही बजारको उत्तरतर्फ प्राकृतिक सुन्दरताबीच लोभ्याइरहेको हुन्छ बर्जु ताल ।तस्विरः नविन रेग्मी
विराटनगरवाट सिटी रिक्सा, टेम्पोदेखि साना खाले भाडाका सवारी साधन पाउ सकिन्छ । वर्जु तालले कूल १५२ बिघा क्षेत्रफल ओगटेको छ भने यसअन्तर्गत ठूलो ताल ६० बिघा, सानो पूर्व ताल ३० बिघा र पश्चिम निर्माणाधीन अवस्थामा रहेको ३२ बिघाको ताल देख्न सकिन्छ ।
ताल क्षेत्रमा वनभोज र घुम्नका लागि आन्तरिक पर्यटक मोरङ, सुनसरी, झापा लगायतका जिल्लाबाट आउने गर्छन् । ताल क्षेत्रबाट सीमावर्ती भारतीय शहरी क्षेत्रको दूरी सरदर १२ किलोमिटर मात्र रहेकाले यहाँ भारतको जोगबनी, वीरपुर, फुल्काहा, घुस्की, बस्मतिया जस्ता क्षेत्रबाट धेरै संख्यामा पर्यटक घुम्न आउने गर्छन् ।
बर्जु तालमा साइबेरियाकदेखिका चराहरु आइपुग्छन्। विभिन्न प्रजातिका चरा हिउँदको समयमा आउने र फागुनपछि फर्कने गर्छन् । यहाँ ११५ प्रजातिका चराले चरण एवं बसोवास गर्ने गरेकाले अमेरिका, बेलायत, फ्रान्स, जर्मनीलगायतका चरा अन्वेषक आउने गर्छन् ।
ताल क्षेत्रको वरपर सिमसार क्षेत्र भएकाले चरा, वनस्पति र जलचर जीवजन्तुुका विषयमा अध्ययनरत विद्यार्र्थी तथा शोधकर्तालाई शोध तयार गर्न उपयुक्त स्थल भएको छ । यो तालको विषयमा महाभारतमा पनि उल्लेख भएको र राजा विराटको गौशालाका गाई चर्ने चरण क्षेत्र भएको मान्यता रहेको छ । पहिले ३५० बिघा क्षेत्रफलमा फैलिएको ताल थियो ।
पर्यटकहरुलाई तालमा रमाउनका लागि १४ वटा चार सिटको डुङ्गा र एउटा ठूलो यान्त्रिक डुङ्गा छ । तालको वरिपरि घुम्ने स्थानमा पर्यटकलाई थकान मेटाउन विश्रामका लागि फलामे कुर्सीको व्यवस्था गरिएको छ । ताल क्षेत्रमा प्रवेशका लागि प्रतिव्यक्ति १० रुपैयाँ शुल्क लाग्छ । तालको चारैतर्फ बाटो, चारवटा वनभोज स्थल, शौचालय, छातासहितको ६० वटा बस्ने ठाउँ, बालबालिकाको पार्क, तालको मध्यभागमा मन्दिर र चरा बस्न आइसल्याण्ड लगायत संरचना छन् ।