३० करोड लगानीमा तालतलैयामा वाटर पार्क

February 28, 2021     Paryatan Yatra

विराटनगर । सुनसरीको इटहरीमा निर्माण गरिएको वाटर पार्क भोलीवाट सञ्चालनमा आउँदैछ । सोमबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले उक्त र्पाको औपचारीक उद्घाटन गर्ने कार्यक्रम छ ।

‘इपी ल्यान्ड एन्ड वाटर पार्क’ नाम दिइएको उक्त र्पाक ३० करोड रुपैयाँको लगानीमा निर्माण भएको हो । कोरोना महामारीका कारण एक बर्षपछि उक्त पार्क सञ्चालनमा आउन लागेको हो । पार्कका अध्यक्ष एवम् इटहरी उद्योगवाणिज्य सङ्घका अध्यक्ष भीमबहादुर पौडेलले र्पाक उद्घाटनपछि कोरोनाले थला परेको यस क्षेत्रको पर्यटन केही चलाएमान हुने आशा व्यक्त गर्नुभयो ।

पार्कमा अध्यक्ष पौडेलसहित पूर्व एआइजी कृष्ण बस्नेत, पूर्व डिआइजी ज्ञानविक्रम शाह, र काठमाडौंको वु पी ल्यान्ड एम्युजमेन्ट वाटर पार्कका सञ्चालक जगतबहादुर बस्नेत समेतको संयुक्त लगानी छ ।

इटहरीको पर्यटकीय क्षेत्र तालतलैयामा इपी ल्यान्ड एन्ड वाटर पार्क ६ बिघा क्षेत्रफलमा सञ्चालनमा आउने लागेको हो । पार्क सञ्चालनका कारण इटहरीमा आउने आन्तरिक तथा वाह्य पर्यटक रमाउने ठाउँ प्राप्त हुनेछ । यहाँ बालबालिका, तन्नेरी, प्रौढ सबै उमेरका मानिसले पारिवारिक मज्जा लिन पाउने छन् ।

‘पार्कमा पानीसँग खेल्ने अत्याधुनिक वाटर स्लाइड आठ वटा राखिएका छन्’, अध्यक्ष पौडेलले भन्नु भयो, ‘एक स्लाइडमा एक पटकमा बढीमा आठ जनाले खेल्न सक्नेछन् । दिनभरिमा ५ हजारले यसको रमाइलो उठाउन सक्नेछन् । पार्कमा एकै पटक ६ सय मानिस अटाउने एक वेभ पुल राखिएको छ । यस पुलमा बसेपछि समुद्रको छालमा बसेकोजस्तो आनन्द आउँछ ।’

जोरासिक पार्कँको यहाँको अर्को सुन्दर विशेषता हो । जोरासिकमा बोटिङ गर्न सकिन्छ र बोटिङ गर्दै डाइनोसर लगायतका लोप भइसकेका प्रजातिका जनावरको अवलोकन गर्न सकिन्छ । पार्कमा जिप लाइन टावर बनाइएको छ । यसमा एक टावरदेखि अर्को टावरसम्म डोरीमा चिप्लिएर जाने खेल खेल्न सकिन्छ । साथै, वाल क्लाइम्बिङ (चट्टानमा चढ्ने) स्थान पनि निर्माण गरिएको छ । पार्कमा पहिलो स्नोपार्क केही समयपछि सञ्चालनमा ल्याइने छ । यसमा हिउँबाट आनन्द लिने कार्य हुनेछ ।’

पार्कभित्र ४ वटा छुट्टाछुट्टै रेस्टुरेन्ट पनि सञ्चालनमा आउने छन् । जसमध्ये एक बार्बे क्यु हुनेछ र अर्को लन्च वा डिनरका लागि फाइन डाइनिङ राखिएको छ । त्यस्तै फास्ट फुडका लागि अर्को रेस्टुरेन्ट बनाइएको छ । यसबाहेक इन्डियन फुडकोर्ट र आइसक्रिम पार्लर पनि हुनेछ । पार्कमा पहिलो चरणमा ६० जनाले रोजगारी पाएको जानकारी पत्रकार सम्मेलनमा दिइयो ।

 

 

 

 

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.