सुनसरी । बर्जु गाउँपालिकाको कार्यालयबाट करिब अढाइ किलोमिटर उत्तर लागेपछि एउटा बजार आउँछ । यो बजारमा जानका लागि विराटनगरको बरगाछीवाट पश्चिम तर्फको कालोपत्रे सडक समाउनु पर्ने हुन्छ ।
केही पर पुगेपछि केलसिया खोलाको पुल तर्नुपर्छ । त्यहाँबाट पारि पुगेपछि सुनसरी जिल्लाको बर्जु गाउँपालिकाले आगन्तुकको स्वागत गर्छ ।
पश्चिम तर्फको यात्रा जारी राखेपछि शुक्रबारे चोक आउँछ । शुक्रबारेमा सहिद गेट पनि छ । त्यहाँबाट अघि बढेर केही पर पुगेपछि चिमडी बजार पुगिन्छ । बर्जु गाउँपालिका ६ नम्बर वडामा पर्ने यो बजार विस्तार हुने क्रममा छ । विराटनगरको बरगाछीवाट १० किलोमिटर कालोपत्रे सडक पार गरेपछि पुगिने चिमडी बजारका पाइने माछाको स्वाद जो कोहीको जिव्रोमा झुण्डिने गर्छ । यहाँसम्म पुग्न विराटनगरवाट सिटी रिक्सा, टेम्पोदेखि साना खाले भाडाका सवारी साधन प्रयोग गर्न सकिन्छ ।
यो बजारमा पकाएका माछा खानका लागि १५ वटाभन्दा बढी होटलहरु छन् । तीमध्ये वुधनारायण चौधरीको माछा होटल, कृष्ण माछा होटल, धीरज माछा र मन्जु होटल बढी चल्तीका हुन् । यहाँ स्थानीय जातका स्वादिष्ट माछा पाइन्छ । होटलहरुमा गैंची, पोठी, डेढी, बुहारी, रहु, झिङगे, बामे, लट्टा जस्ता रैथाने जातका माछा पाउन सकिन्छ ।
खोलाबाट सिधै समातेर ल्याइने भएकाले माछा धेरै स्वादिलो हुने गर्छ । त्यसमा पनि विशेष प्रकारले तयार पारिएको मौलिक मसलाको प्रयोग गरिएकाले त्यहाँको माछाको परिकारले सबैलाई लोभ्याउने गरेको छ। माछाबाहेक यहाँ घुङगी, परेवा, हाँस, लोकल कुखुराको मासु, बट्टाइ, सुँगुरको मासुका परिकार पनि पाइन्छ ।
विषेश गरी माछा यहाँका आदिवासी चौधरीहरुका होटलमा बढी मिठो हुन्छ। यो बजारमा अर्डर अनुसार खाना पनि खान पाइन्छ । यहाँ स्थानीय चामलबाट बनाएको साँधेको भुजा र माछाको स्वाद भने एकपटक खाएकाहरुले कहिल्यै भुल्दैनन् । चिमडी बजारको नजिकै यस क्षेत्रकै महत्वपूर्ण र एकपटक नपुगी नहुने बर्जु ताल रहेको छ ।