कोशीटप्पुमा ४ सय ९८ अर्ना

April 26, 2021     Paryatan Yatra

सुनसरी : कोशीटप्पु वन्यजन्तु आरक्षमा अर्नाको संख्या बढ्दै गएको छ । तीन वर्षमा ५७ वटा अर्ना बढेको पाइएको छ । सन् २०१८ मा गरिएको अर्ना गणनामा ४ सय ४१ वटा पाइएकोमा यही वैशाख ६ देखि ११ गतेसम्म गरिएको गणनामा ४ सय ९८ वटा पाइएको छ ।आरक्ष कार्यालय नजिकै कोशी बाँधमा  चर्न निस्किएको भाले अर्ना । तस्वीर : कमल रिमाल/उद्घोष

तीन वर्षमा यतिको संख्यामा बृद्धि हुनु सामान्य भएको जानकारहरुले बताएका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र आरक्षले ६ दिन लगाएर गणना गरेको छ ।

आइतबार आरक्ष कार्यालयमा एक समारोहका बीच सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश ढकाल र कोशी गाउँपालिका अध्यक्ष अयुव अन्सारीले अर्नाको तथ्याङ्क सार्वजनिक गरे ।

यस पटकको गणनामा २ सय २१ वयस्क भाले र १ सय ६२ वयस्क पोथी अर्ना पाइएको छ । त्यस बाहेक ४८ वटा अर्ध वयस्क, ३५ वटा २ वर्षे बच्चा र ३२ वटा एक वर्षे बच्चा पाइएको छ ।

कोशी पंक्षी समाजका सहसचिव तथा स्थानीयवासी चक्र तिम्सिनाका अनुसार, एक वयस्क माउले वर्षमा एक बच्चा जन्माउनु पर्ने हो । तर, पाल्तु भैंसीले जस्तै अर्नाले बच्चा जन्माएको भए टप्पुमा अर्नाको संख्या धेरै हुने उनी बताउँछन् ।

१ सय ६२ वयस्क माउले तीन वर्षको अवधिमा दुई वटा मात्रै बच्चा जन्माएको भए ३ सय २४ वटा अर्ना बढ्ने थियो ।

अर्ना संरक्षणकै लागि २०३२ सालमा कोशीटप्पु वन्यजन्तु आरक्षको स्थापना गरिएको थियो । स्थानीयका पाल्तु भैंसीले अर्नाको वासस्थान र चरनलाई असर गरेकाले पनि अर्नाको संख्या उल्लेख्य रुपमा बढ्न नसकेको बताइन्छ ।

आरक्षका प्रमुख संरक्षण अधिकृत अशोक रामका अनुसार, अर्नासँग मिल्दोजुल्दो ३ सय २ वटा पाइएपनि त्यसको गणना गरिएन ।

अर्ना र पाल्तु भैंसीको सम्सर्गबाट जन्मिएकाको पहिचान गरि गणना गरिंदैन । ‘हाउभाउ अर्नाकै छ, सिङपनि मिल्छ तर, अर्नाको जस्तो सेतो धर्का छैन’ रामले भने– ‘घाँटी, खुट्टा, मुख र पुच्छरमा सेतो धर्का भएकालाई मात्रै हामीले अर्ना मानेर गणना गरेका छौं ।’

पाल्तु भएपनि जंगलमै बास बस्ने भएकाले भैंसीसँगको सम्सर्गमा जन्मिएका ‘ब्याक क्रस’ अर्नालाई सुचिकृत गर्ने गरिएको छैन ।

अर्ना गणनामा आरक्षको भित्री भागलाई चार वटा ब्लकमा बिभाजन गरेर सञ्चार उपकरणसहितका गणकहरु परिचालन गरिएको विभागका सहायक इकोलोजिष्ट हेमराज आचार्यले बताए ।

कुनै नछुटोस् र कुनै नदोहोरियोस् भनेर सञ्चार उपकरणबाट एकले अर्कोसँग कुरा गर्ने र अर्नाको फोटोसम्म खिचेर गणना गरिएको आचार्यले जानकारी दिए । साभार उद्घोष दैनिकवाट

 

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.