धनकुटा । महालक्ष्मी नगरको प्रमुख पर्यटकीय स्थल हो वन झाँकी पार्क । नगर पालिकाको केन्द्र जितपुर बजारबाट नजिकै रहेको यो पार्क वडा ६ र ७ को सिमानामा पर्छ ।
पार्कको प्रमुख प्रवेशद्वारबाट भित्र प्रवेश गर्नासाथ वनझाँक्रीको आकर्षक मूर्ति देख्न सकिन्छ । त्यहाँ पुग्नेहरु मूर्तिसँग फोटो खिचाउने रहर गर्छन् ।
त्यहाँबाट उत्तरतर्फ मास्तिर जानका लागि करिब ११ सयवटा सिंढी बनाइएको छ । दायाँबायाँ रेलिङ्ग सहितको सिँढी चढ्नुको मजा अर्कै हुन्छ ।
बीचमा भेटिने विश्रामस्थल अनि सल्लाघारीको सिरिरी हावाले आनन्दित बनाउँछ । पार्कभित्र व्यवस्थित शौचालय छन् । यस क्षेत्रबाट विश्वकै होचो अरुण उपत्यकाको दृश्यावलोकनका साथै विभिन्न हिमशृंखला देख्न सकिन्छ ।
पार्कभित्र रेष्टुरेन्ट समेत छ । खान बस्नका लागि जितपुर बजारमा होटल तथा लज पाइन्छ । यो पार्क पुग्न जितपुर बजारबाट करिब आधा घण्टा पैदल यात्रा गर्नु पर्छ । सवारी साधनबाट १० मिनेटमा पुग्न सकिन्छ ।
पार्क निर्माण भएसँगै आन्तरिक तथा वाह्य पर्यटकलाई आकर्षित गर्दै नगरपालिकाले यसलाई सौन्दर्य पार्कका रुपमा विकास गर्ने लक्ष्य राखेको छ ।
कसरी पुग्ने महालक्ष्मी
काठमाण्डौंबाट विराटनग सम्मको हवै यात्रापछि विराटनगरबाट धनकुटा हुदै तेह्रथुम र संखुवासभा सम्म जाने यात्रुवाहक बसहरु सहज रुपमा विराटनगरमा पाइन्छन् । विराटनगरबाट करीव १०५ किलोमीटरको दुरी पार गरेपछि धनकुटा सदरमुकाम पुगीन्छ । हवै यात्राका अलवा काठमाण्डौबाट धनकुटाको हिले र तेह्रथमका लागि रात्री बस समेत चल्ने गर्छन् ।
सदरमुकाम धनकुटा बजारबाट १४ किलोमिटर उत्तर कोशी राजमार्गमा रहेको सानो त्रीसुले बजारदेखि २२ किलोमिटरको दुरिमा महालक्ष्मी नगरको केन्द्र जितपुर बजार छ । यो मार्ग छथरजोरपाटी गाउँ पालिका भित्र पर्ने हात्तिखर्क पन्चमी(पिङडाडा र दुई पालिका सिमाको माङमाया खोला हुँदै अर्खौले कटेर जितपुर बजार पुगिन्छ । जितपुर बजार पुग्न धनकुटाको अर्को उत्तरी बजार सिधुवाबाट अर्को मार्गपनी प्रयोग गर्न सकिन्छ । यो बजारबाट १४ किलोमीटरको दुरिमा रहेको जितपुर बजार पुग्न चौकीडाडा, आहाले, नेताचोक, निगाले लगायतका ग्रामिण बजार छिचोल्नु पर्छ । यी दुबैमार्गमा बाह्रै महिना पालिकाको केन्द्रसम्म यातायातका साधन सन्चालन हुन्छन ।