प्राकृतिक सुन्दरताको फूलबारी तिम्बुपोखरी

June 18, 2021     Paryatan Yatra
  •  गिरिराज बास्कोटा

चिटचिट पसिना । सास फेर्नै सकस, बिस्तारै उकालियौं हामी । त्यहाँको  बोर्डमा उचाई लेखिएको थियो–४४८० मिटर । हामी डाँडामा पुग्दा कुहिरो क्षितिजमा बिलायो ।

अहा ! तिम्बुपोखरी ! घामको चुम्बन तिम्बुको पानीमा पर्दा आगन्तुकले चढाएका पैसा पोखरीको फेदमा टलक्क टल्किए । त्यही उज्यालोमा झल्किँदै थियो दर्शनार्थीका सपना।

पोखरीमा पूजापाठ गर्नेहरु उलेख्य भेटिए । चार घण्टा उकालो तथा तेर्सो बाटो हिँडेर हामी त्यहाँ पुगेका । लेक लागेर, सास फेर्न नसकेर, थाकेर हैरान भएकाहरु पनि त्यहाँ पुगेसी स्वस्थ्य देखिए । त्यहाँको प्रकृतिमा रमाउन थाले।

पोखरीलाई धार्मिक आस्था केन्द्र मानिन्छ । अग्लो ठाउँमा अवस्थित पोखरीलाई चट्टाने पहाडले घेरेको छ । त्यही पहाड टलक्क टल्किन्छ पोखरीमा । पानी कताबाट उम्रिरहेको छ भन्ने भेउ पाउनै कठिन । सफा छ पोखरी।

हामीले पनि पानी छोयौँ । ढोग्यौं र छेवैको मन्दिरमा आस्थाको शिर झुकायौँ । यसरी झुकाउनेहरु पूर्वकामात्र हैन सिक्किम, पश्चिम बंगालदेखि पश्चिम नेपालसम्मका थिए।

तिम्बु पोखरीमा तीन पटक पुग्नु पर्ने मान्यता मनोकांक्षा पुरा हुने वि  श्वासले बर्सेनी भारतीय तिर्थालु समेत आउँछन् तरत्यहाँ खान/बस्न होटल सुविधा छैनगोठमा बस्नु पर्छ।

विहान हिमाल छर्लङ उघ्रिएको थियो रे ! हामी डाँडा चढ्न ढिलो भएछ, कुहिरोको साम्राज्य चलिहाल्यो । कुहिरो र घामको लुकामारी चलिरह्यो।

फुत्त निस्कने कुहिरो र क्षणभर उघ्रिने लेकाली मौसम । तिम्बुपोखरीका दृश्य लोभलाग्दा छन् जुन पाँचथर र ताप्लेजुङको सिमानामा पर्छ । पाँचथरको याङवरक गाँउपालिका र ताप्लेजुङको सिदिङमा गाँउपालिकाको संगमस्थलमा । पोखरी र आसपास क्षेत्र प्रर्वद्धन गर्न सिदिङ्मा गाँउपालिकाले महोत्सव मनायो यसपाली । त्यही महोत्सवमा झुम्यौं हामी पनि।

त्यही क्षेत्रका कृष्ण प्याकुरेलले पथप्रर्दशक तथा संयोजन गरे जसले गर्दा हामीलाई सजिलो भयो । मेरा लागि यो यात्रा नौलो त थिएन तर पनि रोमान्चित हुन पाएँ । हाम्रो टिमको अगुवाई नरेन्द्रकुमार केरुङले गरे । उनका रमाइला किस्सा र अनुभवले थकानमा पनि जोश भ-यो।यात्रामा सुरेन शिशिर केरुङ, प्रताप राई, राम आङदेम्बे, न्यूमन मुखिया जस्ता तन्नेरीहरुसँग गीत गाँउदै हिँड्यौं । त्यसो त ताप्लेजुङका पदयात्रीको ठूलो संख्या पनि मिसियो।

कतै अग्ला तथा कहिले होचा तर चिटिक्क पहाड पहाडलाई स्पर्श गर्दै बगेको पानी उतिकै कञ्चन तिम्बु पोखरीको प्रख्याती बढ्दै अग्ला हरियाली पहाड, लेकाली फूलहरुले भरिएको फराकिलो भुगोल निकै आकर्षक प्रातिक फूलबारीमा  रंगविरंगका फूल।

जैविक बिविधिताको विशाल भण्डार भेटिन्छ । केन्जो, माइकोपिला, विखुमा लगायत जडीबुटी पाइन्छ त्यहाँ । चौंरी चरेको देखिन्छ । डाँडातिर भेडीगोठ छन्।

तिम्बु पाखेरीका लागि सडकदेखि दुई दिन एक विहानको पदयात्रा गर्नु पर्छ । तिम्बुमा धार्मिक पर्यटक बढिरहेका गोठ व्यवसायी भीम भण्डारी बताउँछन् । यो क्षेत्रको प्रकृति, हावापानीको, प्राकृतिक बनोट तथा तिम्बु पोखरीको धार्मिक महत्व भारतमा समेत फैलिएको सिक्किमे युवा अशोक क्षेत्रीले सुनाए।

सिक्किम सरकारले नेपालको सीमा चिवाभञ्याङमा सडक जोड्ने काम अघि बढाएको छ । उसले पर्यटकलाई प्राथमिकता राखेको छ । यसले तिम्बु क्षेत्र घुम्नेको संख्या बढ्ने आशा गरिएको छ।

तिम्बु पोखरी दर्शनले मनोकांक्षा पुरा हुन्छ । त्यसैले तिर्थालु भाकल गर्छन् । पोखरीमा पोखरीमा तीन पटक पुग्नु पर्ने मान्यता छ।

हिमाली क्षेत्रमा रहेको यो पोखरी वरपर प्रकृतिले अनेकन उपहार दिएको भेटिन्छ । तिम्बु पोखरीदेखि माथि पुग्दा सिक्मिको लक्ष्मी पोखरी लगायत पोखरी भेटिन्छन्।

तिम्बु पाखेरी पुग्दा स्वर्गमा पुगे झैं लाग्छ । यसपाली राजनीतिक दलका नेता, जनप्रतिनिधि, सरकारी निकायका प्रमुखहरु तिम्बु पोखरी पुगेका थिए । गोठालाहरुले तिम्बु क्षेत्र विकास गरी पर्यटनस्थल बनाउन सरोकारवालाको ध्यानाकर्षण गराएका थिए।

कठिन भुगोल छिचोलेर पोखरी दर्शन गर्न पाइन्छ । हामी पाँचथर सदरमुकाम फिदिमबाट च्याङथापु हुँदै वेतेनी भन्ने ठाँउबाट हिँडेर पोखरी गएका । बेतेनीसम्म कच्ची बाटोमा मोटरसाइकल हुँइक्यायौं । ताप्लेजुङको कालीखोलामा बास बस्यौँ । लेकाली मकै पोल्दै खाएर गीत गायौं।

तिम्बु पोखरी जानेहरुले गर्दा गाउँ भरिभराउ थियो । भोलिपल्ट विहानै उकालो लाग्यौँ । नाक ठोकिने उकालो जुकाको राजधानी रहेछ । दोश्रो दिनको बसाई विखेचौरमा भयो । भीम भण्डारी, डम्मर भण्डारीहरुले हामीलाई साथ दिए । पाँचथर र ताप्लेजुङबीच दोहोरी नै चल्यो । पर्सिपल्ट विहान पाँच बजेर हिँडेर नौ बजे तिम्बु पाखेरी पुग्यौं । बाटोभरी देखिएको भुगोल, चराचुरुङ्गी, फूल लगायत जैविक विविधता उत्तिकै आकर्षक थियो । हरेक दश मिनेटमा क्यामेरा चलाउन मन लाग्ने।

तिम्बू आफूमात्र सौन्दय साटेर एक्लो फक्रिएको छैन जता हे-यो उतै रमाइलो देखिन्छ । फराकिला चौर, आकर्षक डाँडा, हिमाली दृष्य, लेकाली भुवनोट, गोठहरु आदि।

यात्रामा बसाई गोठमै हुने गर्छ । एउटै गोठमा २५ जना भन्दा बढी बस्नु पर्छ मेला लाग्ने बेलामा । एकातिर महिला, अर्कातिर पुरुष र वीचमा अगेनो । आगो रातभरी ननिभ्ने । त्यहीँ पकायो, त्यहीँ खायो, त्यहीँ सुत्यो । दुध, ध्यू र चौरीको छुर्पि प्रशस्त।

साउनदेखि असोजसम्म घुमन्तेहरु आउँछन् । चिसो बढ्दै गएपछि गोठ औल झर्छन अनि खाने/बस्ने समस्या हुन्छ । डाँडाहरु फराकिला र सुन्दर छन् । मनभरी आनन्द दिन्छ । गोठ पनि ढुंगा र काठको । फोन खासै चल्दैन।

तिम्बु पोखरी जाने विभिन्न बाटा छन् । पाँचथर सदरमुकामदेखि मध्यपहाडी लोकमार्ग हुँदै वेतनीसम्म जिपमा । त्यहाँवाट कालीखोलाको बाटो हुँदै जाने । यहीँबाट बर्मेहुँदै तिम्बु पोखरी पुग्न सकिन्छ । यस्तै मध्यपहाडी लोकमार्गको पूर्वी प्रस्थानविन्दु चिवा भञ्याङहुँदै पनि पुग्न सकिन्छ । इलामवाट माइमझुवा हुँदै फालोट निस्किएर पनि जान सकिन्छ । इलामवाट सन्दकपुरहुँदै पाँचथरबाट पनि पुग्न सकिन्छ । यात्रामा ओखती र खानेकुरा बोक्नु पर्छ । अनि फर्किंदा चौंरीको दुधबाट बनेका घ्यू, छुर्पि कोशेली ल्याउन सकिन्छ।  साभार कन्जे खबरवाट

 

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.