पर्यटकको रोजाइमा उर्लाबारीको बेतिनी सिमसार

July 1, 2021     Paryatan Yatra

उर्लाबारी (मोरङ) । पूर्वपश्चिम राजमार्गअन्तर्गत उर्लाबारी–३ मंगलबारे चोकबाट करिब २ किलोमिटर उत्तरमा चारकोसे जङ्गलभित्र छ– बेतिनी सिमसार ।

बेतिनी सामुदायिक वन उपभोक्ता समूहले संरक्षण गर्दै आएको उक्त सिमसारमा उर्लाबारी नगरपालिका, प्रदेश सरकार र संघीय सरकारबाट सहयोग प्राप्त हुँदै आएको छ । यो सिमसार आन्तरिक पर्यटनका साथै वनभोजका लागि पनि उपयुक्त स्थल बन्दै गएको छ ।
वनभोजका लागि टहरा निर्माण, बिजुली तथा खानेपानीलगायतको ब्यवस्थापन गरिएको छ । आन्तरिक पर्यटक तान्न सफल यो सिमसार निकै आकर्षक छ । बाल उद्यान, कृत्रिम पाटे बाघ, बोटिङ, कृत्रिम पोखरी यहाँका आकर्षण हुन् । सिमसारमा जलयात्राको मज्जा लिन पुग्नेको संख्या दैनिक बढ्दो छ ।
५८ हेक्टर क्षेत्रफलमा फैलिएको यो सिमसारमा बिदाको समयमा सिमसार घुम्न आउनेको संख्या अत्यधिक हुन्छ । सिमसार क्षेत्रमा तारजाली, पक्की शौचालय, चौतारा, सडक ग्राभेललगायत बनाइएको छ । सिमसारलाई व्यवस्थित बनाउन प्रवेश शुल्क प्रतिव्यक्ति १० तोकिएको छ ।
यहाँ सिमसार क्षेत्रमा बेत, सर्पगन्धा, हर्रो, अमला, लहरे, टिम्बुर, सुनाखरीजस्ता वनस्पति तथा मैना, लुइँचे, धनेश, मयूर, बट्टाईं, हाँडीफोर, बकुल्लालगायत चराचुरुङ्गी पाइन्छन् । उक्त स्थान आसपास हरिण, चितुवा, बँदेल, दुम्सी, सालक, वन बिरालो, गोहोरो, अजिङ्गरलगायत जीवजन्तु पाइन्छन् ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.