धार्मिक पर्यटकीय गन्तब्य बन्दै सूर्यकुण्ड

July 4, 2021     Paryatan Yatra

सुनसरी । बराहक्षेत्र नगरपालिकास्थित सूर्यकुण्ड पनि पूर्वकै पर्यटकीय गन्तव्य स्थलको रुपमा रहेको छ । वडा १ स्थित ऐतिहासिक, धार्मिक, प्राकृतिक सुन्दरताले सूर्यकुण्ड मनमोहक छ । वराहक्षेत्रको चतरा र धरानको मङगबारे हुँदै पछाडि कच्ची बाटोबाट सहजै सूर्यकुण्ड पुग्न सकिन्छ । धनकुटाको आहाले र धरानको बिष्णुपादुकासँग जोडिएको सूर्यकुण्ड मोटरसाइकल तथा साना भ्यानबाट पुग्न सकिन्छ । पहाडी क्षेत्रमा रहेको सूर्यकुण्ड पर्यटकीय क्षेत्र भए पनि पर्यटकीय प्रवद्र्धन हुन सकेको छैन ।

सूर्यकुण्डबाट देखिने चतरा बजार, सप्तकोशी नदी, कोका नदी, खोला, हरियाली डाँडा, पाखा छहराले गर्दा प्राकृतिक रुपले सुन्दर छ । साथै सूर्यकुण्ड ऐतिहासिक, धार्मिक र सांस्कृतिक रुपले पनि महत्वपूर्ण रहेको छ ।

किम्बदन्तीअनुसार यहाँ जंगबहादुर राणाले रोपेको ऐतिहासिक बिपलको रुख, आदि बराह सूर्यकुण्ड, भवानीथान, गप्तेश्वर मन्दिरहरु छन् । ती स्थलहरुले सूर्य कुण्डको ऐतिहासिकता र धार्मिक महत्व दर्शाउँदै आएका छन् । सूर्यकुण्डको अर्काे विषेशता भनेको त्यहाँ आसपास राम्रै बसोबास छ ।

स्थानीय आदिवासी जनजाति समुदायको संस्कृतिले किरात राई जातिको कला, संस्कृति, रितिरिवाजजन्य संस्कार, भाषा, जीवनशैलीले पुख्र्यौली परमपरालाई जीवन्त बनाएको पाइन्छ । उधौंली र उभौली पर्वको बेला लाग्ने मैलाले सूर्यकुण्डमा आदिबासी संस्कृति आदिकालदेखि थियो भन्ने अनुभव गराउँदछ ।

तराईसँग छोटो दूरीमै जोडिने बराहक्षेत्र, चतराधाम, बिष्णुपादुका र धरानको नजिकै रहेको सूर्यकुण्ड आफैंमा पनि सर्वगुणसम्पन्न छ । हराभरा डाँडा पाखा रहेको क्षेत्र आन्तरिक पर्यटनलाई लोभ्याउन सक्ने प्राकृतिक स्थल हो ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.