पर्यटकीय क्षेत्र भोगटेनीमा मगर संग्रहालय बन्दै

July 6, 2021     Paryatan Yatra

मोरङ । मगर संग्रहालय र भोगटेनी पर्यटकीय क्षेत्र गाउँपालिकाको केन्द्र केराबारीदेखि करिब ८ किलोमिटर उत्तरमा पर्छ । केराबारी–समेवा खडक खण्डमा पर्ने यो पर्यटकीय क्षेत्र ट्रेकिङ्ग र हाइकिङ्ग गरेर करिब तीन घण्टामा पुग्न सकिन्छ । मगर संग्रहलयको निर्माण गर्न लागिएको भवनको स्केच तस्विर ।

वडा नम्बर ३ मा रहेको यो संग्रहालय जान सार्वजनिक यातायात उपलब्ध भए पनि त्यति भरपर्दो भने छैन । निजी साधन प्रयोग गरेर सहजै पुग्न सकिन्छ ।
भोगटेनी पर्यटकीय क्षेत्र ऐतिहासिक रुपमा मगर समुदायको बसोवास क्षेत्रका रुपमा परिचित छ । ३ हजार २ सय ५० फिट देखि ३ हजार ३ सय फिटसम्मको उचाईमा रहेको यो स्थान रमणीय पर्यटकीय गन्तब्यका रुपमा छ । प्राकृतिक सुन्दरता, जैविक विविधता र मगर जातिको बसोवासको क्षेत्रको रुपमा रहेको हुँदा यस पर्यटकीय क्षेत्रले दृश्यावलोकन, सुन्दरता, जैविक विविधताको र सांस्कृतिक पर्यटनको दरिलो सम्भावना बोकेको छ ।
यहाँ बन्न लागेको मगर संग्रहालय यस क्षेत्रको पर्यटन विकासका लागि कोसे ढुङ्गाको रुपमा रहने निश्चित छ । विस्तृत परियोजना प्रस्ताव स्वीकृत भई प्रदेश १ सरकारबाट संग्रहालय निर्माणाधीन अवस्थामा छ । यस संग्रहालयले पूर्वी भेगमा भएका मगर समुदायको रीतिथिति, भेषभुसा, कला साहित्य, भाषा संस्कृति खानपानका जस्ता विषयहरुमा पर्यटकहरुलाई यथेस्ट जानकारी प्रदान गरी पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने देखिन्छ ।
मगर संग्रहालय रहने स्थानबाट उत्तरतर्फ महाभारत पर्वत शृंखलाको अबलोकन गर्न सकिन्छ भने दक्षिणतर्फ तराईको समतल भूभाग सहजै अवलोकन गर्न सकिन्छ । भोगटेनी पर्यटकीय क्षेत्रको सुरुवात मगर संग्रहालय बन्ने स्थानदेखि बाघमारासम्म करिब २ किलोमिटर सिधा सडक र त्यसको उत्तरदक्षिण योजनाबद्ध तरिकाले बस्तीहरुको बिकास गर्ने हो भने भोगटेनी पर्यटकीय क्षेत्र केराबारी गाउँपालिकाकै नमुना बजारको रुपमा स्थापना हुन सक्ने सम्भावना छ ।
पछिल्लो समय यहाँ बिस्तारै आन्तरिक पर्यटकहरुको चहलपहल बढ्न थालेको छ । पाहुनाहरुका लागि खान र बस्नका लागि केही रेस्टुरेन्ट खेलिएका छन् । प्रदेश १ सरकारको आर्थिक र प्राविधिक सहयोगमा बन्न लागेको मगर संग्रहालयले गर्दा यस स्थान अझ बढी आकर्षणमा पर्ने मानिएको छ ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.