भेडेटारमा पर्यटकको चहलपहल सुरु

August 4, 2021     Paryatan Yatra

राकेश कर्ण

विराटनगर  प्रदेश नं. १ का पर्यटकीय गन्तव्यहरुमा पछिल्लो समय आन्तरिक पर्यटकको चहलपहल पुनः बढ्न थालेको छ ।

कोरोना महामारीका कारण लामो समयसम्म सिथिल बनेका प्रदेशका गन्तव्यहरु पुर्नजिवित हुन थालेका हुन् । महामारी रोकथाम तथा नियन्त्रणको अधिकार प्राप्त जिल्ला प्रशासनहरुले पछिल्लो समय निषेधाज्ञाको प्रावधान खुकुलो बनाएसँगै पहाडी भेगका गन्तव्यहरुमा पर्यटकको आवागमन बढन थालेको हो । पर्यटन प्रवद्र्धन र विकासका लागि प्रदेश नं. १ मा पहिचान गरिएका २८ गन्तव्यमध्ये अधिकांश गन्तव्यहरुमा पछिल्लो महिना दिनयता पर्यटकहरुको चहलपहल उत्साहजनक ढङ्गले बढ्न थालेको पर्यटन व्यावसायीहरुले बताएका छन् ।

बाह्रैमास चिसो हुने धनकुटाको भेडेटार र नाम्जेमा पछिल्लो समय पर्यटकहरुको उपस्थिति बाक्लिँदै गएको धनकुटाको साँगुरीगढी–६ की होटल व्यावसायी कर्णकुमारी श्रेष्ठले बताईन् । उनीले भनिन, ‘अहिले बिशेषगरि विकेन्डमा पर्यटकको चाप बढ्न थालेको छ । हरेक शुक्रबार र शनिबार होटेलहरु भरिन्छन् ।’

बिशेषगरि तराईको उखरमाउलो गर्मी छल्न तथा क्षण भरमै परिवर्तन हुने मौसमको आनन्द लिन धनकुटाको भेडेटार, नाम्जे र थुम्की लगायतका गन्तव्यहरु पर्यटकको रोजाईमा पर्ने गरेका छन् । हाल हरेक हप्ताको शुक्रबार र शनिबार यहाँका गन्तव्यमा मोरङ, सुनसरी र झापाका पर्यटकहरुको बाक्लो उपस्थिति हुने गरेको छ । यस क्षेत्रमा सञ्चालित सानाठुला गरि करिब डेढसय बढी होटल तथा लजहरु समेत भरिने गरेका छन् । यद्यपि यहाँको चिसो मौसम र लोभलाग्दो दृश्यका कारण पर्यटकहरु रिफ्रेसमेन्टका लागि यहाँ आउने गरेको पर्यटन व्यावसायीहरुको बुझाई छ । ‘हामी ८ जनाको टोली यहाँ रिफ्रेशमेन्टका लागि आएका थियौं । यहाँको मौसमले आनन्दित बनायो,’ विराटनगरबाट नाम्जे पुुगेका चेतन निरौलाले भने, ‘होटेलहरु प्याक भएर दुई बेग्लाबेग्लै होटेलमा बस्यौं । तर खाने बस्ने व्यवस्था राम्रो भयो ।’

कोरोना महामारीका कारण संकटग्रस्त पर्यटन क्षेत्रलाई उकास्न पर्यटन व्यावसायी तथा हवाई सेवा प्रदायक कम्पनीहरुले पनि सस्तो र गुणस्तरीय पर्यटन प्याकेजहरु ल्याएर आन्तरिक पर्यटन प्रर्वद्धनको प्रयास गरिरहेका छन् । सामान्य अवस्थाको तुलनामा गन्तव्यहरुमा अहिले पर्यटकहरुको चाप र भीडभाड पनि कम भएकाले भ्रमण तथा अवलोकनका लागी अहिलेको समय उपयुक्त रहेको उनीहरुले बताएका छन् ।  साभार हाम्रोमत दैनिक

 

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.