पर्यटन क्षेत्रलाई खोपको प्राथमिकतामा राख्न माग

August 5, 2021     Paryatan Yatra

विराटनगर । प्रदेश १ सरकारले पर्यटन क्षेत्रमा काम गर्नेहरुलाई प्राथमिकताका साथ खोप लगाइदिने भएको छ । प्रदेश १ मा सक्रिय पर्यटन व्यवसायीका विभिन्न संस्थाले यस क्षेत्रमा अग्रपंक्तिमा रहेर काम गर्नेहरुलाई कोरोना विरुद्धको खोप लगाइदिन माग गर्दै आएका थिए ।


उनीहरुले केही दिनअघि प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, सामाजिक विकास मन्त्री उषाकला राई र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री जगदिशप्रसाद कुसियैतलाई ज्ञापनपत्र बुझाएका थिए । कोरोना महामारीमा सबैभन्दा प्रत्यक्ष असर पर्यटन व्यवसार र यसमा काम गर्ने कर्मचारी, मजदुरहरुलाई परेको भन्दै प्राथमिकताका आधारमा खोप उपलब्ध गराउन माग गरेका हुन् ।
कोभिड–१९ महामारीमा केही कमी आउनासाथ सरकारले निशेधाज्ञा खोल्ने र व्यवसाय सञ्चालन गर्न भन्ने वित्तिकै पर्यटन व्यवसाय पनि सञ्चालनमा आउन थालेकाले तत्काल खोपको व्यवस्था गर्न माग गरिएको हो ।
पर्यटन व्यवसायमा दैनिक प्रत्यक्ष रुपले अघिल्लो पंक्तिमा रही कर्मचारीहरुले काम गनु पर्ने भएकाले उनीहरुलाई खोप आवश्यक भएको व्यवसायीको भनाइ छ । ‘प्रदेशभरिका पर्यटन व्यवसायी र कर्मचारीहरुलाई चाँडोभन्दा चाँडो खोपको व्यवस्था गरी दिन हुन अनुरोध गर्दछौ,’ आन्तरिक पर्यटन पुनउत्थान समिति प्रदेश १ का संयोजक भविसकुमार श्रेष्ठले भने, ‘सबै क्षेत्रले खोप पाएको बेला अग्रपंक्तिमा रहेर काम गर्ने पर्यटन क्षेत्रलाई पनि सरकारले भुल्नु हुँदैन ।’

आन्तरिक पर्यटन पुनउत्थान समिति एवं नेपाल उद्योग वाणिज्य महासंघ पर्यटन समिति प्रदेश १ का संयोजक भविसकुमार श्रेष्ठ, क्षेत्रीय होटल संघ प्रदेश १ का अध्यक्ष राजन श्रेष्ठ, नेपाल एसोशिएसन अफ ट्राभल एण्ड टुर्स प्रदेश १ का अध्यक्ष उदय श्रेष्ठ, होम स्टे एसोशिएसन प्रदेश १ का अध्यक्ष विनोद गुरुङ, ट्राभल एसोशिएसन अफ झापाका अध्यक्ष नेत्र कार्कीलगायतको टोलीले ज्ञापनपत्र बुझाएको थियो ।
यसैगरी, धरान एसोशिएसन आफ् ट्राभल एण्ड टुरका कार्यबाहक अध्यक्ष खड्गबवहादुर बस्नेत (राजु) विराट एसोशिएसन ट्राभल एण्ड टुरका अध्यक्ष फडिन्द्र अधिकारी, प्याराग्लाइडिङ एसोशिएसन धरानका अध्यक्ष भुपाल राई, र्याफुटिङ एसोशिएसन धरानका अध्यक्ष मदन ढकाल र्याफुटिङ एसोशिएसन फिदिमका अध्यक्ष दिपेन्द्र तुम्वाहाम्फे र इष्ट्रीम धरान (खेल पर्यटन) का अध्यक्ष राम राईले संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका थिए ।
प्रदेश १ मा पर्यटनको क्षेत्रमा लगानी गर्ने र काम गर्नेहरुको संख्या झण्डै ९ हजार रहेको बताइएको छ । सरकारले अन्य क्षेत्रलाई प्राथमिकतामा राखे पनि पर्यटन क्षेत्र भने पर्न सकेको छैन । ज्ञापनपत्र वुझ्दै मुख्यमन्त्री राईले जिल्लाहरुमा प्रमुख जिल्ला अधिकारीहरुको समन्वयमा पर्यटन क्षेत्रमा काम गर्नेहरुलाई प्राथमिकतामा राखेर खोप लगाउनका लागि प्रदेश सरकारले समन्य गर्ने बताउनुभएको थियो ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.