ट्राभल्स एजेन्ट (बाटा) मा पुनः अधिकारी

August 6, 2021     Paryatan Yatra

विराटनगर । विराटनगर एसोशिएसन अफ ट्राभल्स एजेन्ट (बाटा) को अध्यक्षमा पुनः फडिन्द्र अधिकारी चयन हुनु भएको छ । बिहीबार सम्पन्न विषेश साधारण सभाले दोस्रो कार्यकालका लागि अधिकारीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
समितिको उपाध्यक्षमा नवीन कार्की, महासचिवमा भागवत नेपाल, सचिवमा निना राई र कोषाध्यक्ष भैरव रिजाल सर्वसम्मत चुनिएका छन् । यसैगरी समितिको सदस्यमा तुलसी नेपाल, नारायण पौडेल, हिमा गौतम, लक्ष्मण घिमिरे, नुतन राई र मन्दिप दाहाल चयन हुनु भएको छ । विषेश साधारण सभाको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवं नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का उपाध्यक्ष राजेन्द्र राउतले छरिएर रहेका पर्यटन व्यवसायीलाई एउटै सर्कलमा जोड्न सके प्रदेश १ को पर्यटन विकासमा सहयोग पुग्ने बताउनु भयो ।
‘पर्यटनका भिन्न भिन्न क्षेत्रमा लागेका व्यवसायीले एक आपसमा हातेमालो मात्र गर्न सके धेरै समस्यासँग सहज तरिकाले जुध्न सकिन्छ,’ राउतले भन्नुभयो, ‘यसले व्यवसायीलाई त फाइदा पुग्छ नै पर्यटन विकासमा समेत टेवा पुग्छ ।’
उहाँले प्रदेश १ मा पर्यटनको अपार सम्भावना रहेकाले तिनै तहको ध्यान त्यसतर्फ जानु पर्ने बताउनुभयो । आम मानिसहरुको सोचमा ट्राभल्स एजेन्ट भनेका टिकट काट्ने मात्र हुन भन्ने रहेको भन्दै उहाँले त्यसलाई वद्न व्यवसायीहरुले समय अनकूल परिर्वतन हुन सक्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै विराटनगर एसोशिएसन अफ ट्राभल्स एजेन्ट (बाटा) का पुर्वअध्यक्ष समेत रहनुभएका आन्तरिक पर्यटन पुनउत्थान समिति प्रदेश १ का संयोजक भविसकुमार श्रेष्ठले कोरोना महामारीमा सबैभन्दा प्रत्यक्ष असर पर्यटन व्यवसार र यसमा काम गर्ने कर्मचारी, मजदुरहरुलाई परेको बताउनुभयो ।
उहाँले यस क्षेत्रमा काम गर्ने मजदुरदेखि कर्मचारीसम्मलाई कोरोना विरुद्धको खोप प्राथमिकताका आधारमा लगाउन सके केही सुरक्षित हुने धारणा राख्नु भयो । ‘प्रदेशभरिका पर्यटन व्यवसायी र कर्मचारीहरुलाई चाँडोभन्दा चाँडो खोपको व्यवस्था गरिदिन हुन अनुरोध गर्दछौ,’ श्रेष्ठले भन्नुभयो, ‘सबै क्षेत्रले खोप पाएको बेला अग्रपंक्तिमा रहेर काम गर्ने पर्यटन क्षेत्रलाई पनि सरकारले भुल्नु हुँदैन ।’
क्षेत्रीय होटल संघ प्रदेश १ का अध्यक्ष राजन श्रेष्ठले कोरोनाले थला परेको पर्यटन व्यवसायलाई उठाउनेतर्फ सरकारको ध्यान जानुपर्ने बताउनुभयो । नेपाल एसोशिएसन अफ ट्राभल्स एजेन्ट प्रदेश १ का अध्यक्ष उदयकुमार श्रेष्ठले प्रदेश १ पर्यटनको उद्गम स्थल रहेपनि आफुहरुले बिक्री गर्न नसकेको भन्दै सबैले मिलेर यसलाई बेच्न सक्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा शुभकामना मन्तब्य दिदै श्री एयर लाइन्सका स्टेसन मेनेजर अर्जुन कार्कीले ट्राभल्स र एयरलाइन्सबीच नङग र मासुको जस्तै सम्बन्ध रहेको भन्दै पर्यटनको विकासका लागि सबैले हातेमालो गर्नु पर्ने बताउनुभयो । नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष लिलावल्लभ घिमिरेले पर्यटन क्षेत्रको प्रचार प्रसारमा जोड दिदै प्रदेश १ मा धेरै पर्यटकीय स्थलहरु रहेको बताउनुभयो ।
कार्यक्रम लामो समयसम्म ट्राभल्स सञ्चालन गरी प्रदेश १ को पर्यटन विकासका लागि विषेश योगदान गरेको भन्दै अग्रज पर्यटन व्यवसायी खेमराज नेपाल र इश्वरी पराजुलीलाई सम्मान गरिएको थियो ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.