प्रदेशभरि पर्यटन क्षेत्रमा कोरोना प्रभाव बुझ्दै टोली

August 18, 2021     Paryatan Yatra

विराटनगर । कोरोना संक्रमणको महामारीले पर्यटन क्षेत्रमा पारेको प्रभावबारे स्थलगत जानकारी लिन आन्तरिक पर्यटन पुनरउत्थान समिति प्रदेश १ का संयोजक भविषकुमार श्रेष्ठको नेतृत्वमा एक टोली प्रदेशका विभिन्न क्षेत्र पुगेको छ ।

टोलीले कोरोनाबाट भएको क्षति, पर्यटन क्षेत्रमा कार्यरत कामदार, कर्मचारी तथा लगानीकर्ताहरुलाई खोपको व्यवस्थाका साथै आगामी दिनमा कसरी अघि बढ्ने भन्नेबारेमा छलफल गरेको थियो । टोलीले मोरङ, सुनसरी र झापाका विभिन्न स्थानमा पहिलो चरणमा छलफल गरेको छ ।

समितिका संयोजक श्रेष्ठको नेतृत्वमा, सहसंयोजक बासुदेव बराल, सदस्य जीवन पराजुली, होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीका अध्यक्ष तेजबहादुर पुरी, झापाकी अध्यक्ष इन्दिरा श्रेष्ठ, पर्यटन व्यवसायी एलिना मगर, सुरज श्रेष्ठ, जयकुमार उपाध्याय, खेम ओली लगायत टोलीमा सहभागी थिए ।

‘लामो समयदेखि आफ्नै सहकर्मी साथीहरुसँग समेत सम्पर्क टुट्यो,’ संयोजक श्रेष्ठले भन्नुभयो, ‘त्यसैले स्थलगत रुपमा गएर आगामी दिनमा कसरी अघि बढ्न सकिन्छ भन्नेबारे छलफल गरेका हौं ।’

सरकारले सवैभन्दा बढी मार खेपेको पर्यटन क्षेत्रलाई बेवास्ता गरेको भन्दै श्रेष्ठले रोष प्रकट गर्नुभयो । ‘तीन तहका सरकार छन् तर कसैले हाम्रा कुरा सुनेको छैन,’ उहाँले भन्नुभयो, ‘महामारीको सबैभन्दा बढी मार हामीले नै खेप्नु प¥यो तर हाम्रा पिडा कसैले बुझिदिएनन् ।’

२०७७ चैतबाट महामारीले प्रभावित वनाएको पर्यटन व्यवसाय २०७८ को असोजदेखि बामे सर्न थालेको थियो । तर दोस्रो लहर सुरु भएपछि फेरि यो क्षेत्र ठप्प हुन पुग्यो ।

काठमाडौं उपत्यकापछिको पर्यटकीय गतिविधि हुने प्रदेश १ मा आन्तरिक पर्यटकहरुका साथै छिमेकी मुलुक भारतसहित तेस्रो मुलुकदेखि पर्यटकहरु समेत घुम्न आउने गर्थे । पछिल्लो समय पर्यटनलाई लक्षित गरी स्थापना गरिएको होटल तथा पार्कहरुको लगानी जोखिममा परेको छ ।

झापाको झिलझिलेमा आन्तरिक पर्यटकहरुको साथै छिमेकी ठूलो भारतका पर्यटकहरुलाई लक्षित गरी बनाइएको वाटर किण्डम पार्क एण्ड रिसोर्टका सञ्चालक राजकुमार संग्रौलाले सञ्चालनका लागि पार्क तयारी गरेर परीक्षणका लागि सञ्चालन गरे पनि पुनः कोरोना कहर सुरु भएपछि बन्द गर्नु परेको बताउनुभयो ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.